वन डढेलोको धुवाँले गोरखा जिल्ला ढाक्दा …

लक्ष्मी केशी

लकडाउन भएको झण्डै दुई हप्ता बितिसकेको थियो । राजधानी केन्द्रीत मिडियाहरुले काठमाडौँ उपत्यकाबाट छयाङ्ग हिमाल देखिन थालेका, उपत्यकाको वातावरण सफा भएको समाचारहरु प्रवाह गर्न थालेका थिए । काठमाडौँ बस्ने कतिपय साथीहरुले सामाजिक सञ्जालमा उपत्यकाको रमणीय दृश्य सहितका लोभ लाग्दा तस्विर पोष्ट गरेको देखिन्थे । हिजो अस्तिका दिनमा धुवाँ धुलैधुलो भएको काठमाडौँ कति चाँडै स्वच्छ भएछ जस्तो लाग्यो ।

जागिरका हिसाबले मेरो बास गोरखा सदरमुकाममा थियो । बिहान उठेर बाहिर आकाश हेर्दा तुवालोले ढकमक्क ढोकेको हुन्थ्यो । मध्य पुसमा तराईतिर झर्दा बिहानै बाक्लो शितलहरमा आँखा अगाडिको बस्तु पनि नदेखिए जस्तै चैतको अन्तिम साता पनि गोरखा जस्तो पहाडी क्षेत्रमा किन बाक्लो कुहिरो जस्तो धुवाँले ढाकेको होला भन्ने मनभित्र थुप्रै कौतुहलता खेलिरहन्थे ।

स्वास्थ्यकर्मीले अस्पताल हेरेका छन्, शान्ति सुरक्षाको जिम्मा प्रहरीले हेरेको छ भने हामीले पनि सिँगो वन क्षेत्र, वन्यजन्तु तथा जडिबुटीको रखबाली गरेका छौँ । अझ यो त खुला सम्पत्ती हो । जताबाट चोरे पनि हुने जताबाट झिके पनि हुने ।

गोरखा जिल्लाको सामुदायिक वनमा लागेको डढेलो निभाईदै

वन कार्यालयको जागिर भएर नै होला अरु सेवाका कर्मचारीको भन्दा मेरो दैनिकी अलि फरक थियो । लकडाउनका बेला वनजंगलभित्र हुने बदमासीको चियाचर्चाे गर्नु, सूचना संकलन गर्नु, आवश्यकता अनुसार गस्तीमा जानु, डढेलो लागेको खवर आए त्यतैतिर दगुर्दा नै दिन बित्थ्यो । यो अवधिमा खासै शान्त र आनन्दले बस्न पाइएन भन्दा पनि हुन्छ । दर्जनौँ पटक वनमा लागेको डढेलो निभाउन हिडियो । वारीपारी डाँडाकाँडातिर जब धुवाँको मुश्लो उड्थ्यो अनि टाढैबाट वन डढेलो लागेको दिशा पत्ता लगाउन सकिन्थ्यो । हरेक दिनजसो दर्जनौ ठाउँमा डढेलो लाग्यो, कतिपय ठाउँमा हामी पुग्न सक्यौँ, कतिपय ठाउँमा समुदायले निभाए । आगो निभाउन समुदाय र हामी उति नै सक्रिय भइ रह्यौँ ।

यो अवधिमा स्थानीय समुदायले चोरी शिकार, जडिबुटी दोहन तथा ओसार पसार र वन डढेलो लागेको प्रशस्त सूचना हामीलाई दिए । ती सूचनाका आधारमा डिभिजन वन कार्यालय, सव डिभिजन कार्यालयको टोली गएर कारवाही गर्ने काम समेत भयो । कहिले काँही एक्लो हुँदा लाग्थ्यो, हाम्रो समाजको चरित्र कस्तो होला ? शिकारी जंगल पस्न पाको हुँदैन, खबर हामी कहाँ आइपुगी हाल्थ्यो । त्यही समाजभित्र चोरी शिकार गर्ने, अवैध रुपमा जडिबुटी ओसारपसार गर्ने र शिकार गर्ने निहुँमा वनजंगलमा आगो लगाउने अनि त्यही समुदायभित्र बदमासीको सूचना दिने इमान भएका संरक्षणप्रेमी व्यक्ति पनि अटाउने । सायद हाम्रो समाजको यथार्थता यही होला । खैर, अब त्यता तिर धेरै नजाउँ ।

