पहिलो पटक हिउँ चितुवाको गणना

काठमाडौँ । नेपालमा पहिलो पटक हिउँ चितुवाको गणना हुन थालेको छ । निकै दुर्लभ मानिएको हिउँ चितुवा विश्वका नेपाल, भारत, चीन, अफगानिस्तान, पाकिस्तान, काजिकिस्तान, किर्तिकिस्तान, तुर्किस्तान, इरान लगायत १२ वटा देशमा मात्र पाइने गरेको छ ।


नेपालमा हिउँ चितुवा पाइने तीन वटा ब्लक मध्य पश्चिमी ब्लक डोल्पादेखि दार्चुलाको अपिनाम्पा क्षेत्र मध्ये शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलो पटक क्यामरा ट्रयापिङ विधिबाट हिउँ चितुवाको गणना गरिन थालिएको हो ।

हिउँ चितुवा संरक्षण कार्ययोजना २०१७ –२०२१ अनुसार हिउँ चितुवाको गणना गरिन थालिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गोपाल खनालका अनुसार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यो विधिबाट गणना गर्नका लागि ३०० भन्दा बढी क्यामरा जडान गरिने भएका छन् । निकुञ्ज, मध्यवर्ती क्षेत्रका प्रशिक्षित स्थानीय बासिन्दा तथा अन्य प्राविधिक गरी ११६ जना व्यक्ति परिचालित हुने भएका छन् ।


सूचना अधिकारी गोपाल खनाल

सहायक संरक्षण अधिकृत खनालका अनुसार तीन हजार ५५५ वर्ग किलोमिटर निकुञ्जको र एक हजार २०० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रलाई समेटेर गणना कार्यका लागि क्यामरा जडान गर्ने कार्यक्रम रहेको छ । सो क्षेत्रलाई छ वटा ब्लकमा बिभाजन गरेर काम गरिने खनालले बताए ।

हिउँ चितुवाको निरन्तर ओहोरदोहोर हुने र बिचरण गर्ने क्षेत्रको पहिचान गरी डोल्फु, जगदुल्ला, फोक्सुण्डो तालवरीपरी, धो, भिजेर र सालदाङ क्षेत्रलाई छ वटा ब्लकमा विभाजन गरिएको छ ।
सहायकक संरक्षण अधिकृत खनालका अनुसार आउँदो हप्तादेखि क्यामरा जडान गर्ने कार्य सुरु गरिने छ र कम्तिमा दुई महिनासम्मका फिल्डमा क्यामरा राखेर खिचिएका फोटोको अध्ययन, विश्लेषण गरेर आउँदो सन् २०२० को फेब्रुअरी महिनासम्म नतिजा बाहिर ल्याउन सकिने गरी कामको योजना बनाइएको छ ।

यो कार्यका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले आर्थिक सहयोग गरेको छ । हिउँ चितुवाको गणनामा सहयोगीका रुपमा स्थानीय हिउँ चितुवा संरक्षण उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई तालिम प्रदान गरिएको छ । ती स्थानीय बासिन्दालाई ‘नागरिक बैज्ञानिक’ नाम दिइएको छ ।

हिमाली क्षेत्र सधैँ बाहिरका व्यक्ति गएर हिउँ चितुवाको अध्ययन, अनुसन्धान गर्न गाह्रो हुने भएकाले स्थानीय बासिन्दालाई हिउँ चितुवाको बारेमा तालिम दिँदा उनीहरुले निरन्तर रुपमा हिउँ चितुवाको यथार्थ सूचना लिन सक्ने भएकाले स्थानीय बासिन्दालाई तालिम प्रदान गरेर नागरिक बैज्ञानिक निर्माण गरिएको विभागले जनाएको छ ।

त्यसैगरी सोही क्षेत्रमा दुई वटा हिउँ चितुवालाई रेडियो कलर गर्ने कार्यक्रम पनि रहेको छ । हिउँ चितुवा पाउने पूर्व, मध्य र पश्चिम ब्लकमा गरी कुल १२ वटा हिउँ चितुवामा रेडियो कलर गर्ने योजना विभागले बनाएको छ ।

विभागका इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पहिलो चरणमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुई वटा र दोस्रो चरणमा थप दुई वटा हिउँ चितुवामा रेडियो कलर गरिने भएको छ बाँकी आठ वटा रेडियो कलर अन्य ब्लकमा गरिने योजना छ । यसअघि डब्लुडब्लुएफको सहयोगमा कञ्चनजंगामा पनि चार वटा हिउँ चितुवामा रेडियो कलर गरिएको थियो ।


शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण ९६,८६६ मि।०, सिकाल्पो खाङ ९६,५५६ मि।०, वेज चुचुरो ९७,१३९ मि।० जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ ।

गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू संचालन गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here