काठमाडौँ । विश्व वन्यजन्तु कोष नेपालको प्रमुखमा हाल डा. घनश्याम गुरुङ छन् । उनको जन्म उपल्लो मुस्ताङको ढि गाउँमा भएको हो । हरेक मानिसका आफ्ना जीवनका कथाव्यथा हुन्छन् । कतिपय मानिस सुख्खमा हुर्केका हुन्छन् त कतिपय दुख्खमा हुर्केका हुन्छन् । जीवनका आरोह अवरोहमा दुख्ख र सुख्ख अभिन्न पाटा भएकाले हरेक व्यक्तिको जीवनकालमा कहि न कहि दुख्ख र सुख्खले सामिप्यता देखाएकै हुन्छ । उपल्लो मुस्ताङमा जन्मिएर अनेकौँ हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेका डा. गुरुङसँग नेपालकथाले जीवनलाई फर्केर हेर्दाको आत्ममन्थन सुरु गरेको छ । १५ औँ शताब्दीबाट राजकाज चलाएका मुस्ताङी राजपरिवारसँग उनको पारिवारिक सम्बन्ध छ । उनले त्यही राजपरिवारको सेरोफेरोमा बाजेसँग बसेर शिक्षादिक्षा लिए, अनि पोखरामा आएर जिम्बु पनि बेचे । मुस्ताङी राजाको दरबारको नजिक भएर शिक्षादिक्षा र हिउँदको तुसारोमा गाउँगाउँमा गएर जिम्बु बेच्नुपर्ने फरक दृश्य कसरी आए होलान् ? यस्तो किन भयो होला गुरुङको जीवनमा ? उनको जीवनका हरेक घटनालाई क्रमागत रुपमा आम पाठकसमक्ष प्रस्तुत गरिनेछ । यो पहिलो अंकमा उनको बाल्यकाल, पढाई लगायतका विषयलाई उनकै शब्दमा प्रस्तुत गरेका छौँ ।
म उपल्लो मुस्ताङको मान्छे हुँ । उपल्लो मुस्ताङको ढि भन्ने गाउँ सबैभन्दा सानो बस्ती होे । म जन्मेको ढि गाउँमा जम्मा १२ घरधुरी मात्र बस्छन् । मेरो मावली लोमान्थाङ हो, जुन मुस्ताङी राजाको गाउँ हो । त्यो गाउँ निकै सुन्दर पनि छ । मेरा बुबा घर ज्वाई बस्न जानु भयो । त्यतिबेला हाम्रो गाउँठाउँमा घर ज्वाईँ बस्ने चलन थियो । कतिपय ठाउँमा अझै पनि होला । उपल्लो मुस्ताङको हामी निकै धनी पनि होइन, गरिव पनि होइन, सामान्य खेतीपाती, भेडाबाख्रा, च्याङ्ग्रा, याक भएको परिवार हो । वर्षभरी राम्रोरी खान, लाउन पुग्थ्यो । खान लाउन पुग्ने परिवारलाई त्यतिबेला राम्रै मान्थे गाउँघरमा । हामी त हिमाल छेउमा बस्ने मान्छे, दुख्ख त दुख्खै थियो नि । त्यहि खान,लाउनकै लागि कति दुख्ख गर्नुपथ्र्याे ।

मेरो बाजे नेपालको पहिलो नेपाली तिब्बती दोभाषे हुनुहुन्थ्यो । बाजेले पाल्पाली राजाले खोलेको स्कुलमा पढ्नु भएको हो । बाजेलाई तिब्बती भाषा पनि आउने अनि नेपाली त प्रष्ट आउने । बाजेको कारणले मैले नेपाली भाषा घरमा सिक्ने अवसर पाएको हुँ । पढ्नुपर्छ र पढाउनु पर्छ भन्ने चेतना बुबा भन्दा पनि बाजेमा बढी थियो । अनि बाजेले मलाई पाँच वर्षको उमेरमा गुम्बामा बौद्ध धर्मको बारेमा पढ्न पठाउनुभयो । मेरो नामाकरण पनि गुम्बामै भएको हो । हामी त्यतिबेला बर्खाका समयमा भेडाबाख्रा चराउने अनि हिउँद नलाग्दै गुम्बामा पढ्न जान्थ्यौँ । तीन महिना गुम्बामा नै बस्नुपथ्र्याे । गुम्बामा सम्बोटा लिपि सिकाउन्थ्यो । त्यो लिपि भनेको भोटे भाषा वा तिब्बती भाषाको हो ।