चैतको दोस्रो र तेस्रो साता गोरखा जिल्लामा वन डढेलो निकै लाग्यो । जब हामी सहित जिल्लास्थित सुरक्षा निकायका प्रहरी, शसस्त्र प्रहरी, नागरिक समाज अनि स्थानीय समुदायको सक्रियतामा डढेलो नियन्त्रण गर्ने काम हुँदै गयो भने अर्काेतिर प्रि मनसुन सक्रिय हुँदा पानी पर्न थाल्यो । पानी पर्न थालेपछि हामीले नियन्त्रण गर्न नसकेको डढेलो पनि निभ्यो । पानी पर्न थालेको एक ÷ दुई दिनपछि त गोरखा जिल्ला सदरमुकाम र आसपासको आकाश पुरै खुल्यो । झ्यालबाट चियाउँदा समेत पारी टाढाको थुम्को स्पष्ट देखिन थाल्यो । अनि दुई हप्ता अघि काठमाडौँ उपत्यका सफा, स्वच्छ भएको कसरी रहेछ कुराको सम्झना दिलायो । गोरखा जिल्लामा यो अवधिमा कति डढेलो लागेको रहेछ र धुवाँ कति उडेको रहेछ ? त्यो धुवाँले यहाँको वातावरण कति धुमिल पारेको रहेछ भन्ने प्रत्यक्ष अनुभव भयो ।

मैले जागिर खाने क्रममा अर्घाखाँची, बागलुङ जिल्लामा बस्दा बिभिन्न समुदायसँग काम गर्ने अवसर पाए । अर्घाखाँची, बागलुङ, कास्की हुँदै गोरखा आइपुग्दासम्म मलाई ज्ञान भएको कुरा के छ भने सरकारी नीति, कार्यनीति, रणनीति जे जस्तो भएपनि मूलतः समुदायको सामाजिक संस्कार, वर्ग, शिक्षा, चेतना र प्रवृतिले नै संरक्षणका कार्यलाई प्रभावित पार्दाे रहेछ । जब सम्म मानिसको मनोवृतिमा परिवर्तन हुन सक्दैन, चेनताको चश्मा ग्रहण गर्न सक्दैन तब सम्म सरकार एक्लैले मात्र जति गर्दा पनि धेरै प्रगति हासिल हुन सक्दैन । समाज ठिक छ, सरकारले थोरै लठ्ठीको सहारा दिँदा समेत निकै परिवर्तन हुन सक्छन् । समाज लरबराउने खालको छ भने उपलब्धी पनि लरखराउने खालले प्राप्त हुने गर्छ ।

मेरोे जागिरको पहिला पोष्टिङ अर्घाखाँची जिल्ला वन कार्यालयमा भयो । कच्चा उमेर अनि कच्चा अनुभव । यसो हेर्दा टाठाबाठाको हालिमुहाली देखिन्थ्यो । म अचम्म पर्ने गर्थे । जो सँग सबै कुरा छ उसै वर्गले जुन हाकिम, जुन पार्टीका सरकार तथा जुन शासन आएपनि आफ्नो फाइदा लिएकै हुन्थे । जो सोझा छन् उनीहरु कार्यालयसम्म टेक्ने हिम्मत गर्दैनथे ।

सन्दर्भ लकडाउन र गोरखा जिल्लाको संरक्षण अभियानको हो । पहाडी भूभागमा खाएको जागिरे जीवन, मनले पुग्न सक्छु भने पनि ज्यानले त्यो ठाउँ भेट्न सक्दैन । हेर्दा पो ऊ यतै पारी देखिन्छ, ओरालो झरेर खोला पुग्न चार घण्टा अनि उकालीको यात्रामा त कति हो कति । चोरी शिकारी हुन थाल्यो, डढेलो लाग्यो, जडिबुटी बोकेर लिदै छन् भन्ने खबर आएर मात्र के गर्नु ? हामी पुगुन्जेलसम्म शिकारी कहाँ पुगिसकेको हुन्छ, चोर चारकुना नाघि सकेको हुन्छ । यद्धपी धेरै पछि गोरखा जिल्लामा सशस्त्र वन रक्षकको टोली आएको छ । जसले गर्दा गस्तीमा जाँदा वा कारवाहीका प्रक्रियामा जाँदा अलि हौसला जाग्न थालेको छ । आफुसँग हतियार सहितको टोली हुँदाको साहस नै फरक हुँदो रहेछ । शिकारीसँग जम्काभेट भइहाल्यो भने पनि गोली त हान्दैन होला भन्ने आँट आउदो रहेछ ।

