सगरमाथा हेर्न ‘ट्रेल रेस’

सोलुखुम्बु । आठ हजार मिटरका छ हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिने स्थान सोलुखुम्बुको पिके हिल (पिके डाँडा) सहित आसपासका क्षेत्रलाई समेटेर ‘ट्रेकिङ रुट’ तयार भएको छ ।

समुन्द्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको पिके डाँडालाई सरकारले गत वर्ष मात्रै प्रमुख १०० पर्यटकीय गन्तव्य क्षेत्रमा समावेश गरेको थियो ।

शेर्पा समुदायको संस्कृति र दृष्यावलोकनका लागि आकर्षक गन्तव्य मानिने सोलुखुम्बुको लिखु पिके गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकालाई जोडेर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संयुक्तरुपमा पर्यटन प्रवद्र्धन अभियान थालिएको ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङ्वाङ्निमा शेर्पाले जानकारी दिनुभयो ।

छिटफुटरुपमा ट्रेकिङमा पर्यटक आउने भए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा आकर्षक पर्यटकीय गन्तव्य पिके हिल ओझेलमा परेकाले यस वर्ष पहिलो ट्रेल रेस (अल्ट्रा हाफ म्याराथन) आयोजना गरेर पर्यटन प्रवद्र्धन गर्न थालिएको उहाँले बताउनुभयो ।

“यहाँको पर्यटन प्रवद्र्धन गर्न यसपाली पहिलो हाफ म्याराथन ग¥र्यौं, पूर्वदेखि पश्चिमसम्मका झण्डै १०० धावक दौडमा सहभागी भए, अर्काे वर्ष अन्तर्राष्ट्रिय म्याराथन गर्ने सोच छ”, छोटो समयमा नजिकबाट धेरै हिमशृङ्खला हेर्न सकिने क्षेत्रलाई विश्वमा चिनाउनुपर्छ भनेर लागेका छौँ”, शेर्पाले भन्नुभयो ।

यसपटक यही चैत २३ गते भएको पहिलो हाफ म्याराथनमा ६० धावक सहभागी गराउने भनिएपछि धेरै जिल्लाबाट ९४ धावकले प्रतिष्पर्धा जनाए । सामान्य प्रचारमा यति धेरै धावक सहभागी हुँदा थप नयाँनयाँ कार्यक्रम गर्न ठूलो हौसला मिलेको समितिको भनाइ छ ।

यहाँ अन्तर्राष्ट्रिय रेकर्ड राख्न सफल अल्ट्रा धावक भीमबहादुर गुरुङसहितका खेलाडी सहभागी भएका थिए । धावक भारी हिमपातकाबीच प्रतिष्पर्धामा सहभागी भएका थिए । धावक गुरुङले यस्ता प्रतियोगिताले स्थानीय क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै ट्रेकिङमा समेत पर्यटकलाई आकर्षित गराउने बताउनुभयो ।

समितिका सदस्य एवं स्थानीय क्षेत्रमा म्याराथन दौड संयोजक छेपाल शेर्पाले दौडले एक खालको सन्देश गएको भन्दै आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताउनुभयो । विश्वको सर्वाेच्च शिखर सगरमाथाको तल्लो क्षेत्रमा सोलुखुम्बुको पिके डाँडा र ओखलढुङ्गाको थोलेदेम्बर अवस्थित छ ।

यहाँको चुप्लुङ भञ्याङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर ट्रेकिङ रुटसमेत तयार गरिएको छ । त्यही रुटमा यसपटक पहिलो हाफ म्याराथन आयोजना गरिएको हो । ट्रेकिङ एशोसिएसन अफ नेपाल(टान) का महासचिव आङ्पेम्बा शेर्पाले ट्रेकिङका लागि सो क्षेत्र भर्जिन रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पिके डाँडाबाट पूर्वको कञ्जनजङ्घादेखि पश्चिममा धौलागिरिसम्मका हिमाल पानारोमामा देख्न सकिन्छ, छोटो समयमा पुगेर दृष्यावलोकन गर्न सकिने यो क्षेत्र प्रकृतिको अनुपम उपहार हो, त्यसैले टान, पर्यटन बोर्ड, नेपाल माउन्टेनरिङ एशोसिएसनलगायत सङ्घसंस्थाले सहकार्य गरेर पर्यटन विकासको प्रयास थालेको हो ।”

पिके डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुलदेवतालाई सम्झेर यहाँ शेर्पाहरु पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला नै लाग्ने गर्छ । शेर्पा समुदाय धुप (सुनपाती) टिप्नका लागि पनि यहाँ पुग्छन् । सो क्षेत्रबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, सगरमाथा, ल्होल्से, नुप्चे र मकालु हिमाल देख्न सकिन्छ ।

पिकेको भौगोलिक बनोट नै सुन्दर छ । काठमाडौँबाट करीब १४० किलोमिटरमा पर्ने खिजीदेम्बा धुलिखेल, खुरकोट, रामेछापको मन्थली हुँदै लिखु खोला तरेर धोबी हुँदै पुगिन्छ । शेर्पा सुमदायको बाहुल्यता रहेकाले उनीहरुको मौलिक संकृति र रीतिरिवाजको अध्ययन अनुसन्धान तथा अवलोकनका लागिसमेत यो ठाउँ प्रख्यात छ ।

केही वर्षअघिबाट सञ्चालनमा आएको पिकेदेम्बा ट्रेलका कारण यहाँ विस्तारै स्वदेशी र विदेशी पर्यटकसमेत आउन थालेका छन् । प्रकृतिको सुन्दरतामा यहाँ विदेशी मन्त्रमुग्ध हुने गरेका स्थानीय पिके बेसक्याम्पका होटल व्यवसायी झङ्बु शेर्पाले बताउनुभयो । सोलुखुम्बुका पेम्बा शेर्पाले ३६० डिग्रीको कोणमा नजिकबाट हिमाल देखिने क्षेत्र भएकाले म्याराथनजस्ता कार्यक्रम नियमित गर्नसके पर्यटकीय हिसाबले पिके आकर्षक गन्तव्य हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here