मेरो बुबाको दुईटा श्रीमति थिए । जेठो मेरो आमा । मेरो आमाबाट तीन भाई, एक बैनी । अर्काे आमाबाट एक भाई छ । म घरको सबैभन्दा जेठो भएकाले जेठोले बिहे गरेर घर गृहस्थी चलाउनु पर्ने हाम्रो चलन हो । त्यसैले मलाई गुम्बामा लामा बनाउन लागि नभई शिक्षा दिक्षाका लागि बाजे, बुबाले गुम्बामा पढाउन लगाउनु भएको थियो । हाम्रो चलनमा जेठोले बिहे गर्ने, माहिलोले लामा बन्ने र गुम्बामै बस्ने हो । अरु भाईहरुले गृहस्थी जीवन चलाउन पाइन्थ्यो ।
मैले पाँच वर्ष देखि १० वर्षको उमेरसम्म बर्खामा गोठालो लागे अनि हिउँदमा गुम्बामा पढे । सम्बोटा लिपी सिके, मन्त्रहरु पाठ गरे । धेरै मन्त्रहरु सिकेको थिए, बच्चाकालमा त । मैले गोठाला जाँदा दुध दोए, पाठा स्याहारे । खुब रमाइलो हुन्थ्यो नि हो, भेडीगोठ अनि वनजंगलको गोठाले जीवन । फेरी मलाई अरु गोठालाहरुले निकै माया पनि गर्थे । त्यतिबेला सबैको प्यारो केटो थिए म ।

११ वर्षमा स्कुल
मेरो बाजे मुस्ताङी राजाको दरबारमा बस्नुहुन्थ्यो । बाजे राजाको भारदारी जस्तै हुनुहुन्थ्यो । बाजेले मलाई ११ वर्षको उमेरमा लोमान्थाङ ल्याउनुभयो । ढि गाउँबाट लोमान्थाङ टाढै हो । मेरो बाजेको तीन वटा भाई । मेरो बाजे माइलो र कान्छो बाजे सहित दुइटै बाजे मुस्ताङी राजाको दरबारमा बस्नुहुन्थ्यो । मेरो कान्छो बाजेले मुस्ताङी राजा झिङ्मे परवल बिष्टकी माइली बैनी बिहे गर्नुभएको थियो ।
त्यति बेला मुस्ताङी राजा लोमान्थाङमा बस्ने भएकाले त्यहाँ मात्र स्कुल थियो । मैले ११ वर्षमा स्कुल पढ्न सुरु गरे । बाजेसँगै बसेर तीन वर्ष पढे । बर्खा त फेरी गोठाला पनि गए । लोमान्थाङमा कक्षा शिशु पढेको हुँ । एक, दुई कक्षामा स्कुलभरी पहिलो नम्बर आए रे । सबैले मलाई हेरे, रिजल्ट आएको दिन । बाजेको नाम भएकाले पनि होला मलाई त्यहाँ पनि सबैले माया नै गरे । मेरो गाउँबाट लोमङथान पुग्न पाँच घण्टा हिड्नुपथ्र्याे ।
