एक हजार भन्दा बढी रुख काटिने

काठमाडौँ। तनहुँ जलविद्युत् आयोजना अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माणका लागि चितवन तर्फको भागमा एक हजार भन्दा बढी रुख कटानको हुने भएका छन् ।

काटिएका रुखलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सबडिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गरिने छ ।

डिभिजन वन कार्यालय चितवनका अनुसार सो रुख काट्ने अनुमति दिइएको छ । रुख कटानको अवधि २०८३ वैशाख २५ गतेदेखि लागु हुनेगरी दिइएको छ ।

सो प्रसारणलाइनको मार्गधिकार भित्र पर्ने राष्ट्रिय वन र बिभिन्न सामुदायिक वन क्षेत्रका रुखहरू कटान गरी घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र पनि प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।

जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार भरतपुर महानगरपालिका वडा नं १ स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वडा नं २९ अन्तर्गत पर्ने अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिने छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्ले २०७९ मंसिर २० गते गरेको निर्णयअनुसार यो प्रसारणलाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ रुख हटाउन स्वीकृति दिइएको थियो । जसमध्ये चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र पर्दछ ।

सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभागबीच सम्झौता भएको थियो । उक्त सम्झौतापछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन समूहहरूको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो ।

कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक, जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here