गाडीका ब्याट्री चोरी गर्ने गिरोह पक्राउ

काठमाण्डौं । चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ घर भई हाल मध्यपुरथिमिको राधेराधे बस्ने २२ वर्षीय मनोज सापकोटा, दोलखा बैतेश्वर गाउँपालिका–३ पुतलीघाट घर भई राधेराधे बस्ने ३१ वर्षीय विमल श्रेष्ठ, भारत मोतिहारी पताही थाना घर भई मध्यपुरथिमि बस्ने २१ वर्षीय चन्दन कुमार र भारत मुज्जफरपुर पूर्वीचम्पाण घर भई ललितपुर महानगरपालिका–३ धोवीघाट बस्ने ३७ वर्षीय सुरेन्द्र चौधरी रहेका छन् ।

प्रहरीले ब्याट्री चोरिएपछि ओसारपसार गर्ने कवाडी पसलसमेत सञ्चालन गर्दै आएका विमल श्रेष्ठको प्रदेश नं ०३–०१–०२२प२१६६ नंको कार र चोरिएको ब्याट्री लोड गर्दै गरेको ना२ख ४३५४ नंको भ्यान, १८४ थान ब्याट्री र चोरीमा प्रयोग हुने रड एवं रेञ्चसमेत बरामद गरेको प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

प्रहरी वृत्तमा ५०० भन्दा बढी ब्याट्री चोरी भएका उजुरी आएपछि ठूलै गिरोह सक्रिय रहेको आशङ्का र सुराकीका आधारमा प्रहरीले जगातिको आदर्शबाट राति ब्याट्री चोरी गरिरहेकै अवस्थामा प्रहरीले मनोज सापकोटालाई पक्राउ गरेपछि गिरोहको पर्दाफास भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न सडकमा रोकिराखेका बस, ट्रकलगायत विभिन्न सवारीसाधनबाट राति सापकोटाले ब्याट्री चोर्ने, चोरेका ब्याट्री श्रेष्ठको निजी कारमा हालेर राधेराधे पु¥याउने, त्यस स्थानबाट भारतीय नागरिक कुमारलाई बुझाउने र कुमारले ललितपुरको धोवीघाटमा रहेको चौधरीको ग्यारेजमा पु¥याएर बिक्री गर्ने गरेको खुलासा भएको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

चोरिएको व्याट्री रु दुई हजारमा सापकोटाले श्रेष्ठलाई बिक्री गर्ने, श्रेष्ठले कुमारलाई र कुमारले चौधरीलाई सस्तोमा ब्याट्री बिक्री गर्ने गरेको पाइएको छ । चौधरीले भने खरीद गरिएका चोरीका ब्याट्री बिगारेर भारतीय बजारदेखि सम्बन्धित ब्याट्रीका कम्पनीसम्ममा कवाडीका रुपमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनममा उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेकाले भक्तपुर, मध्यपुरथिमि, राधेराधे, कौशलटार, बौद्ध, साँखु, थानकोट, चोभारलगायतका विभिन्न ठाउँबाट सङ्गठितरूपमा स्काइभेटर, टिपर, ट्रक, बसलगायतका सवारीसाधनबाट ब्याट्री चोरी गर्ने गरेको पाइएको छ । प्रहरीले सङ्गठितरूपमा चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दा दायर गरी आजै जिल्ला अदालतमा म्याद थप गरिएको जानकारी दिँदै चोरी कसुरमा बिगो बराबर जरिवाना र सात वर्ष कैद सजाय हुने ऐनमा व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here