नेपाली जहाजमा अब जापान पुगिने

काठमाडौं । अब जापान जाने नेपालीले आफ्नै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजमा जान पाउने भएका छन् । आउँदो असार महिनाबाट नेपालीलाई सो अवसर मिल्ने भएको छ ।
निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाए पछि यो अवसर मिल्ने भएको हो ।
यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने योजनामा निगम रहेको छ । केही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने निगमका प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए।
निगमले आगामी असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ। निगमले काठमाडौदेखि (जापान एकतर्फी न्युनतम ४५ हजार र दुईतर्फी ८० हजार रुपैयाँमा उडान गर्ने निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
निगमले गत असार १० गते र साउन १४ गते भित्र्याएको दुईवटा २७४ सिट क्षमताको वाइडबी विमानलाई अब भने लामो दूरीको गन्तव्यमा पालैपाले उडान गर्नेछ । निगमले जापानको अर्को गन्तव्य नारितामा पनि उडान अनुमतिको प्रयास जारी राखेको कोइरालाले जानकारी दिए ।
जापान उडानपछि नेपाल भित्रिने पर्यटकको संख्यासमेत उल्लेख्य रूपमा बढ्ने उल्लेख छ। सन् २०१८ मा जापानबाट नेपालमा २९ हजार ७ सय २९ जना पर्यटक नेपाल भित्रिएका छन्। नेपाल आउन जापानिज पर्यटकको वृद्धिदर वार्षिक ९ प्रतिशतले बढिरहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।
निगमले चीनको ग्वान्जाओमा पनि उडान अनुमति मागिरहेको छ। निगमले तय गरेको कोरिया उडानमा भने कोरियाले नेपालको हवाई उड्डयनको सेफ्टि अडिट गर्नुपर्ने भनेकाले कुनै प्रगति नभएको उल्लेख छ।
निगमले अन्तर्राष्ट्रिय उडानका निम्ति लामो गन्तव्यमा जाने गरी ल्याउको वाइडबडी उडान गन्तव्य नपाउँदा हाल न्यारोबडीका छोटो गन्तव्यमा नै सीमित छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here