गौतमबुद्ध विमानस्थलमा उडान अवतरणको तयारी

काठमाण्डौं । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ ।

हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौँमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक सुविधा दिने सरकारको तयारी छ ।

ओमनको वायु सेवा प्रदायक सलाम एयरको ‘जनरल सेल्स म्यानेजर’ समेत रहेको आइएमई समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँबाट उडान र अवतरण हुने वायु सेवा प्रदायक कम्पनीलाई भन्दा गौतमबुद्ध विमानस्थलबाट त्यस्तो सेवा दिने कम्पनीलाई थप केही सुविधा दिने बारेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्किङ, तथा उडान तथा अवतरणमा लाग्ने शुल्क केही कम गर्ने वा इन्धनसमेत सस्तोमा दिन केही गर्न सकिन्छ कि भनेर सरकारले आन्तरिक छलफल गरिरहेको छ ।” गौतमबुद्ध विमानस्थलाई केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने वातावरण मिलाउन नेपालमा उडान गरिरहेका वायु सेवा प्रदायक कम्पनी तथा नेपाल आउन चाहेका अन्य कम्पनीलाई समेत सरकारले आग्रह गरेको उहाँको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ५० लाख यात्रुलाई सेवा दिएको तथ्याङ्क पेश गर्दै मन्त्रीले यात्रुको सङ्ख्या वार्षिक सात प्रतिशतले बढिरहेकाले पनि त्यसलाई व्यवस्थापन गर्न थप विमानस्थल निर्माण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यस्तै पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि भौतिक निर्माण ४५ प्रतिशत माथि पुगेको छ । सन् २०२० को डिसेम्बरसम्म सो विमानस्थल निर्माण सम्पन्न हुन्छ भन्ने देखिएको छ ।” कार्यप्रगतिका आधारमा हेर्दा पोखरा क्षेत्रीय विमानस्थल तोकिएको समयभन्दा छ महीना पहिले नै निर्माण सम्पन्न हुने देखिएको छ । सो विमानस्थल सन् २०२१ को जुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनतालाई थप सेवा दिने र नेपाल आउन चाहने बौद्ध धर्मावलम्बीलाई पनि सहज यात्राको वातावरण तयार पार्ने मन्त्री भट्टराईको भनाइ छ । “विमानस्थलको प्रवद्र्धनका लागि सरकारले गर्न सक्ने जति सबै विषयलाई सम्बोधन गर्छ । मेरो आग्रह छ । अब गौतमबुद्ध विमानस्थललाई नै केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने योजना बनाउनुस”, मन्त्री भट्टराईले भन्नुभयो ।

चीन र भारतजस्ता छिमेकी देशका पर्यटकलाई केन्द्रमा मात्रै राख्ने हो भने पनि ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गर्दै उहाँले मध्यपूर्वका देशबाटसमेत गुणस्तरीय पर्यटक भित्र्याउन सरकारले पहल गरिरहेको बताउनुभयो । “मध्यपूर्वका देशका पर्यटक बिदा मनाउन युरोप तथा पश्चिमा मुलुकमा जाने गरेका छन् । उनीहरुलाई नेपाल भित्र्याउनेतर्फ हामी सबैको पहल र प्रयत्न जरुरी छ”, मन्त्री भट्टराईले भन्नुभयो, “नेपालले वैदेशिक रोजगारीका लागि नेपाली युवा पठाएका कम्पनीका प्रमुख व्यवस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च तहका कर्मचारीलाई समेत नेपालमा आउने वातावरण बनाउन यसअघि नै आग्रह गरिसकिएको छ ।”

सरकारले विभिन्न देशका रहेका नेपाली दूतावासलाई समेत नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि सबै प्रकारको गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिइसकिएको र आवश्यक तयारीसमेत भइसकेको उहाँको थप प्रष्टोक्ति थियो । मध्यपूर्वका पर्यटकलाई केन्द्रित गरेर विमानस्थलमा नै प्रार्थना कक्ष स्थापना गर्ने, होटल तथा रेष्टुराँमा पनि त्यस्तो सुविधा उपलब्ध गराइने र हलाल खानाको ‘मेन्यु’ समेत राख्न होटल व्यवसायीलाई आग्रह गरिएको मन्त्री भट्टराईको भनाइ छ । उहाँले बढीभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा प्रदायक कम्पनी, टुर एण्ड ट्राभल्सलाई समेत सम्मान गर्ने योजना अगाडि सारिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सलाम एयरका प्रतिनिधिले नेपालको प्राकृतिक सुन्दरता र मेहनती नेपालीको व्यवहारले आफूहरुलाई तानेको र दैनिक एक उडान गर्ने योजना बनाएको जानकारी दिएका थिए

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here