दाङ । वनजंगल बढी भएको जिल्लाहरु मध्य दाङ पनि एक हो । बाँके राष्ट्रिय निकुञ्जले छोएका, घना सामुदायिक वन रहेको यो जिल्लामा वन्यजन्तुको संख्या पनि पछिल्ला दिनमा उल्लेख्य रुपमा वृद्धि हुँदै गएका छन् ।
वन्यजन्तुको वृद्धि भएसँगै घाइते हुने वन्यजन्तुको संख्या पनि उत्तिकै वृद्धि भइरहेको छ । जिल्लामा वन्यजन्तुको उपचारका लागि न त दक्ष जनशक्ति छन् न त उपचार केन्द्र नै ।
घरपालुवा पशुवस्तुका उपचारका लागि जिल्लामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय रहेपनि वन्यजन्तु उपचारका लागि जिल्लामा कुनै निकाय नै छैन ।
डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार घाइते वा बिरामी भएका वन्यजन्तुको उपचारका लागि सम्बन्धित क्षेत्रबाट उद्धार गरी नजिकको राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । यसरी पठाइँदा कतिपय वन्यजन्तुको ज्यान जोखिममा पर्दै आएको छ ।
उनका अनुसार दाङ जिल्लामा प्राकृतिक तथा शिकारीका कारणले घाइते भएका वन्यजन्तुको उद्धार गर्न भ्याएपनि उपचार गर्न कि त चितवन कि त बाँके राष्ट्रिय निकुञ्ज पठाउनु पर्ने स्थिति रहेको छ ।