लोकभजन संरक्षणमा जुटे रामपुरवासी

पाल्पा । हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिन्छ । यसको पौराणिक महत्वलाई जोगाइराख्न पाल्पा रामपुरका स्थानीयवासी लोकभजन संरक्षणमा जुटेका छन् ।

रामपुर नगरपालिका क्षेत्रमा छरिएर रहेका लोकभजनका कलाकार र रामपुरवासी एकजुट भएर यसको संरक्षणमा लागेका हुन् । रामपुर भजनकीर्तन मण्डली संस्था गठन गरेर संस्थागतरूपमै रामपुरवासीले लोकभजनलाई संरक्षण गर्नतर्फ अग्रसर भएका छन् । चार वर्षअगाडि संस्था गठन गरेर अहिले निरन्तररूपमा हिन्दू समुदायको मौलिक कलासंस्कृति लोकभजनको महत्व टिकाइराख्न संस्थागतरूपमा संरक्षणमा लागेको रामपुर भजनकीर्तनमण्डली समूहका अध्यक्ष टीकाराम ढकालले बताउनुभयो ।

“लोकभजनमा युवापुस्ताले खासै चासो दिँदैनन्, छरिएर आ–आफ्नै पाराले गाउँदा भजनको महिमा खलबलिन पुगेपछि यसको पौराणिक महत्व जोगाइराख्न संस्थागतरूपमा रामपुरवासी एकताबद्ध भएर लागेका छौँ,” ढकालले भन्नुभयो ।

हिन्दू समुदायभित्र पनि विशेषगरी ब्राह्मण समुदायमा लोकभजनकीर्तन बढी प्रचलित छ । पौराणिक समयदेखि नै हिन्दू समुदायका मानिसले लोकभजनलाई सर्वप्रिय मान्दै आएका छन् । कालीगण्डकी बेँसीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिलाई उजागर, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोकभजन संस्कृतिलाई अवलम्बन गराउन संस्थागतरूपमा जुुुुटेको सल्लाहकार लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।

विभिन्न मठमन्दिर, देवालयमा दैनिक भजनकीर्तन गाउने चलन छ । यस्तै गाउँघरमा हुने पूजाआजा, विभिन्न धार्मिक तीर्थस्थल लगायतका ठाउँठाउँमा अखण्डरूपमा दैनिक भगवान्कै नाम जप्दै भजनकीर्तन गाउने र नाच्ने गरिन्छ । यसरी भगवान्को नाम जप्दै भजनको तालमा नाच्ने र गाउने गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । गाउँघरमा हुने पूजाआजामा अनिवार्यजसो भजनकीर्तन गर्ने चलन परम्परादेखि चलिआएको हो ।

भजनकीर्तनले सबै उमेर समूहका मानिसलाई छुने गर्दछ । मानिसको मनलाई एकाग्र पार्ने र मनलाई आनन्दित तुल्याउने गरेको रामपुरका समाजसेवी आचार्य तुल्सीराम पोखरेल बताउनुहुन्छ । “भगवान्का नाममा गाइने भजनकीर्तनले मानिसलाई सद्गुणी र विवेकशील बनाउँदै आध्यात्मिकतर्फ डो¥याइरहेको हुन्छ भने अर्कोतर्फ समाजमा हुने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्दै जानेछ,” उहाँले भन्नुभयो ।

धार्मिक क्षेत्रमा मानिस तल्लीन हुन थालेपछि अवगुणी व्यक्ति पनि गुणवान् बन्न पुग्ने गरेको बूढापाका बताउँछन् । मानिस जीवनमा सुखी हुनका लागि विभिन्न वृद्धाश्रम, मठमन्दिर, देवालयमा गएर भजन गाउँदै मनलाई प्रफुल्लित पारिरहेका हुन्छन् । केहीले त जीवनलाई जानेबुझेदेखि नै यसै क्षेत्रमा समर्पण गरिरहेका छन् । भगवान्को तपस्या गर्दै भजनकीर्तनमा रमाउँदै जीवन व्यतित गर्न पाइने भएपछि पारिवारिक सांसारिक बन्धनदेखि ढाटा रहेको पनि पाइन्छ । यस्ता परम्परागत मौलिक संस्कृतिले समुदायको पहिचान बोकेको हुन्छ । हिन्दू धर्मको धार्मिक आस्थाका रूपमा रहेको लोकभजनकीर्तनले मानिसका पीडा, वेदना र दुःख भुलाउँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here