मैले बज्यै देख्न पाइन । मेरो बाजेले तिब्बतबाट बिहे गर्नुभएको हो । त्यतिबेला छोरीलाई पराई घर दिँदा एक जना सुसारे पठाउने चलन थियो । सक्ने जति सबैले पठाउने गर्थे । मेरो बज्यै चाँडै बित्नुभयो । पछि मेरो बाजे त्यही सुसारेसँग बस्नुभयो ।मेरो बुबा गाउँको प्रधानपञ्च पनि हो । बुबा राजासँगै जोमसोम आउँदा जाँदा घोडामा हिड्नु हुन्थ्यो । बाजे त झन राजासँगै हिड्ने मान्छे । बाजे र बुबाले सल्लाह गरेर मलाई जोमसोम पढाउने कुरा गरेछन् । कक्षा तीन सम्म लोमान्थाङमा पढेपछि म चार कक्षा पढ्न जोमसोम आए । त्यहाँ चन्द्रबहादुर थकालीको घरमा एउटै कोठामा तीन जना साथीहरु बसेर पढ्यौँ । ती थकाली दाईलाई खान, बस्न सबै गरेर पहिलो वर्ष ३१०, दोस्रो वर्ष ३२० र तेस्रो वर्ष ३३० रुपियाँ तिरेर हामी बसेको हो । बुबाले त्यो पैसा तिरेको मैले देखेको थिए ।

म सात कक्षामा पढ्दै गर्दा आमा बित्नुभयो । बुबाले मलाई बिहे गर भन्नुभयो, तर मैले बिहे गर्दिन भने । आमा बित्नुभएकाले मन निकै बिरक्त भएको थियो । मन लागेन बिहे गर्ने, गर्दिन भनेर जिद्धि नै गरे । त्यसो भएपछि माहिलो भाईले बिहे गर्नुपर्ने भयो र उसको बिहे भयो । घरबाट एउटा छोरालाई लामा बनाउनै पर्ने । अनि हाम्रो घरबाट सबैभन्दा कान्छो भाईलाई चार वर्षको हुँदै लामा बनाउन भारत पठाइयो ।
एसएलसी दिन आठ दिन पैदल
जोमसोमको जनहित व्यावासायिक माध्यमिक विद्यालयमा मैले पढेको हुँ । त्यतिबेला भोकेसनल एजुकेशन भन्थ्यो, मैले कृषि शिक्षा पनि पढेको हुँ । त्यसपछि एसएलसी दिनुपर्ने भयो, पोखरा गएर । एसएलसीको फाराम भरियो । पहिलो पटक नागरिकता बनाउँदा मैले जोमसोममै फोटो खिचेको थिए । पछि एसएलसीको फाराम भर्दा फेरी खिचे । त्यतिबेलाको फोटो अझै छ । फोटो हेर्दै दंग पर्ने बेला थियो ।
गाउँबाट जोमसोम पुग्न दुई दिन अनि जोमसोमबाट छ दिन हिडेर पोखरा पुगेको हुँ म त्यतिबेला । पछि पोखराबाट फर्किदा उकालोमा ११ दिन लाग्यो । मैले पोखरा नदेखेको । कस्तो होला पोखरा ? कहिले त्यो पोखरा भन्ने ठाउँमा जान पाइला भन्ने मनमा खुल्दुली भइरहन्थ्यो । मुस्ताङतिरका मान्छेले खुबै नाम लिएको सुनेको पोखरा पोखरा भनेर । पोखरा जाने भनेर हिँडियो, मनमा त कति खुसी कति खुसी । त्यसको कुरै छोड्नुहोस् । मुस्ताङको मान्छे पोखरा जाने भएपछि त मनै फुरुङ्ग भयो ।

पोखराको बगरमा मेरो मित बुबाको घर थियो । मेरो बुबाको नाउँ कर्मा साम्डुप हो । उहाँसँग नाम मिलेर मितेरी साइनो गाँसेको थियो । मितबुबाको घरमा बसेर अंग्रेजी ट्यूसन पढे । मुस्ताङमा अंग्रेजी पढाउने टिचर नै थिएन । साइन्स र म्याथ त अलि अलि पढे तर अंग्रेजीको सिम्पल पाष्ट, सिम्पल प्रिजेण्ट, सिम्पल फ्यूचर भन्ने कुरा त एसएलसी दिन आउनु तीन महिना अघि बल्ल सिकेको हुँ । उति बेला राम्रो टिचर दुर्गमतिर जाँदैनथे । पढाउने मान्छे पाउँदैनथ्यो । मुस्ताङको सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा फेल हुने । अब कल्पना गर्नुहोस् कि त्यतिबेलाका पढाई हाम्रो कस्तो थियो होला । दुर्गममा बसेर काम गर्दै पढ्नुपर्ने ।
