काठमाडौँ । सालक तथा मुसाको शरिरमा पाइने कोरोना भाइरसका कारणले ठूलो क्षति व्यहोरेको चीनले अझै पनि वन्यजन्तुको व्यापारलाई रोक लगाउन सकेको छैन ।
वन्यजन्तुबाट उत्पन्न भएको समस्याले विश्वव्यापी महामारीको रुप लिएपछि चीनले वन्यजन्तुको व्यापारमाथि प्रतिवन्ध लगाउने अपेक्षा विश्व जनमानसले राखेपनि चीनले यस्तो कदम अझै चाल्न सकेकोे छैन ।
यद्धपी कुकुर, बिरालो जस्ता घरपालुवा जनावरको मासु किनबेचमा प्रतिवन्ध लगाएको छ । उसले बजारमा निकै महंगो मूल्य पर्ने वन्यजन्तुको व्यापारलाई भने अझै खुला राखेको छ ।
परम्परागत रुपमा औषधीको रुपमा प्रयोग गरिने विश्वास गरिएका, गहना निर्माणमा लागि प्रयोग गरिने र महंगा सुटमा प्रयोग गरिने कच्चा पदार्थको रुपमा वन्यजन्तुको हड्डी, छाला तथा अन्य अंगको व्यापारमा चीनले अझै व्यापार गरिरहेको छ ।

चीन यस्तो मुलुक हो, जहाँ विकासका हिसावले हेर्दा संसारको उच्चतम विकास पनि भएको छ तर आध्यात्मिक विश्वासका कुरा गर्दा अझै पनि केही वन्यजन्तुको अंगको प्रयोगले रोगव्याध निको हुने प्रचलन कायमै छ । जबकी विज्ञान तथा वैज्ञानिक प्रयोगशालामा ती वन्यजन्तुको अंगको प्रयोगले कुनै रोग निको हुने कुरा अझै प्रमाणित हुन सकेको छैन । यद्धपी ती चिजको चीनमा निकै ठूलो बजार रहेको छ । त्यसैले सालक र चितुवा जस्ता केही वन्यजन्तुको व्यापारलाई चीनले अझै पनि प्रतिवन्ध लगाउन सकेको छैन ।
विश्वभरीमा सालकको व्यापार सबैभन्दा बढी हुने मुलुक पनि चीन हो । त्यसैले चीनमा सालक लोप हुने अवस्थामा पुगेको छ । कोरोना भाइरस सालकमा मजाले बाँच्न सके बिभिन्न अध्ययनले देखाइसकेको छ ।
बिबिसिका अनुसार सन् २०१७ मा चाइनिज एकेडेमी अफ इन्जिनियरिङले गरेको एक अनुसन्धान अनुसार चीनमा हुने झन्डै ७५ प्रतिशत वन्यजन्तुको पालन उनीहरूको छाला उत्पादनका लागि हुने गर्छ।
ूसन् २०१८ मा, छालाका लागि पाँच करोड जनावरहरूको चीनमा हत्या गरियो, एक्ट एशियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकारी पीएफ सूले भनेको कुरा बिबिसिले जनाएको छ ।सो संस्थाले चीनमा वर्षभरी भुत्ला र छाला उद्योगका लागि गरिने जङ्गली जनावरको उपयोगको विरोधमा अभियान चलाउँदै आएको छ।

बिबिसिले आफ्ना समाचारमा उल्लेख गरेको छ कि भुत्लाको उत्पादनका लागि मात्रै तीन चौथाइ वन्यजन्तुको व्यापार हुने हुँदा भुत्लाको व्यापारमा पूर्ण प्रतिबन्ध नलगाउने हो भने हामीले वन्यजन्तुको व्यापारिक प्रयोगको सतहलाई पनि मुस्किलले असर पार्न सक्छौँ, चीनको चिङ्ख्वा विश्वविद्यालयका सहप्राध्यापक डाक्टर जियाङ जीन सङ्गले भने।
बाघ, भालु र अजिङ्गरसँगै चीनले गोही, छेपारोजस्तो जीव र अन्य जङ्गली जनावरहरूको पनि हजारौं सङ्ख्यामा प्रजनन गराउँछ।
त्यसैगरी चीनले भालुको पित्तको पनि ठूलो व्यापार गर्ने गरेको छ । चीनले भालु पालन गर्ने र बेला बेला जिउँदो भालुको पित्त निकाल्ने र व्यापार गर्ने गरेको छ । चीनका प्रजनन केन्द्रहरूमा झन्डै ३०,००० वटा भालु रहेको संरक्षणविद्हरू बताउँछन्।