म्याङलुङ। तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाभरी दुई दिन बाँदर धपाइने भएको छ ।
बाँदरको बिगबिगी बढेपछि बाँदर आतंक नियन्त्रण गर्न यही जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने भएको छ। यद्दपी बाँदर धपाउन जेठ १ र २ गते गरी दुई दिने अभियान चलाइने भएको छ । जेठ १ गते शुक्रबार परेकोले सार्वजनिक बिदा दिइएको र २ गते शनिबार बिदा नै भएकाले दुई दिन लगातार बाँदर धपाउने काम गरिने निर्णय भएको छ ।
नगर प्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा बाँदरका कारण किसानले दुख गरेको खेतीबाली नोक्सानी हुँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, खेतीबाली बचाउन रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय जाने बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएको हुँदा यस्तो निर्णय गर्नुपरको उल्लेख गरिएको छ।
नगरपालिकाले यही जेठ १ र २ गते सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको जनाएको छ। यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन सबै किसान, किसानका घरपरिवार, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सार्वजनिक रूपमा आह्वान गरिएको छ।

