त्यतिबेलाको एउटा कुरा मलाई अझै याद छ, आइ लिभ एट बगर इन पोखरा भनेर अंग्रेजी सरले ग्रामर सिकाउनुहुन्थ्यो ।। सानोलाई एट र ठूलोलाई इन भन्नुपर्छ भनेर मलाई सिकाएको थियो, ट्यूसनमा सरले । मलाई अरु विषयको खासै डर थिएन तर अंग्रेजीको निकै डर थियो, अनि बेस्सरी घोके रातभरी । पढे हो रातभरी, दिनभरी भन्दा पनि हुन्छ । अर्को रमाइलो कुरो पनि छ, हाम्रो स्कुलको । मैले एसएलसी दिनुभन्दा अघिल्ला केही वर्षमा स्कुलभरीबाट १० प्रतिशत पास नभएको रहेछन् । एसएलसी दिने मध्येको १० प्रतिशत पास भएन भने स्कुल खारेज हुने डरले हामीभन्दा अघिको दुईटा ब्याज रोेकेर राखेको थियो । अनि हामी तीन ब्याचको विद्यार्थीलाई एकै साल एसएलसीको फाराम भराएको थियो स्कुलले । त्यतिबेला विद्यार्थीलाई पास गराउन ग्रेस दिने प्रचलन पनि थियो । दुर्गमका स्कुलमा ग्रेस दिएर पनि विद्यार्थी पास हुँदैनथे ।
विद्यार्थी भनेर के गर्नु ? पढ्न पाइदैनथ्यो, काम गर्नुपथ्र्यो घरमा । पढ्ने भन्दा घरको काममा बढी समय दिनु पथ्र्याे, टिचर राम्रो हुदैनथे । लामो समय छुट्टी हुन्थ्यो, स्कुल जाने समयमा घरभरी कापी,कलम झोला नै खोज्नु पथ्र्याे । घरभित्रै राखेका कति कापी, किताब पाइन्थे, कति त महिनौँ पछि भेटिन्थे । एसएलसीको परिक्षा केन्द्र बाटुलेचौरमा थियो । म बगरमा बस्थे । परिक्षा हलमा मेरो पछाडी बसेको मान्छे म भन्दा पनि लद्दु परेछ । मैले लेखेको सारेर हैरान बनायो । मैले बोल्न पनि सकिन, म त गाउँबाट आएको मान्छे न थिए, पोखरामा आएर के बोल्न सक्थे र ? बेला बेला पाउने रनिङ गार्डले मलाई बाहिर निकालि देला भन्ने डर पनि लाग्यो ।

सात ब्याचपछिको पहिलो फष्ट डिभिजन
पोखरामा परिक्षा दिएर फेरी गाउँमै आए । गोठाला लाग्ने र ब्यापार गर्ने काम त छदैँ थियो । परिक्षाफल निस्के छ । त्यति बेला हाम्रो स्कुलको हेडसरलाई आबा (आकाशबाणी) बाट पास हुनेको सिम्बोल नम्बर दिएछन् । पछि पोखराबाट प्लेनमा गोरखापत्र पनि गयो । गोरखापत्र नपुगुन्जेल आबाबाट आएको नम्बरको विश्वास हुँदैन रहेछ, सरहरुलाई पनि । जब गोरखापत्र पुग्यो अनि हल्लाखल्ला भयो, मुस्ताङभरी ।
