सुर्खेत । कर्णाली प्रदेशका उद्योगी व्यवसायीले चौकुने सिमेन्ट कारखानाको काम तत्काल अघि बढाउन माग गरेका छन् । प्रवद्र्धक मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिका सञ्चालक अजयराज सुमार्गीसँग स्थानीय व्यवसायीले लामो समयदेखि लाइसेन्स होल्डमा राखिदा असन्तुष्टि बढेको भन्दै तत्काल काम शुरु गर्न माग गरेका हुन् ।
चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी पश्चिम सुर्खेतको गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्रीले नौ वर्षअघि खानी विभागबाट इजाजत पत्र पाएको थियो । पछिल्लो समय कारखाना सञ्चालनका लागि कम्पनीले कुनै प्रक्रिया अघि बढाएको छैन् । गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी कम्पनीले ०७३ पौषको अन्तिम साता चुनढुंगा उत्खनन सुरु गरेको थियो । तर, उत्खनन कार्यले लामो समय लिएन ।
कम्पनीका सञ्चालक सुमार्गीसँग स्थानीयवासी र वीरेन्द्रनगरका व्यवसायीले कारखाना सञ्चालन नगर्ने भए खानी क्षेत्र नओगट्न आग्रह गरेका छन् । स्थानीय रामबहादुर बयकले कम्पनीले छनोट गरिसकेको जग्गा पनि अधिग्रहण नगरेको बताउनुभयो ।
“पटक–पटक म्याद थपिँदा अन्यौल मात्र बढेको छ, खानी क्षेत्रमा कुनै काम भएको छैन्”, उहाँले भन्नुभयो, “कम्पनीकै आग्रहमा आफूहरुले जग्गा खरीद–बिक्री रोक्यौं, दुई वर्ष बितिसक्यो, अधिग्रहणको प्रक्रिया अघि बढेन ।”
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले सुर्खेतको विकासका लागि चौकुने सिमेन्ट उद्योग कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमा कुनै समस्या भए कम्पनीलाई सहयोग गर्न तयार छौं, तपाईहरुले निर्माणको काम अघि बढाइदिनुप¥यो ।” अध्यक्ष रावतले उद्योग सञ्चालनका लागि सरकारले पनि लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
खानी विभाग र मुक्तिश्रीबीच भएको सम्झौतामा आवश्यक सुरक्षा, खानी क्षेत्रसम्म सडकको पहुँच र विद्युत् सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । अन्ततः कम्पनीकै लगानीमा खानी क्षेत्रमा सडक पहुँच विस्तार गरिएको छ । कारखाना सञ्चालनका लागि करीब १४ मेगावाट विद्युत् आवश्यक पर्ने कम्पनीको दाबी छ ।
कम्पनीका सञ्चालक सुमार्गीले सिमेन्ट कारखाना स्थापना हुनेमा कुनै शङ्का नगर्न कर्णालीवासीलाई आग्रह गर्नुभयो । “रु दुई अर्ब लगानी गरेर २०७७ भदौभित्र कारखाना उद्घाटन गर्नेछु”, उहाँले भन्नुभयो, “विद्युत्को समस्या छ, तत्काल जेनेरेटरबाटै कारखानाको काम अघि बढ्छ, कारखाना सञ्चालन हुँदैन की भनेर शङ्का नपाल्नुस् रु” उहाँले जग्गादाता र कामदारलाई रु ५० हजार बराबरको शेयर दिने योजनासमेत सुनाउनुभयो ।
खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कूल ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । कारखाना सञ्चालन गर्न करीब रु आठ अर्ब लागत लाग्ने अनुमान छ । निर्माण शुरु भएमालागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ ।