चुरे राष्ट्रको सम्पत्ती हो : डा. कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले चुरे राष्ट्रकै सम्पत्ती भएकाले यसको संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सोमवार राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिमा आयोजित कार्यक्रममा डा. कँडेलले भने, चुरे क्षेत्र तराई र चुरे भावरमा बस्ने मानिसका लागि मात्र होइन, सबै नेपालीका लागि उत्तिकै महत्वपूर्ण क्षेत्र हो । चुरे मासिए, देशलाई नै बर्बाद हुन्छ । चुरे जोगिए, सबैलाई राम्रो हुन्छ ।

राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिको गठन आदेश निर्माण गर्दाको स्मरण गर्दै डा. कँडेलले २०७१ साल असार २ गते स्थापना भएको विकास समितिको काम कारवाही र उपलब्धी बारे समिक्षा गर्नु पर्ने बेला भइसकेको धारणा राखे ।

यो अवधिको सिकाईका बारेमा बोल्दै सचिव डा. कँडेलले भने, चुरे संरक्षणका लागि व्यापक सहभागिताको खाँचो अनुभव भएको छ । हाल पाँच वटा इकाईबाट कार्यक्रम कार्यान्वयन भएको बेला थप इकाई बिस्तार गर्न आवश्यक देखिएको छ ।

सचिव डा. कँडेलले भने, चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना नै ‘बेद’ हो । गुरुयोजना अनुसार संगठन विस्तार र कार्यशैली परिवर्तन जरुरी छ ।

कार्यक्रममा विकास समितिका अध्यक्ष डा. किरण पौडेलले चुरे संरक्षणका लागि पछिल्ला दिनमा राष्ट्रव्यापी एक मत सिर्जना भएकोले चुरे संरक्षणको चाँसो, चिन्ता अनुसार समितिले आगामी दिनमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले विगतमा चुरे र भावर क्षेत्रमा बढी काम भएकोले आउँदा दिनमा चुरेको उपल्लो क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी भएको धारणा राखे ।

समितिका सदस्य कमला ओली शिबाकोटीले चुरे नेपालको विकासको आधारशिला भएको धारणा व्यक्त गरिन् ।

एक थुकि सुकी, सय थुकि नदी भने झैँ चुरेको संरक्षण एक संस्थाले मात्र गर्न नसक्ने विषय भएकोले सबै सरोकारवाला निकाय, समुदाय तथा व्यक्तिको सक्रिय सहभागिताले मात्र चुरेको वास्तविक संरक्षण गर्न सकिने शिबाकोटीले भनाई राखिन् ।

कार्यक्रममा समितिका सदस्य सचिव डा. कृष्णप्रसाद आचार्यले समितिले हालसम्म गरेका काम तथा उपलब्धी बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here