मलाई पास भएको खबर आबामा टिपाएको नम्बरबाट थाहा भइसकेको थियो तर पछि गोरखापत्र आएपछि त म फष्ट डिभिजन हुने विद्यार्थी पो रहेछु । मेरो फष्ट डिभिजनले त्यति बेला म भन्दा मेरो सरहरु, मेरो घरपरिवार बढी खुसी भएको देखे । सात वर्ष अघिको ब्याचमा बिनोद थकाली भन्ने विद्यार्थी फष्ट डिभिजन भएको थियो, उनी स्कलरसिपमा ओभरसिएर पढ्न इण्डिया गएको सुनेको थिए । त्यसपछि छ वर्ष सम्म कोही पनि फष्ट डिभिजन नभएको र म सातौँ ब्याचमा फष्ट डिभिजन भएपछि जिल्ला भरी हल्ला फैलिएछ । फलानाको छोरो पोखरा गएर पढेकोले फष्ट डिभिजन भएछ भनेर ।
त्यतिबेला मेरो बुबा अलि जान्ने सुन्ने भएर नै होला, बुबा घरमा हुँदा घरमै मान्छेहरु आउन्थे । बाटाघाटामा भेटेर पनि सम्मान गर्थे, के के कुरा सोध्थे । मेरो बुबाले कतिलाई घर झकडा गर्नु हुन्न भनेको सुन्थे, घरझकडा मिलाइदिएको पनि सुन्थे । प्रधानपञ्च भएर होला, कतिपय बदमास मान्छेलाई रिसाएको पनि सुन्थे । कतिपय समस्यामा परेको मानिसलाई खल्तीबाट पैसा दिएको पनि देख्थे । मलाई अचम्म लाग्थ्यो, मेरो बुबाले मात्र यसो किन गरेका होलान् भनेर । पछि म एसएलसी फष्ट डिभिजन भएपछि त बुबालाई मानिस भेट्न आएछन् । तिम्रो छोराले जिल्लाकै नाम राख्यो भनेर भनेको पनि सुने । प्रधानको छोरो असल छ भनेर इष्टमित्र नाताकुटुम्बले भनेको सुन्थे मैले । फष्ट डिभिजन हुनु मेरा लागि थोरै खुसी थियो तर विद्यालय र बुबाको लागि धेरै खुसीको कुरो रहेछ भन्ने कुरा बिस्तारै बुझे ।

जिम्बु बेच्दा पिँढीको बास
मेरो घरपरिवारमा शिक्षा पढ्नु पर्छ भन्ने नै थियो । बाजे र बुबा मुस्ताङी राजाको नजिक भएर बसेकोले पनि होला । मुस्ताङी राजालाई त्यतिबेला काठमाडौँबाट सुरक्षा र निजी सचिवालयको व्यवस्था गरेको हुन्थ्यो । उनीहरु पढेलेखेको भएर जागिर खाएको मेरो घरपरिवारले देखेको थियो । म सात कक्षामा हुँदा आमा बित्नुभयो, खानलगाउन दुख्ख नभएपनि आमा बितेपछि बालबच्चालाई दुख्ख कति हुन्छ, त्यो मलाई थाहा छ ।
बुबाले जति दुख्ख गरेर भएपनि हामी बच्चाहरुलाई पढाउन छोड्नु भएन । मेरो गाउँका अरु बच्चाहरु गोठालैमा लागे । बाजे, बुबाले मलाई लोमान्थाङ ल्याएर पढाए । त्यहाँबाट जोमसोम डेरा लिएर पढ्न बसाए । एसएलसी भन्दा पहिले पोखरामा ट्यूसन पढ्न पठाए । मैले आज ती दिनहरु सम्झिन्छु, अभिभावक प्रति कृतज्ञ हुन्छु । म जस्तै अरु गाउँका केटाहरु गोठालैमा लागे तर मलाई बुबा, बाजेले पढाउन दुख्ख गरे । मलाई पढ्नका लागि ठाउँ ठाउँ दगुराए । त्यतिबेला पढ्न भन्दा गोठालैमा रमाइलो हुन्थ्यो ।