आफुले हुर्काएको जंगल काट्दा, भाँच्दा, जलाउँदा समुदायका मानिसलाई सह्य हुँदैन । त्यसैले त गोरखा जिल्लामा वन कर्मचारीको आँखा पुग्न सकेको ठाउँको वनजंगल पनि बचेको छ । वन्यजन्तु बिचरण गर्न सकेका छन् ।

यहाँका समुदायमा वनजंगल, वन्यजन्तु संरक्षण प्रतिको बाक्लो तिष्णा छ । संरक्षण प्रतिको मोह जागृत भइरहेको पाइन्छ । आफैले हुर्काएका बोटमा आगो लागेको सहेर बस्न सक्न क्षमता यहाँका समुदायमा छैन । हातमा धुर्सुका स्याउला समातेरै भएपनि कम्मर कस्ने सक्ने यहाँका समुदायको इच्छाशक्तिलाई कम आँकलन गर्न सकिदैन । त्यसैले त डढेलो निभाउन क्रममा कतिपय सामुदायिक वनका सदस्य अंगभंग भएका छन्, कतिपयले ज्यान समेत गुमाएका छन् । समुदायका सदस्यहरुको संरक्षण प्रतिको दृढ इच्छा देखेर पनि हामी वन कर्मचारीलाई सक्रिय हुन अभिप्रेरित गरेको छ ।

समुदायभित्रका केही मानिसहरुको जीवन नै वनजंगलसँग गाँसिएको छ । स्याउला सोत्तर, गाईभैँसी, पानी पँधेरो अनि भलाकुसारी गर्ने थलो नै वनजंगल हुने समुदायले वनजंगलको संरक्षणमा कुनै कैफियत गर्न सक्दैनन् । एक दिन जंगलमा डयाङ्ग बन्दुक पड्काएर शिकार मार्ने सपना देख्न सक्दैनन् । आफुले हुर्काएको जंगल काट्दा, भाँच्दा, जलाउँदा समुदायका मानिसलाई सह्य हुँदैन । त्यसैले त गोरखा जिल्लामा वन कर्मचारीको आँखा पुग्न सकेको ठाउँको वनजंगल पनि बचेको छ । वन्यजन्तु बिचरण गर्न सकेका छन् ।

पहाडी जिल्लामा काम गर्न कठिन नै छ, तराईको जिल्लाको तुलना गर्दा । यस्तो विषम परिस्थितिमा काम गर्नलाई ‘मोटिभेसन’ को पाटो प्रमुख कुरा हो । एकातिर कोरोनाको त्रास छ । बदमासी गर्नेलाई पक्रन पर्दा, समुदायमा गएर खानतलासी गर्दा कतिबेला के हुने भन्ने अन्दाज गर्न सकिने अवस्था छैन । हिजो मात्रै वन तथा भूसंरक्षण विभागबाट स्वास्थ्य सुरक्षाका केही सामान प्राप्त भएका छन् । के यो नै पर्याप्त हो त ? अहिले फिल्डमा काम गर्ने कर्मचारीका मनमा हरेक पल्ट खेल्ने अनुत्तरित प्रश्न यही भइराखेको छ ।

डढेलो निभाउने क्रममा सहायक वन अधिकृत केशी 

दिनरात नभनि खट्ने वन कर्मचारीलाई पनि सरकारले त्यही ढंगले हेर्न सकेको भए अझ बढी प्रभावकारी काम हुन सक्थ्यो । स्वास्थ्यकर्मीले अस्पताल हेरेका छन्, शान्ति सुरक्षाको जिम्मा प्रहरीले हेरेको छ भने हामीले पनि सिँगो वन क्षेत्र, वन्यजन्तु तथा जडिबुटीको रखबाली गरेका छौँ । अझ यो त खुला सम्पत्ती हो । जताबाट चोरे पनि हुने जताबाट झिके पनि हुने । झन चुनौतीका चाङलाई चिर्न हामी सक्रिय भएर लागि रहेका छौँ ।

कुनै बदमासले एक काँटी सलाई कोरेर फाल्दा सिँगो वनजंगल अनि वनजंगलभित्रको जैविक विविधता कति नोक्सानी हुन्छ भन्ने कुराको अनुमान गर्न सकिदैन । तैपनि हाम्रो प्रयास एक काँटी सलाई पनि वनजंगलमा नजलोस् भन्नका लागि भइरहेको छ । थकान, मनोरञ्जन, पारिवारिक भेटघाट, चाडबाड, सञ्चो, बिसञ्चो यी सबै चिजलाई थाती राखेर लकडाउनका समयमा अप्रिय घटना नहोस् भन्ने कामना सहित जय संरक्षण ।

(केशी गोरखा जिल्लाको सहायक वन अधिकृत हुन ।)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here