प्रहरी र शिकारीबीच दोहोरो भिडन्त , तीन पक्राउ

विराटनगर । वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँँग वनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए ।

जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरीबलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए । त्यसपछि जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाएको हो ।

घटनामा कोही घाइते नभएको जनाइएको छ । प्रहरीले तीन जना शिकारीलाई पक्रन भने सफल भएको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन् ।

उनीहरुको साथबाट प्रहरीले दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छरा बरामद गरेको छ ।

शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिएका छन् । पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here