तपाईलाई आज अर्काे मेरो जीवनको रोचक कुरा आज भन्छु । जब म कक्षा ४ मा पढ्न जोमसोम आए । बर्खाभरी स्कुल पढे, अनि हिउँदमा फेरी बुद्ध धर्मको शिक्षा लिन गुम्बामा गए । फुवा गाउँमा भएको त्यो गुम्बा फरक खालको थियो, त्यहाँ मुस्ताङी रानीको आफन्त गुरु हुनुहुन्थ्यो । त्यो गुम्बामा सबैले पढ्न पाउँदैनथे । मैले भने पढ्न पाए । कक्षा ४ र ५ पढ्दा मैले दोहोरो शिक्षा लिए । बाजेले आधुनिक शिक्षा लिएर मात्र हुन्न, आफ्नो धर्म,कर्म सम्बन्धी पनि उत्तिकै ज्ञान हुनुपर्छ भन्नुहुन्थ्यो । जोमसोम बसेको मान्छे म फेरी हिउँदमा त्यति टाढाको गुम्बा गए ।
कक्षा छ मा पुग्दा म उमेरले पनि ठूलो भइसकेको थिए । हाम्रो मुस्ताङको मानिसहरु हिउँदमा ब्यापार गर्न हिड्थे । एउटा ग्रुप इण्डिया जान्थे, स्वीटर बेच्न । एउटा ग्रुप पोखरातिर आउन्थ्यो, जिम्बु बेच्न । कक्षा छ मा गइसकेपछि बुबाले अब हिउँदमा घरमा बस्ने होइन, ब्यापार गर्न हिड भनेर भन्नुभयो । एक पटक इण्डिया पनि गए । त्यो नै पहिलो र अन्तिम भयो । पछि बुबाले इण्डिया पठाउनु भएन । बर्खामा जोमसोमको स्कुल पढे र हिउँदमा गाउँमा जिम्बु, छ्यापी संकलन गरेर पोखरा ब्यापार गर्न जाने ग्रुपसँग हिँडे । कक्षा छ र सात पढ्ने बेलासम्म मैले पोखरा, स्याङ्जा वरीपरीका नघुमेको र नपुगेको कुनै गाउँ छैन होला । त्यति बेला गाउँ गाउँमा डुल्थ्यौँ, जिम्बु बेच्न ।

जिम्बुसँग चामल बराबर साटिन्थ्यो । जुन भाँडामा जिम्बु लियो, त्यो भाँडा बराबर चामल पाइने भएकाले चामलसँग जिम्बु बढी साट्थ्यौँ । त्यो पनि पोखरेली चामल । खुब मिठो हुन्थ्यो पोखरेली चामलको भात । मुस्ताङमा पोखरेली चामलको महत्व, पोखरामा जिम्बुको महत्व । बाहुन, क्षेत्री गाउँमा जिम्बु बढी साटिन्थ्यो । बिहानाको खानामा हामी गाउँको नजिकैको पँधेरो छेउछाउ पकाएर खान्थ्यौँ । वरपरको दाउरा खेरजोर गरेर पानी नजिक भएपछि पकायो, खायो, भाँडाकुँडा सफा गर्न पनि सजिलो हुने । जिम्बु भएपछि बाहुन, क्षेत्रीले पिढीमा बास दिन्थे । साँझको खाना पनि खुवाउन्थे । हामी जिम्बु बेच्न गएकाहरु घर घरमा भाग लगाएर बस्थ्यौँ । खाएको भाँडाकुँडा खरानीले सफा गरेर राख्यो अनि पिढीमा सुत्यो । त्यो जीवन पनि निकै रमाइलो थियो ।
म सात कक्षामा पढ्दापढ्दै आमा बित्नुभयो । साह्रै पीडा भयो । मैले कक्षा ८ र ९ पढ्दा हिउँदको समयमा बुबाले तिब्बतको ब्यापार तर्फ लगाइदिनुभयो । नेपालबाट बङ्गाली लुगा, गलैचा (जसलाई दन पनि भनिन्थ्यो ), घडी लिएर जान्थ्यौँ र तिब्बतमा बेच्थ्यौँ । मैले भोटे भाषा पनि जान्थे, हिसाबकिताब गर्न आउन्थ्यो, अनि बुबाले यसले गरेर खान्छ भन्ने लाग्यो होला । तिब्बततर्फ ब्यापारको लागि पठाउनुभयो । मैले तिब्बतमा गरेको ब्यापारबाट बुबा निकै खुसी हुनु भएको थियो ।
