स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई हजार २०० मिटरको दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरुयोजना गरेको छ ।

कामपाले आज पत्रकार सम्मेलन गरी विश्व सम्पदा दिवस २०१९ को अवसरमा उक्त गुरुयोजना तयार गरेको जानकारी गराइएको हो ।

आगामी बिहीबार हनुमानढोका दरबार क्षेत्रमा सार्वजनिक गरिने सम्पदा पदयात्राको गुरुयोजनामा संस्कृति तथा रीतिस्थितिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कामलाई लक्ष्य बनाइएको जानकारी गराइएको छ ।

कार्यक्रममा विषयमा जानकारी गराउने क्रममा महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्नुलाई महानगरले प्राथमिक रुपमा अघि सारेको बताउनुभयो ।

काठमाडौँ महानगर क्षेत्रभित्र विश्व सम्पदा सूचीमा सूचीकृत भएका चार वटा स्थान छन् । महानगरको सम्पदा तथा पर्यटन समितिले विश्व सम्पदा दिवसका अवसरमा अघि सारेका कार्यक्रम माथि जानकारी दिँदै समितिका संयोजक न्हुच्छेकाजी महर्जनले स्वयम्भू र हनुमानढोकाबीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेकाले यी स्थान तय गरिएको जानकारी गराउनुभयो ।

संयोजक महर्जनका अनुसार पैदल हिँडेर पनि यी दुई सम्पदाको दूरी आवतजावत गर्न सकिने भएकाले यी स्थान तय गरिएको हो । सम्पदा पदयात्राले उक्त दूरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु¥याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्यमान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

काठमाडौँ महानगरका मूर्त एवं अमूर्त सम्पदाको पहिचान, पुस्तान्तरण तथा सम्वद्र्धनको कार्यमा पनि यो पदयात्रा सहायकसिद्ध हुने विश्वास गरिएको छ । सम्पदा पदयात्राको २.२ किलोमिटर दूरीभित्र रहेका करीब २० वटा महत्वपूर्ण सम्पदा स्थलको अवलोकन गर्न सकिने छ ।

पदमार्ग

हनुमानढोका, काष्ठमण्डप, मरु गणेश, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, चस्वांद्वँ, दमाईं टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर) गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी, धिमे ल्वहं, चारा हिटी, भुइखेल हुँदै स्वयम्भूसम्म रहेको छ ।

अवलोकन गरिने सम्पदा

काठमाडौँको हनुमानढोका दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुङ्गेधारा, पाटी, सत्तल आदिजस्ता सम्पदा अवलोकन गर्न सकिनेछ ।

आगामी कामपाले यस दूरीबीच रहेको सम्पदा पहिचान गर्न विभिन्न सङ्केत चिह्न राख्ने, स्थानीय घरलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ ।

दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवद्र्धन र सङ्ग्रह गरिने छ । यसका लागि आर्टग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here