सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा पहिलो पटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बु पासाङल्हामु–१ खरिखोला जोडिएको सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।
माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खरि खोलासम्म सडक पु¥याइएको गाउँपालिकाले जनाएको छ । उक्त सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सडक पुगेसँगै हवाईमार्ग हँुदै लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्य दूधकोशी हुँदै करीब तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा आन्तरिक पर्यटनमा समेत वृद्धि हुने मन्त्री राईको विश्वास छ ।
तेञ्जिङ हिलारी विमानस्थलको मौसम प्रतिकूल हुँदा हप्तौसम्म स्वदेशी तथा विदेशी पर्यटक लुक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ । कतिपयले महङ्गोमा हेलिकप्टर चार्टर गरेर काठमाडाँै जाने भए पनि कतिपय पर्यटक भने हप्तौसम्म कुरेर फर्कने गरेका छन् ।
मुख्यमन्त्री राईले वर्षेनी पचासांै हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गर्नुभयो । सांसद हेमकुमार राईले सगरमाथा क्षेत्रको सडक निर्माण सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चीनको नाङ्पाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उक्त नाका खोल्न सके खुम्बूको विकासमा थप मद्दत पुग्ने भन्दै उहाँले बन्द रहेको नाका खोल्न पहल गरिदिन आग्रह गर्नुभयो ।
माप्य दूधकोशीको बासामा रहेको प्रहरीचौकी, माप्य दूधकोशी गाउँपालिकाको सभा हल उद्घाटन गरेपछि खरिखोला पुग्नु भएका मुख्यमन्त्री राईले १५ श्ययाको खरिखोला अस्पताल र दलित भवनको समेत उद्घाटन गर्नुभयो ।