काठमाडौं। यो वर्ष ईतिहासकै सबै भन्दा बढी पर्वतारोहीहरुले सगरमाथाको शिखरलाई चुम्न सफल भएका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ ।
यो बसन्त सिजनमा सगरमाथा आरोहण गर्न जानेको संख्या धेरै हुँदा चुचुरोमै जाम भएको छ। एकैपटक धेरै आरोहीहरु जाँदा जाम भएको हो। यसरी जाम हुँदा मृत्यु हुनेको संख्या आठजना पुगेको छ। जसमा एकजना नेपाली पनि परेका छन्।
सरकारी सम्पर्क अधिकृतको रुपमा सगरमाथा पुगेका ज्ञानेन्द श्रेष्ठकाअनुसार आज एकजनाको मृत्यु भएको छ। उनकाअनुसार आजसहित सगरमाथामै मृत्यु हुनेको संख्या आठ पुगेको छ र यो संख्या अझै बढ्न सक्ने अनुमान छ ।
चीनले यो वर्ष सरसफाइ गर्ने भन्दै सगरमाथा आरोहण बन्द गरिदिएपछि नेपालबाट आरोहण गर्नेको सख्या बढेको हो। एकातिर संख्या बढेको र अर्कोतिर मौसम पनि प्रतिकुल भएका कारण योपटक एउटै सिजनमा धेरै ज्यान गएको अधिकारीहरुले बताएका छन्।
मौसमी अवस्था र आरोहण क्षमता अनुमान नगरी जथाभावी आरोहणको अनुमति दिने सरकारी व्यवस्थाका कारण पनि यस्तो भएको कतिपयको आरोप रहेको छ।