काठमाण्डौं । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरु बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा नेपालको पुरानो आधिकारिक नक्सा तथा नेपाल पक्ष राष्ट्र भई गरेका सन्धि/सम्झौताका आधिकारिक दस्तावेजहरु ती पुस्तकालयमा हुनसक्ने भएको हुँदा सरकारले कूटनीतिक प्रतिनिधिमार्फत खोजी शुरु गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “नेपालको इतिहासको धेरै पहिलाको आधिकारिक नक्सा, देशबीचका सिमानाको नक्सा, नेपाल पक्ष राष्ट्र भएका सन्धि/सम्झौताको आधिकारिक दस्तावेज ब्रिटिस र कोलकाता लाइब्रेरीमा पनि खोजी शुरु भएको छ ।” नेपालको राष्ट्रियता, भूगोल, सीमा र राष्ट्रिय अखण्डतासँग जोडिएका विषयहरु ती दस्तावेजबाट अध्ययन गर्न सकिने उल्लेख गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “सुगौली सन्धि १८१६ र नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५०का सक्कलप्रतिबारे प्रश्नहरु नै छन्, यसबारे खोजी भइरहेको छ ।”
मन्त्री ज्ञवालीका अनुसार तत्कालीन समयमा निकै महत्वपूर्ण र संवेदनशील दस्तावेज दरबारमा नै थिए । “विसं २०४७ को परिवर्तनपछि दस्तावेजहरु सरकारको मातहातमा ल्याउने काम भयो तर सबै आएन कि जस्तो लाग्छ, जुन प्रश्नकै विषय छ”, उहाँले भन्नुभयो ।
“त्यति बेलाका सबै दस्तावेजहरु दरवारमै थिए, सबै दस्तावेज सरकारलाई आयो कि आएन भन्न सकिने अवस्था छैन, के–के छुटे खोजपछि मात्र थाहा हुन्छ, सबै हस्तान्तरण भएनन् भन्ने हामीले पनि सुनेको हो, त्यसको थप खोजी गर्न जरुरी छ”, मन्त्री ज्ञवालीले सुनाउनुभयो ।
विगतका नेपाल पक्ष राष्ट्र भएका अन्य सन्धि/सम्झौताको आधिकारिक दस्तावेज भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छ । ती दस्तावेजका प्रतिलिपि परराष्ट्र मन्त्रालयमा पनि छ ।
सो अवसरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय महत्वका दस्तावेज अभिलेख राख्ने विषय र पुस्तकालयको अवस्थाका बारेमा पनि अध्ययन शुरु गरिएको बताउनुभयो ।