सरकारले असंवैधानिक बाटोमा हिड्न थाल्यो : सिटौला

झापा । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संवैधानिक कानूनी प्रावधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

उहाँले दुई तिहाईको मात लागेर सरकार असंवैधानिक बाटो हिड्न थालेको आरोप लगाउनुभयो ।

विर्तामोडमा आइतवार झापाका सल्लाहकारको भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता सिटौलाले भन्नुभयो, “संवैधानिक आयोगका प्रमुख नियुक्तिमा सरकारले संवैधानिक कानूनी प्रावधान नाघेको छ, संवैधानिक परिषद्मा प्रतिपक्षमा रहेका दलका नेताको अनुपस्थितिमा नियुक्ति गर्न नपाइने व्यवस्था छ तर सरकारले त्यसको पालना नगरी संवैधानिक आयोग न्यायालय, निर्वाचन आयोगलगायतमा प्रमुख नियुक्त गरेको छ ।”

बहुमतको दम्भमा सरकारले कर्मचारी प्रशासन, प्रहरी प्रशासन, न्यायालय, संवैधानिक आयोग आफू अनुकूल बनाउन खोजेको उहाँको आरोप छ । “सरकारले देशमा दीर्घकालीन विकासका योजना ल्याउन सकेको छैन”, नेता सिटौलाले भन्नुभयो, “टोल सुधार समिति, उपभोक्ता समिति वा अन्य कुनै नाममा सरकारले आफ्ना कार्यकर्ताको समूह बनाएर सोमार्फत विकास बजेट आफ्नै कार्यकर्तालाई बाँडिरहेको छ, आर्थिक अपचलन गरिरहेको छ ।”

नेता सिटौलाले काङ्ग्रेसभित्र नीति, सिद्धान्त र कार्यक्रममा भावनात्मक एकताको खाँचो रहेकोसमेत औँल्याउनुभयो । “पार्टीभित्रको गुटबन्दी त्यागेर वडादेखि केन्द्रीय तहसम्मका काङ्ग्रेसका भ्रातृ सङ्गठनलाई सशक्त बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

भेलामा काङ्ग्रेस नेता डिल्ली सिटौलाले नीतिगत प्रष्टता, त्याग र योगदान गर्ने नेता–कार्यकर्ताको सम्मान र युवापुस्तालाई समेट्ने खालको कार्यक्रम तय गरेर काङ्ग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै काङ्ग्रेस नेता सुधीरकुमार शिवाकोटीले प्रादेशिक संरचना अनुकूल पार्टीको विधान आएमात्रै साङ्गठनिक संरचना विस्तार गरेर जागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सल्लाहकार विश्वदीप लिङ्देनले सरकारले लोकतन्त्रलाई भ्रष्टाचारीतन्त्र र स्वेच्छाचारीतन्त्रमा परिणत गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा काङ्ग्रेस झापाका सभापति उद्धव थापा, भुपाल बस्नेत, कृष्णप्रसाद मिश्र, वीरबहादुर प्रसाईं, भक्ति सिटौला, खगेस उप्रेती, तुलसी ओली, महेन्द्राकुमारी सुब्बा, पाँचथर सभापति नरेन्द्र केरुङलगायतले आआफ्ना धारणा राख्दै काङ्ग्रेसभित्रको गुटगत राजनीति अन्त्य जनजागरण अभियान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here