त्यतिबेला सुन तोलाको ६२० रुपियाँ थियो, मैले नेपालबाट घडी लिएर तिब्बतमा ६५० रुपियाँमा बेच्थे । एक पटक एउटा घडीसँग एक याक साँटे, पछि त्यो १,९०० मा बेचे । घडी हामीले ५०० भन्दा पनि कममै किन्थ्यो जस्तो लाग्छ । एक गलैँचासँग दुईवटा भेडा पनि साटेको छु । ती भेडा मैले आठ सयमा बेचे पछि । खुब नाफा हुन्थ्यो ।

बाजे र बुबाको चेतना
बुबा गाउँको प्रधानपञ्च । दुइटै बाजे मुस्ताङी राजाको रिस्तेदारी र जिम्मेवारीमा बसेको मान्छे । तीन कक्षासम्म लोमान्थाङमा बाजेसँग बसेर पढेको मैले पछि स्कुल पढ्दा पढ्दै बुबाले पोखरामा जिम्बु बेच्न पठाउनुभयो । खान लगाउन नपुगेर जिम्बु बेच्न पठाएको त होइन होला । जिम्बु बेच्न जाँदा हिउँदको महिना रातभरी अर्काको पिढीमा सुत्नु पर्ने, खाएको भाँडाकुडामा खरानीले माझेर राख्नुपर्ने अनि भित्र पस्न नपाइने, किन कि हामी मुस्ताङको भोटे जातिको मान्छे थियौँ । सानो बच्चा उमेरमा दुख्ख त भयो नि । मलाई पो त्यस्तो लाग्यो । तर बुबाले मलाई त्यो हिसाबले पठाउनु भएको होइन नि । मुस्ताङबाट पोखरा आएर जिम्बु बेच्नु मलाई एक किसिमका रहर पनि थियो, बुबाले लाहेअह्राएको काम पनि गर्नु थियो तर बुबाका लागि छोरोलाई खास मान्छे बनाउनुपर्ने थियो । जीउने कला र जीवन बुझाउनु थियो । छोरो आँटिलो होस्, एक्लै पनि गरेर खाने होस्, ब्यापार सिकोस्, बुझोस् भन्ने बुबा, बाजेको चाहाना थियो ।
साँच्चै यो कुरा मैले अहिले यो उमेरमा आएर बुझदैछु कि बुबाले खान लाउन कुनै दुख्ख नहुँदा पनि सानै उमेरमा किन दगुराउनु भएको रहेछ मलाई भनेर । अहिले सम्झिन्छु, बुबाले मलाई जीवन सिक्नका लागि पठाउनु भएको हो । जीवनमा दुख्ख, सुख्खको अनुभव सानैबाट लिनुपर्छ भनेर हो । बुबाले एक पटक मलाई इण्डिया समेत पठाउनुभयो । अनि सात÷आठ कक्षामा पढ्ने बेला पोखरा होइन, तिब्बतमा जा भन्नुभयो । ब्यापारको सबै विद्या पढाएर पठाउनुहुन्थ्यो । बुबाले सबै अर्ति जुक्ति दिएर पठाउँदा राम्रै काम गरेर देखाए त्यति बेला मैले । ती दिन त मेरो जीवनमा फर्केर आउँदैनन् अब, जति रमाइलो त्यो बेला थियो, त्यो अब कहाँ पाइन्छ र ?
(डा. गुरुङको जीवन आरोह अवरोहका पाइलाहरु निकै प्रेरणादायी, रोचक र गहकिला छन् । ती सबै घटना आगामी अंकहरुमा क्रमसः प्रकाशित गर्नेछौँ । सम्पादक )