काठमाडौँ । काङ्ग्रेसमा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाहीका लागि विभिन्न जिल्लाबाट थप १२० उजुरी परेका छन् । काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम एक साताभित्र उपलब्ध गराउन भनी गत चैत २४ गते सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको थियो ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको थियो ।
समितिले काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागिसमेत पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करीब ५०० नेता कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परिसकेको छ । त्यसमध्ये छानबिन गरी करीब १५४ लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।