काठमाडौँ । सरकारले कुटनीतिक सुविधाको प्रयोग गर्दै स्वास्थ्य उपकरणमा कालोबजारी गर्ने अभियोगमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालको किर्जिकास्तानको मानार्थ अवैतनिक दुतको पद खारेज गरेको छ ।
कुटनीतिक विशेषाधिकार प्रयोग गरिएको झण्डावाल निलो प्लेटको गाडीमा ज्वरो नाप्ने ६७ थान थर्मल प्लान्ट गन बोकेर कुनै पार्टीको पुर्याउन जान लागेको बेला काठमाडौँको नक्सालस्थित बाटोमा अग्रवाल मंगलवार पक्राउ परेका थिए ।
कालोबजारी अग्रवालको पद खारेज गरिएको कुरा परराष्ट्र मन्त्रालयले किर्जिकास्तान सरकारलाई दिइसकेको बताइएको छ ।
संकटका बेला कालोबजारी गर्ने अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । नेपालमा सो ग्रुपले जगदम्बा स्टिल ब्राण्डमा रड, छड उत्पादन गर्दै आएको छ । उनले पैसा र शक्तिको आडमा विगतमा पनि यस्तै कालोबजारी गर्दै आएको बिभिन्न उजुरी परेपनि सरकारले मौन बसेको थियो ।
नेपालमा कवाडीहरुले संकलन गरेका पुराना तथा खिया लागेको फलामलाई पुर्नप्रयोग गरेर रड उत्पादन गर्ने गरेको उजुरी बिभिन्न पटक परेपनि उद्योग विभाग, मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसम्मको पहुँचका कारण उनी कारवाहीमा पर्न सकेका थिएनन् ।
प्रहरी हिरासतमा रहेका अग्रवालले प्रति थान ३,५००। पर्ने थर्मल प्लान्टलाई १५,०००। मा काठमाडौँका बिभिन्न मेडिकल तथा अस्पतालमा बिक्री गर्दै आएका थिए । एक अस्पतालले प्रहरीलाई खवर गरेपछि अग्रवाललाई पक्राउ गरिएको हो ।