मिटर ब्याज, आत्महत्या र बिस्थापित


काठमाडौं । सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौं रकम ठगी गरेको पाइएको छ। तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो। कलवारले करिब ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेका छन्।

स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन्। कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोडबराबर पुगिसकेको छ। ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरू बताउँछन्। उनीहरूका अनुसार सोही ऋणकै कारण लालबन्दी नगरपालिका–३ की दुर्गादेवी चौधरीले आत्महत्या नै गरिन्। राजवीर चौधरी र सावित्री कापर पनि सोही कारणले मृत्युवरण गर्न बाध्य भए। पीडित परिवार समस्या बोकेर काठमाडौं आएपछि सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरूलाई न्याय दिलाउन सक्रिय भएका छन्। ‘सरकार र कानुन हुँदा पनि मिटर ब्याज चलेको छ। एउटा व्यक्तिको आतंकले ३ सय घरपरिवार विस्थापित हुने अवस्था आएको छ। यो भन्दा अन्याय के हुन्छ ?’ प्रवक्ता श्रेष्ठले भने।

पीडितमध्ये विष्णुदेवी चौधरीले भनिन्, ‘मैले तीन वर्षअघि १ लाख मात्र ऋण लिएकी हुँ तर ५ लाखको कागज गराएको रहेछ। त्यतिले नपुगेर १४ वर्षीय छोरा हेम चौधरीका नाममा २० लाखको कागज बनाएर आदलतमा मुद्दा हालिएको छ। ’ गाउँमा हरेक कामका लागि साहुकै भर पर्ने सर्लाहीका मलंगवा, लालबन्दी, पोखरिया, असलमा, बयलवास, हरीपुर र नवलपुरका करिब ३ सय परिवारमा अहिले स्थानीय साहु कलवारकोे ऋण आतंक फैलिएको छ। स्थानीय कमल बरालका अनुसार जति ऋण दिइयो त्यसमा १० औं गुणा जोडेर आंैठाछाप गर्न लगाई गरिब र निमुखामाथि थिचोमिचो गरिएको छ।

कलवारसँग लालबन्दी–१ की फाद्मा खातुनले ७७ हजार ऋण लिएकी थिइन्। उनले १ लाख मागे पनि लेखनदास खर्च भन्दै २३ हजार कटाएर ७७ हजार मात्रै दिएका थिए। तर सो पैसाको ब्याज बुझाउन जाँदा दुई छोरा परवेज अन्सारी र अफ्रोज अन्सारीका नाममा ४/४ लाखको र आफ्नो नाममा ४ लाख गरी १२ लाखको कागज बनाई कलवारले आदलतमा मुद्दा हालेको उनले बताइन्। ‘सुरुमै मेरा नाममा ४ लाखको कागज बनाइएको रहेछ। त्यसपछि छोराहरूका नाममा ८ लाखको कागज बनाएछन्,’ उनले भनिन्, ‘तेस्रोपटक ब्याज बुझाउन छोरालाई पठाउँदा कलवारले आमामार्फत नै बुझ्छु भनेर फर्काएका थिए। ’ ब्याज बुझाउन जाँदा आफूमाथि यौन दुव्र्यवहार भएको र अहिले सिंगै परिवार त्यहाँ बस्ने अवस्था नरहेको उनले बताइन्। प्रहरी प्रशासनसमेत कलवारसँग मिलेको उनले आरोप लगाइन्।

सर्लाही हरिपुरकी रिनादेवी साहले दुई वर्षअघि पतिलाई विदेश पठाउन कलवारसँग ५० हजार ऋण लिएकी थिइन्। २५ सय सुरुमै कटाएपछि ४७ हजार ५ सय रुपैयाँ मात्रै पाइन्। तर ५ लाखको कागजमा औंठा छाप गराइएको रहेछ। ब्याज बढ्दै गएको भनेर कलवारले १० धुर घरबारी बेच्न लगाएर ४ लाख ५० हजार रुपैयाँ असुलेको र ऋण लिँदा गरेको कागज माग्दा १२ वर्षीया छोरी दिने भए कागज च्यातिदिन्छु भनेको उनले बताइन्। तर त्यस्तो काम गर्न नसक्ने भन्दा थप ३० लाखको कागज बनाइदिएर अदालतमा मुद्दा हालेको उनको भनाइ छ। कलवारले सासू, जेठाजु, दिदी सबैलाई कागज गराएर ९० लाखको ऋण बोकाएको उनी बताउँछिन्। ‘परिवारका सबैका नाममा बनाइएको ९० लाखको कागजका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। कहाँ जाने ? के गर्ने ? जायजेथा सबै बेच्दा पनि तिर्न पुग्दैन,’ उनले भनिन्।

