धनगढी । प्रदेश २ का हावाहुरी पीडित परिवारलाई र।हत दिन एक करोड एकमुष्ट दिने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नागरिक मर्दा समेत जम्मा डेढ लाख रुपियाँ दिने निर्णय गरेको छ ।
हावाहुरीले बिल्लिबाँठ भएका सुदूरपश्चिमका नागरिकलाई पीडित भएको चार दिनपछि यस्तो निर्णय गरेको हो । प्रदेश २ का नागरिकलाई रातारात मन्त्रीपरिषदको बैठक डाकेर एकमुष्ट एक करोड दिने सरकारले आफ्ना प्रदेशका नागरिक मर्दा पनि परिवार डेढ लाख रुपियाँ निर्णय गर्दा पीडित परिवारले दुख्ख व्यक्त गरेका छन् ।
अत्तरिया निवासी केशब भट्टराईले भने, प्रदेश २ का नागरिकलाई एक करोड रुपियाँ सहयोग गरेर खुबै लोकप्रियता कमाउन तम्सिएको त्रिलोचन भट्ट सरकारले आफ्ना नागरिक मर्दा समेत पाँच लाख दिन सकेन ।
सडकमा कुखुरो मर्दा त २० हजार तिराउन लबिङ गर्ने राजनीतिक दलका नेताहरु आजभोली कता सुतेर बसेका होलान् ? यो सरकारको लाचारीपना हो । यसले आफ्नो नागरिकको पीडमा मलम लगाउने भन्दा घाउमा नून चुक हाल्ने काम गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैकठले मृतक वीरबहादुर चौधरी र लहानु डङ्गौराको परिवारलाई डेढ लाख रुपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । चौधरीका आफन्त किसन चौधरीले नेपालकथासँग भने, अर्काका प्रदेशका नागरिकलाई एकमुष्ट एक करोड दिन छाती फुलाउने सरकारले हामी मर्दा डेढ लाख रुपियाँ दिने घोषणा गरेको सुनियो । त्यो कहिले कसरी पाइने हो थाहा छैन । हामी त यही प्रदेशका नागरिक हौँ । मालपोत तिरो तिरेका छौँ । अर्काका प्रदेशका नागरिकलाई त्यति पैसा दिने मन्त्रीले हाम्रो पीडा देख्न सकेनन् ।
आइतवारको बैठकले प्रदेश सरकार गठन भएदेखि विभिन्न विपद्मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई पनि प्रदेश सरकारले डेढ लाख रुपियाँ राहत दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिएका छन् ।
घर पूर्ण रुपमा क्षति भएकोलाई २० हजार र आङ्शिक क्षति भएको परिवारलाई १० हजार रुपियाँका दरले राहत दिने निर्णय गरेको उनले बताए । बालीनाली, पशुपङ्क्षी क्षति भएका व्यक्तिलाई सम्बन्धित मन्त्रालयले मापदण्ड बनाएर राहत दिने निर्णय जानकारी सरकारले दिएको छ ।