काठमाडौँ । सरकारले लकडाउनको अवधि घोषणा गरेको बेला नेपाल भ्रमण गर्न नेपालका बिभिन्न ठाउँ घुम्न आएको विदेशी पर्यटक धमाधम घर फर्किदैछन् । हालसम्म १ हजार ५९८ जना विदेशीले नेपाल छाडि सकेका छन् ।
विशेष गरी युरोप तथा अमेरिकाले आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजान ठूला जहाजहरु चार्टर गरेर लैजाने गरेको छ । हाल बन्द अवस्थामा रहेको त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट विदेशी लैजानका लागि दैनिक जसो दुई वटा उडान हुने गरेका छन् ।
सरकारले ११ चैतबाट नेपालमा ‘लकडाउन’ घोषणा गरेर अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको भए पनि शक्तिशाली मुलुकहरुले नेपालमा रहेका आफ्ना नागरिकलाई विमान नै चार्टर गर्दै फिर्ता लाँदै गरेका हुन् । सरकारले पुनः ३ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बुधबारसम्म पाँच उडानमार्फत विदेशीहरु स्वदेश फर्किएको बताए ।
‘लकडाउनपछि पाँच अन्तर्राष्ट्रिय उडान भएका छन्, यसबीचमा जर्मनी, फ्रान्स, अमेरिका, अस्ट्रेलियाले आफ्ना नागरिकलाई लगेका छन,’ विभागका महानिर्देशक केसीले राजधानीसँग भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले यसरी आफ्ना नागरिक लैजान जर्मनीले दुई उडान गरेको जानकारी दिए । उनका अनुसार जर्मनीले एक उडानमा ३ सय ७ जना र अर्को उडानमा ३ सय ३ जना फिर्ता लगेको छ ।
यस्तै, फ्रान्सले चार्टर विमानमार्फत ३ सय ५ जनालाई फिर्ता लगेको छ भने अमेरिकाले ३ सय २ जना लगेको छ । यसैगरी, बुधबार मात्रै अस्ट्रेलियाले एक उडानमार्फत २ सय ५७ जना आफ्ना नागरिकलाई फिर्ता लगेको हो । यसैगरी, चीनले समेत बिहीबारसम्म आफ्ना नागरिक लैजाने तयारी गरेको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेन सहरका लागि उडेको हो । काठमाडौंबाट साँझ ६ बजे उडेको सो जहाज मलेसियाको क्वाललम्पुरमा इन्धन भर्न अवतरण गर्नेछ भने त्यहाँबाट ब्रिस्बेनतर्फ लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो जहाजमा अस्ट्रेलिया र न्युजिल्यान्डका गरी २ सय ५७ जना यात्रु रहेका छन् ।
अस्ट्रेलियामा पहिलोपटक नेपाली जहाज ओर्लन लागेको हो । अस्ट्रेलियाबाट भने जहाज रित्तै आउनेछ ।