काठमाडौं । चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका तामाङलाई उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्र्रताप केसीको संयुक्त इजलासले सोमबार सफाइ दिएको हो ।
सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीको आधारमा नुवाकोट प्रहरी कार्यालयले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
भारतमा बेचिएर फर्केका महिलाले सुनबहादुरसहित तीन जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए । पहिलोपटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो । २०५१ सालमा नुवाकोट जिल्ला अदालतले उनलाई ६ वर्ष कैद तोकेको थियो । त्यसपछि प्रहरीले उनलाई ‘फरार’ सूचीमा राख्यो । फरार सूचीमै रहेकै बेला सुनबहादुरले २०७४ वैशाखमा स्थानीय चुनावमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट उनले वडाध्यक्ष जिते ।
२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालत नुवाकोटको मुद्दालाई सदर गरेको थियो । त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो । तर, उनी जेल गएनन् । पछिल्ला मुद्दामा काठमाडौं अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी अघिल्लो आदेशका आधारमा जेल चलान भएका थिए ।
फरार सूचीमै रहेको अवस्थामा भारतको बम्बईमा बेचिएका तीन महिला नेपाल फर्केर उनीविरुद्ध उजुरी दिएका थिए । तामाङले दिल्ली र मुम्बईमा वेश्यालय सञ्चालन गरी त्यहाँ नेपालबाट लगिने चेलीलाई काममा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतबाट भागेर आएका युवतीले जाहेरी दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीमाथि अनुसन्धान थालेको थियो । पीडितको उजुरीको आधारमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । पीडितको उजुरीको आधारमा तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुई वटा मुद्दा दर्ता भएको थियो ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा सुनबहादुरले बेचिएका महिलालाई बकपत्र दिन जानसमेत रोकेका थिए । कतिपय त बुबाको मिलेमतोमा समेत बेचिएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । सुनबहादुरले जागिर लगाइदिएको भनेर तलबबापत वार्षिक रुपमा १०–१२ हजार रुपैयाँ ल्याएर दिने गरेका थिए ।
पीडितलाई गाउँमै बन्धक
बेचबिखनपछि केही पीडितहरू गाउँमै फर्किएका छन् । तर, उजुरी गर्न जान सक्ने भएकाले उनीहरूलाई सुनबहादुरका ‘केटा’हरूले गाउँबाट बाहिर जान दिएका छैनन् । नुवाकोट प्रहरीमा तीन वर्षअघि उजुरी गरेकी एक युवतीलाई उनीहरूले त्यसपछि बकपत्र गर्न जानै दिएनन् । बकपत्र दिन जान नदिएकालाई एक वर्ष अघि सीआईबीले उद्धार गरेर काठमाडांै ल्याएको थियो । उजुरी दिनेमध्ये एक महिला भारतको कोठीबाट भागेर नेपाल फर्किएकी थिइन् । नाम परिवर्तन (सानी) लाई जागिर लगाइदिन्छु भनेर बम्बईको कोठीमा पु¥याइएको उनले प्रहरीमा बयान दिएकी थिइन् ।
सुनबहादुर मात्र होइनन्, उनका छोरा तथा केही आफन्तसमेत चेलीबेटी बेचबिखनमा संलग्न थिए । उनका छोरा गुनबहादुर गाउँकी चेली बिक्री गरेको मुद्दामा जेल परिसकेका छन् । सो घटनामा सुनबहादुर संलग्न भए पनि उनीविरुद्ध मुद्दा चलेन । उनका अन्य आफन्त भने भारतमा बसेर कोठी सञ्चालन गर्छन् । ती कोठीमा अहिले पनि दुप्चेश्वरका सय बढी युवती रहेको प्रहरीले आशंका गरेको छ ।
सन् २००९ मा मुम्बईको कोठीबाट २४ जना किशोरीको उद्धारमा संलग्न एक महिलाका अनुसार त्यति बेला नै उनीहरूले सुनबहादुरले बिक्री गरेको बताएका थिए । तर, उनका सहयोगीले पीडितहरूलाई मुद्दा हाल्न दिएनन् । पैसाको आडमा उनले सिंगो गाउँलाई नै प्रभावमा राखेका थिए ।
पीडितको बयान– सुनबहादुरले बेचेका हुन्
२०६४ सालतिर हो जस्तो लाग्छ । १२ वर्ष हुँदा गाउँकै टीकाबहादुरसँग मेरो बिहे भएको थियो । तानेर उसले बिहे गरेको हो । बिहे गरेपछि उसले काठमाडौं जाऔं भन्यो । काठमाडौं आएपछि जागिरका लागि भारत जाने भन्दै सुनबहादुर लगायतका मान्छेले दिल्ली लिएर गए । त्यहाँ जागिर होला भनेको त कोठीमा बेचिएको रहेछ । सात वर्षसम्म त्यहीँ बसें । एक दिन बाहिर निस्केको बेला एक जना नेपालीसँग भेट भयो । उहाँसँगै लागेर नेपाल आएँ । सुनबहादुरले म जस्ता गाउँका धेरै जनालाई नरकमा पु¥याएर बेचेको छ ।
अदालतबाट छुटेपछि नेतासँग आशीर्वाद
सुनबहादुर उच्च अदालतबाट छुटेलगत्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई भेट्न उनको निवासमा पुगे । नेता केसीले सुनबहादुरलाई आशीर्वाद मात्रै दिएनन्, न्यायको पक्षमा अदालत रहेको भन्दै धन्यवादसमेत दिएको स्रोतले जनायो । स्रोतका अनुसार अदालतको आदेशले छुटेपछि नेता केसीको निवासमा पुगेर तामाङले अंकमाल गर्नुका साथै खुसी साटासाट गरेका थिए ।
साभार राजधानी