अख्तियार पस्यो खोलामा

काभ्रेपलाञ्चोक । सुनकोशी बगरको बालुवा उत्खनन टेण्डरमा तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं लामाले अनियमितता गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले छानबिन शुरु गरेको छ ।

अध्यक्ष लामाविरुद्ध परेको उजुरीका आधारमा छानबिन शुरु गरिएको आयोगको हेटौँडास्थित कार्यालयका सूचना अधिकारी देवकुमार राईले बताउनुभयो । उजुरीका आधारमा कार्यालयले यही चैत ५ गते अध्यक्ष लामालाई पत्राचार गरी सुनकोशी नदी बगरमा बालुवा उत्खनन टेण्डरका सम्पूर्ण कागजात मागिएकामा यही चैत ७ गते नै बुझाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक चरणमा मागिएका कागजात कार्यालयमा आइपुगेका छन्, उजुरीउपर छानबिन शुरु गरेका छौँ ।”

अध्यक्ष लामाविरुद्ध वडा नं २ चुखाबेंसीका डेनी लामाले गत फागुन २७ गते वडा नं २ स्थित चुखाबेंसी र ३ नं वडाको च्यूरीआँप सुनकोशी नदीमा बालुवा उत्खनन टेण्डरमा अनियमितता गरेको जनाउँदै आयोगमा उजुरी दिनुभएको थियो । स्थानीय बासिन्दाले पटक पटक बस्ती, विद्यालय र स्वास्थ्यचौकी जोखिममा पर्ने अवगत गराएको अवस्थामा नदी किनारमा बालुवा उत्खनन टेण्डर आह्वान गरेको र रातको समयमा गाउँपालिका कार्यालयमै बसेर टेण्डरभन्दा करीब ६० प्रतिशत कम रकम सम्झौता गरेको जनाउँदै आयोगमा उजुरी दर्ता गरिएको लामाले बताउनुभयो ।

उजुरीमा गाउँपालिकाले बालुवा उत्खननका लागि वडा नं २ बगरमा रु एक करोड ५० लाख ८६ हजार १०० र वडा नं ३ बगरमा रु एक करोड ५० लाखमा टेण्डर आह्वान गरिएकामा दुवैको ८३ लाखमा दुवाकोट कन्सट्रक्सन एवं शाली नदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामासँग सम्झौता गरी उत्खनन प्रक्रिया अघि बढाउन लगाइएको जनाइएको छ । उजुरीमा अध्यक्ष लामाले बालुवा उत्खनन परियोजनामा २० प्रतिशत शेयरसमेत गाउँपालिकाले लिएको उल्लेख छ ।

गाउँपालिका अध्यक्ष लामाले टेण्डरभन्दा केही प्रतिशत रकम घटाएर ठेकेदार कम्पनीसँग सम्झौता गरेको स्वीकार्दै विवाद भएपछि बालुवा उत्खनन कार्य बन्द गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौता रकम टेण्डर आह्वानभन्दा केही प्रतिशत कमी हो, हाम्रो भूलवश त्यस्तो भएको हुनुपर्छ ।” गाउँपालिका अध्यक्ष र ठेकेकदार कम्पनीका लामा नातामा मामाभाञ्जा हुन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here