लामो समयदेखि संरक्षित क्षेत्र र सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन सम्बन्धी बिभिन्न आयोजनामा काम गर्दै आउनुभएका टोपबहादुर खत्रीले तत्कालिन वन तथा भू संरक्षण मन्त्रालय अन्तर्गतको सिमसार आयोजनाको राष्ट्रिय आयोजना प्रवन्धकको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले इम्जा तालको जोखिम न्यूनीकरण गर्न लागि सञ्चालित आयोजनामा पनि काम गर्नुभयो । कोशी टप्पुदेखि घोडाघोडी ताल क्षेत्र र इम्जा तालसम्मको काम गरेको अनुभव सँगाल्नुभएका सिमसार विज्ञ खत्रीसँग सिमसारको बुद्धिमतापूर्ण उपयोगका बारेमा नेपाल कथाले खोतेल्ने प्रयास गरेको छ । के हो यो बुद्धिमतापूर्ण उपयोग भनेको ? किन त्यो जरुरी छ ? के उपयोग मात्र गर्दा हुँदैन र ? अहिलेको विकास गर्ने प्रवृति वातावरणमैत्री छ वा छैन ? पछिल्लो विकासका गतिले सिमसारको संरक्षणमा सघाउ पुगेको छ वा छैन ? लगायतका विषयमा उहाँसँगको छोटो सम्बाद यहाँ प्रस्तुत गरेका छौँ । सं
यस वर्षको नारा जलवायु परिवर्तन र सिमसार भन्ने रहेको छ । नारा चयन कसरी भएको जस्तो लाग्छ ?
खासगरेर जलवायु परिवर्तनको असर मूख्यतया पानीमा परेको हुन्छ । जलवायु परिवर्तन तापक्रमसँग सम्बन्धित छ । तापक्रमले विशेष गरेर पानीलाई नै प्रभावित पार्ने हो । सिमसारमा पहिलो प्रभाव पर्ने भएकाले जलवायु परिवर्तन र सिमसारको सम्बन्ध नजिकको रहेको हुन्छ । समग्रमा पारिस्थितिकीय प्रणालीमा सिमसारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानव अस्तित्व सिमसारसँग जोडिएको हुँदा सिमसार प्रभावित हुनु भनेको मानव अस्तित्व पनि खतरामा पर्नु हो । हामीले हालै अष्ट्रेलियामा भएका घटना हेर्ने हो भने तापक्रमका कारणले ठूलो संख्यामा जनावरलाई क्षति पुर्याएको छ । जीवन र जगतको लागि पानी भन्दा महत्वपूर्ण कुरो केही हुँदैन । त्यसैले जलवायु परिवर्तनले पानी नै प्रभावित हुने भएकाले यो वर्षको सिमसार दिवसका नारा एकदमै सान्दर्भिक छ ।
त्यसो हो भने एक दिन मात्र नारा लेखिएको व्यानर देखाएर मात्र पुग्छ त ? कि वर्षभरी त्यही अनुरुप हाम्रा व्यवहार पनि परिवर्तन गर्न सक्नुपर्छ ?
हेर्नुहोस् । हामीले पितृ पूजा किन एक दिन मात्र गछौँ ? कुल पूजा एक दिन मात्र किन गर्छाै ? हामीले पितृलाई सम्मान त सधै गरिरहेका हुन्छौँ । आफ्नो कुलदेवतालाई बिहान साँझ सम्झिरहकै हुन्छौँ नि । तर पनि एक दिन विशेष दिन मानेर पुज्ने गर्छौँ । त्यही रुपमा वर्षको कुनै दिनलाई दिवसका रुपमा मनाउने प्रचलन आएको हुनुपर्छ । समय एक दिन भएपनि त्यो एक दिन निकै महत्वपूर्ण हुन्छ । यो एकदिन पनि निकै महत्व राख्ने गरेको हुन्छ । एक दिनमा गरिएका कामले विगतमा हामीले गरेका क्रियाकलापहरुको विश्लेषण गर्ने, प्राप्त गरेका उपलब्धी वा प्राप्त गर्न नसकेका कारण बारे खोतल्ने प्रयास गर्ने काम गरेका हुन्छौँ । त्यसैले एक दिन मनाएको दिवस र नाराले केही हुन्न भन्ने होइन । यो त विगतको कामको विश्लेषण गर्ने, मन्थन गर्ने र आगामी दिनका लागि केही नयाँ कुरा गर्नका लागि प्रण गर्ने दिनका रुपमा लिनुपर्छ ।
सिमसारको बुद्धिमतापूर्ण सदुपयोग गर्नुपर्छ भन्ने शब्दावली जहाँ पनि प्रयोग भएको पाइन्छ । किन सदुपयोग मात्र गर्दा नहुने ? बुद्धिमतापूर्ण तरिकाले नै सदुपयोग किन गर्नु पर्यो ?
