डा. खराल आज सचिवमा पदोन्नती हुँदै

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. दिपककुमार खराललाई आज सरकारले सचिवमा पदोन्नती गर्ने भएको छ ।

सोमबार दिउसो ४ बजेका लागि मन्त्रिपरिषदको बैठक डाकिएको छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद बैठकमा लोकसेवाको सिफारिस पुग्न नपुगेका कारण डा. खरालको पदोन्नतीको निर्णय हुन सकेको थिएन ।

यो पटक भने आयोगको सिफारिस मूख्यसचिवको सचिवालयमा पुगिसकेकाले आज बस्ने मन्त्रिपरिषदको बैठकले सचिवमा नियुक्ति गर्ने पक्कापक्की भएको छ । सोमबार डाकिएको बैठक कुनै कारणले स्थगित भएमा बुधबारको बैठकले खरालको निर्णय गर्ने नै छ ।

कृषि तथा वन समुहबाट डा. खराललाई सचिवमा बढुवाको लागि जेष्ठताका आधारमा लोकसेवा आयोगले सरकारलाई सिफारिस गरिसकेको छ । आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतमा बसेको बैठकले अघिल्लो हप्ता डा. खरालको नाउँ सिफारिस गरेको हो ।

मन्त्रिपरिषदका एक वरिष्ठ अधिकारीका अनुसार आजको बैठकमा वन तथा कृषि समुहका डा. खराल र प्रशासन समुहका डा. गोपीकृष्ण खनालको नाउँ सचिवका लागि एजेण्डामा समावेश गरिएको छ ।

हाल वन मन्त्रालयको रेड कार्यान्वयन केन्द्र प्रमुखको जिम्मेवारीमा रहेका खरालको सरकारी सेवामा प्रवेश २०५१ सालमा शाखा अधिकृत पदबाट भएको हो । तत्कालिन जल तथा ऊर्जा आयोगको सचिवालयबाट जागिर सुरु गरेका खरालले २०६० सालमा वन अनुसन्धान तथा सर्वेक्षण विभागमा उपसचिव पदमा पदोन्नती भएका थिए ।

२०७७ सालदेखि २०७८ सालसम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भएका खरालसँग सुदूरपश्चिम र गण्डकी प्रदेशका सचिवको अनुभव पनि रहेको छ ।

उपसचिव हुँदा अधिकांश समय वन अनुसन्धान तथा सर्वेक्षण विभागमा बसेका खरालले २०६५ सालदेखि २०६८ सालसम्म जल तथा ऊर्जा आयोगको सचिवालयमा बरिष्ठ ऊर्जा अधिकृत भएर पनि काम गरेका छन् ।

२०७० सालमा सहसचिव बढुवा भएपछि सोही विभागको उपमहानिर्देशक भएका खरालले पछि त्यही विभागको महानिर्देशक भएर बस्ने मौका पाएका थिए ।

२०७४ सालदेखि २०७६ सालसम्म दुई वर्ष वन अनुसन्धान विभागको महानिर्देशक भएका खरालसँग राष्ट्रपति चुरे विकास समितिको सदस्य सचिवको समेत अनुभव रहेको छ ।

२०४१ सालमा एसएलसी पास गरेका खरालले २०७३ सालमा जलवायु परिवर्तन र वनवृद्धिको अन्तरसम्बन्धका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएका छन् ।

२०४२ को वन क्याम्पस हेटौडाका ब्याची खराल आफ्नो ब्याचमा उपल्लो ओहोदामा पुग्न सफल व्यक्ति मानिन्छन् । उनका ब्याँची कतिपय व्यक्तिहरु अझै पनि सहायक वन अधिकृत वन पदमा कार्यरत रहेका छन् ।

ऊर्जा प्रविधि विकासमा एआइटी थाइल्याण्डबाट कोर्श पुरा गरेका खरालले नर्वेजियन जीव विज्ञानमा एमए पास गरेका हुन् ।

वल्ड इनर्जी काउन्सिल र इन्टरनेशल इनर्जी एजेन्सीमा कन्ट्री रिपोर्टर भएर काम गरेका खरालले एफएओ, यूनेस्क्याप, साइटिस, यूएन रेड लगायतका संस्थाका लागि कन्ट्री फोकल पर्सन भएर काम गरेको अनुभव छ । अध्यनशिल स्वभावका खरालले देशभित्रै र देश बाहिर थुप्रै कार्यक्रममा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गरेका छन् ।

विश्व ऊर्जा परिषदको सदस्य सचिव समेत भएका खरालसँग नेपालको वन, वनस्पति तथा ऊर्जा क्षेत्रका नीति निर्माण तहमा बसेर कार्य गरेको लामो अनुभव रहेको छ ।

यस अघि वन मन्त्रालयमा शाखा अधिकृत भएर काम सुरु गरेका केही सिमित अधिकृतहरु सचिव पदमा पुग्न सफल भएका छन् । ती मध्य खरालले पनि एक भाग्यमानी वन अधिकृत हुने मौका पाएका छन् ।

डा. खरालको सचिवमा पदोन्नतीसँगै वन समुहबाट हालका वन सचिव डा. पेमनारायण कँडेल सहित दुई जना सचिव हुनेछन् ।

यस अघि डा. उदयराज शर्मा, डा. स्वयम्भुमान अमात्य, डा. अन्नपूर्णनन्द दास, डा. विश्वनाथ ओली, डा. केपी आचार्य वन समुहबाट सचिव भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here