सोही ठाउँकी सावित्री कापरले २ लाख रुपैयाँ ऋण लिइन्। पछि उनले १ धुर जग्गा बेचेर १ लाख ६० हजार तिरिसकेकी थिइन्। एक्कासि जिल्ला अदालतबाट २४ लाख तिर्नुपर्ने भन्दै पक्राउ पुर्जी आएपछि उनी अचम्मित भइन्। सोही ठाउँकी गिर्जादेवी चौधरीले छोरालाई मलेसिया पठाउन भनी १ लाख रुपैयाँ ऋण लिएको तर एक वर्षमै १५ लाख पुगेको भन्दै उनका नाममा कलवारले मुद्दा हालेका छन्। लिएको भन्दा लाखौं रुपैयाँ बढी ऋणको कागजमा हस्ताक्षर गरेकै कारण सर्लाहीका कल्पनाथ चौधरी अहिले जेलमा छन्।

५० हजार लिएका उनलाई १० लाखको कागज बनाएर मुद्दा हालिएको थियो। अहिले कागजी रूपमा कल्पनाथले दिनुपर्ने रकम ३० लाख पुगेको छ। सर्लाहीकै ६५ वर्षीय राजबिन चौधरीको कथा पनि उस्तै छ। उनले घर खर्चका लागि भन्दै एक वर्षअघि १ लाख लिएका थिए तर अहिले त्यो बढेर ५ लाख पुगेको छ। रकम नतिरेपछि लागेको मुद्दामा उनी पनि जेलमै छन्। पीडितहरूका अनुसार कलवारले हरेक ऋणीलाई बन्दुक देखाएर कागजमा सही गराउने गरेका छन्। ‘ऋण दिन्छन् र गोली देखाएर जबर्जस्ती धेरै ऋणको कागजमा औंठाछाप लगाउन दबाव दिन्छन्,’ पीडित रिनादेवीले भनिन्।

महिलालाइ ग्राहक बनाएर चर्को मिटर ब्याज असुली

एसएसपी उत्तमराज सुवेदी
म एसपी भएर सर्लाही बसेका बेला धेरै महिला श्यामकृष्ण कलवारबाट पीडित भएका रहेछन्। कलवारले गाउँका सोझा महिलाहरूलाई फसाएर एक लाख ऋण दिएर दसौं लाखको कागज बनाएको पाइयो। मैले पीडितहरूको कुरा सुनेर तीनचारपटक पक्राउ गरे। केही पीडितको कागज पनि च्यात्न लगाए। तर ऊ एकदमै बाठो छ। उसलाई केही राजनीतिक दलका नेताहरूको संरक्षण पनि छ। सुगर र प्रेसरको बिरामी छु भनेर झोलामा औषधि राखेको हुन्छ।

पक्राउ पर्दा उसले त्यो औषधि सेवन पनि गर्छ। त्यहाँको मिटर ब्याजी हो भन्ने थाहा पाएर पछिल्लोपटक पुनः पक्राउ गर्न खोज्दा ऊ भाग्यो। भारतमा धेरै समय लुकेर बसेको थियो। ल्याउन प्रयास गर्दागर्दै मेरो बढुवा भएर सरुवा भयो। त्यसपछि के भयो मैले थाहा पाइनँ। मैले थाह पाएसम्म त्यो मान्छे नामुद ठग हो। उसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।

मिटर ब्याजका कारण देश भरीमा कर्यौले अत्महत्या गरे भने कयौं बिस्थापित भए ।

साभार नागरिक

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here