रामसारको तीन वटा पिलर मध्यमा सबैभन्दा महत्वपूर्ण पिलरका रुपमा हामीले बुद्धिमतापूर्ण सदुपयोग भन्ने कुरालाई बुझ्नुपर्छ । अहिले नेपालमा डोजर कल्चरको विकास भइरहेको छ । यसरी जभाभावी रुपमा विकास गरिँदा त्यसले हाम्रो विकास र वातावरणको सम्बन्धलाई कहाँ पुर्याइरहेको छ ? यसले हाम्रो विकासको गति र भोलीको सन्ततीले भोग्नु पर्ने सास्तीका बारेमा कसैले पनि सोचेका छैनन् । जता मन लाग्यो त्यतै डोजर चलाउँदा आज बाटो त बन्ला तर अर्कोतिर हेर्ने हो भने पानीको मुहान धमाधम सुक्दै गइरहेका छन् । पुस्तौदेखि पहिरो नदेखिएको ठाउँमा पहिरो बग्न सुरु भएको छ । बुद्धिमता भनेको कालान्तरमा पानीको स्रोतमा असर नपर्ने गरेर त्यसको सदुपयोग गर्ने हो । पानीको मात्रा र गुणमा असर नपर्ने गरी सदुपयोग गर्ने भनेको नै बुद्धिमतापूर्ण सदुपयोग हो । त्यसैले यो शब्दावलीको प्रयोग मात्र होइन व्यवहारमा उतार्नु जरुरी छ ।
यहाँले विकासको कुरा उठाउनु भयो, गाउँ गाउँमा डोजर आतंक छ । अहिलेको विकासले वातावरणीय सन्तुलनको पक्षलाई कति समेटेको जस्तो लाग्छ ?
विकास चाहिन्छ । विकासका चाहाना राख्नु स्वभाविकै हो । तर विकास दिगो बनाउन सक्नु नै महत्वपूर्ण कुरो हो । तर यहाँले भने जस्तै गाउँ गाउँमा जुन जथाभावी रुपमा डोजरहरु डाँडाकाँडा खन्ने काम भइरहेको छ । यसले विकास होइन विनाश निम्त्याइ रहेको छ । केही समयका लागि विकास भए जस्तो त होला तर विकासको प्रतिफल खान नपाउँदै विनाश सुरु हुन्छ । तर सबै ठाउँमा नराम्रो काम भएको छ भन्ने पनि मिल्दैन । बढीजसो ठाउँमा बिना योजना, विना अध्ययन विकासका नाउँमा जथाभावी कामहरु भइरहेका छन् । विकास र वातावरण परिपूरकका रुपमा हेरेर विकास गरिनुपर्छ । बाटाघाटा नबनाउने भनेको होइन, बाटो चाहिन्छ तर बाटो बनाउने ठाउँमा भएको महत्वपूर्ण प्राकृतिक सम्पदाको पनि ख्याल गरेर बाटोको योजना अगाडि बढाउन सकिन्छ नि ? अलि सम्वेदनशिल तरिकाले विकास गरेनौँ भने दिगो र सन्तुलित विकास हुन सक्दैन । त्यता तर्फ बढी ध्यान जरुरी छ ।
भन्नुको अर्थ हामीले भविष्यको जोखिम आँकलन नगरेरै काम गरिरहेका छौँ हैन त ?
हो नि । जस्तो काठमाडौँ सतहमुनीका पानीको लेबल ६० मिटर तल गइसकेको छ । यही गतिमा पानीको दोहन मात्र हुने हो र भूमिगत पानी रिचार्ज नहुने हो भने त भूमिगत पानीको तह अझै घट्दै जाने निश्चित छ । त्यसैले उपत्यकामा पानीको कति निकाल्ने वा पानीको रिचार्ज घटि रहेको बेलामा कसरी पानीको रिचार्ज बढाउने विधि अपन्याउन भन्ने कुरामा योजना अहिले नबनाउने हो भने भविष्यमा उपत्यकामा भयाभह स्थिति नआउला भन्न सकिन्न । जति पानी हामीले माथि निकालि रहेका छौँ । त्यो भन्दा बढी पानी तल पठाउने विधि पनि हामीले अवलम्वन गर्नु सक्नु पर्यो नि त । अनि पो प्राकृतिक प्रणालीलाई असर पर्दैन । ताकी भविष्यमा मानव जातिलाई पनि असर नपर्न सक्छ । अहिले नै भूउपयोग नीतिलाई समय सापेक्ष परिवर्तन गरेर सोही अनुरुप काम गर्न सक्नुपर्छ । रिचार्ज जोन बढाउन सक्नुपर्छ ।