काठमाडौँ । विश्व सुन्दरी, नेपाल सुन्दरी भएर शेर्पा सुन्दरी, थारु सुन्दरी, मगर सुन्दरी, कलेज सुन्दरी, स्टाफ नर्स सुन्दरी लगायतको प्रतियोगिता भएको सम्म सुनिएको थियो । अनौठो त के भने नेपालमा गाई भैसीबीच पनि सुन्दरी प्रतियोगिता भएको छ ।
सुनसरी जिल्लाको कोशी गाउँपालिकामा गाई र भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । कोशी कटान क्षेत्रमा सम्पन्न भएको भैसी र गाई सुन्दरी प्रतियोगितामा कोशी गाउँपालिका ३ पश्चिम कुशाहाका विन्देशवर इशरको भैसी प्रथम भएर २५ हजार रुपियाँ नगद प्राप्त गरेको छ । आयोजकले बिजेतलाई भ्रमण, गाडी, मोटरसाइकिल लगायतका अन्य पुरस्कार भने राखेका छैनन् । चोखो नगद मात्र वितरण गरिएको छ । बीपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार भैँसी सुन्दरी प्रतियोगिता र शनिबार गाई सुन्दरी प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा बालेश्वर परसैला यादवको भैँसी दोस्रो भएकाले १५ हजार नगर र तेस्रोलाई १० हजार नगद पुरस्कार दिइएको छ ।
प्रतियोगितामा पहिलो भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले केही दिनभित्रै अर्काे भैँसी नै पुरस्कार दिने घोषणा गर्नुभएको छ । सुन्दरी गाई भैसी प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका दुई सयभन्दा बढी गाई भैँसीलाई सहभागिता गराइएको थियो ।