भेरी–बबई डाइभर्सनको ब्रेक थ्रु आगामी बैशाख ३ गते

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रु गर्ने काम आगामी बैशाख ३ गते हुने भएको छ ।

१२ हजार २ सय मिटर सुरुङ खन्ने काममा अब बाँकी २ मिटर मात्र खन्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु गर्न इच्छा व्यक्त गरेपछि आगामी वैशाख ३ गते ब्रेक थ्रुको कार्यक्रम राखिएको हो ।

सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिन (टिबिएम) का कारण त्यसको एक बर्ष अगाडि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना प्रमुख सञ्जीव बरालले बताउनुभयो । शुक्रवार प्रमुख बरालले भन्नुभयो, अब २ मिटर जति खन्न बाँकी छ । आगामी बैशाख ३ गते प्रधानमन्त्रीले एक भव्य समारोहका बीच ब्रेक थ्रु गर्ने कार्यक्रम प्रश्ताव गरिएको छ ।

उहाँले निर्धारित समयभन्दा एक बर्ष पहिले नै सुरुङ निर्माण कार्य पुरा गर्नु आयोजनाका लागि उपलब्धी भएको बताउनुभयो । अनुमानित समयावधि भन्दा एक बर्ष अघि नै सुरुङ खन्ने कार्य पुरा गरिएपछि आयोजनाका स्वदेशी विदेशी प्राविधिकदेखि अन्य कर्मचारी र कामदारहरु समेत अत्यन्तै उत्साहित भएको प्रमुख बरालले बताउनुभयो ।

अब सुरुङको भित्रि भागको फिनिशिंगका कामहरु गरिनेछन्, त्यसमा करिब ३ महिनाजति लाग्नेछ, त्यसका साथ साथै अन्य विभिन्न कामहरु पनि अगाडी बढ्नेछन्’– आयोजना प्रमुख बरालले भन्नुभयो । उहाँले अब आयोजनाको सम्पूर्ण ध्यान हेडवर्कस निर्माण र पावर हाउस निर्माणतर्फ केन्द्रित हुने जनाउँदै ती कामहरुलाई पनि निर्धारित समयभन्दा पहिले नै पुरा गर्ने अभियानमा लाग्ने बताउनु भयो ।

नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षणका कारण निर्धारित समय भन्दा एक बर्षअगावै सुरुङ निर्माणकार्य पूरा भएको र सो सुरुङ निर्माणका लागि हालसम्म सात अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

सुरुङ निर्माण कार्यमा करीब ७ सय नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका थिए । विसं २०७३ साल कात्तिकको अन्तिम सातादेखि टिबिएमले सुरुङ खन्न थालेको थियो ।चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको जिम्मा लिएको थियो । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसारै उत्पादक कम्पनीले आयोजनास्थलमै आएर २ सय ५० मिटर लामो मेसिन जडान गरेको थियो ।

आयोजनाका अनुसार भेरिको चिप्लेमा ‘टनेल एक्जिट प्लेटफर्म’ को निर्माण कार्य पनि सम्पन्न भएर प्लेटफार्म तयार भैसकेको छ । भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिने र सो ब्यारेज ११४ मिटर लामो तथा १४ मिटर अग्लो हुने बताईएको छ ।

सिँचाइ विभागद्वारा तयार गरिएको गुरुयोजना अनुसार आयोजनाको टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायतका काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपैयाँ खर्च हुने आयोजना प्रमुख बरालले बताउनु भयो ।

भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here