संरक्षणकर्मीका लागि विशेष प्याकेज ल्याउनुपर्छ

रमेशकुमार थापा

कोरोना भाइरस नामको महामारीका कारण विश्वका सबै मुलुकहरु आक्रान्त बनेका छन् । जीवन रक्षाका लागि मानवीय सतर्कता बाहेक अन्य उपचार नभएकोले दुनियाँ नै आफुलाई घरभित्र कैद गरेर राख्न बाध्य भएका छन् । अवस्था यस्तो बिकराल छ कि आफुले आफुसंँगै डराउनु पर्ने, परिवारसँग तर्सिनु पर्ने र आफैले आफैलाई बिश्वास गर्न नसक्ने स्थिति पैदा भएको छ ।

घर भित्रै बस्दा पनि अमन चयनका साथ बस्ने सक्ने अवस्था छैन । आफैले गरेका काम प्रति पनि शंका लाग्न थालेको छ । कहिं कतै केही असावधानी पो भयो कि ? केही बिग्री पो हाल्ने हो कि ? भन्ने भय र त्रासमा आम नागरिकको दैनिकी चलिरहेको छ । ब्यापार, व्यवसाय, अध्ययन, अध्यापन, खेतिपाती बालीनाली र धन सम्पत्तिको रखबाली समेत छोडेर आफ्नो जीवन जोगाउने उपाय मात्र खोज्न बाध्य भएको छ पूरै दुनियाँ ।

हुन त केही नहोला यद्धपी घर भित्र बसेका मानिसहरुका लागि बिस्तारै खाना र औषधिको चिन्ता थपिन थालेको छ । घर बाहिर रहेका मानिसहरुलाई गास, बास, सुरक्षा र आफ्नो परिवारको सुर्ताले सताउन थालेको छ । जहान परिवारको भोको पेट भर्न र नाङ्गो शरिर ढाक्नका लागि ज्याला मजदुरी गरेर गुजारा गर्न बाध्य मजदुरहरु देशका बिभिन्न भागमा छटपटाइरहेका छन् । रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु सिमानामा आएर नेपालको भूमि नियाल्दै पारीपट्टीको क्वारेन्टिनमा सकसपूर्ण जीवन बिताइउन बाध्य भएका छन् । समुन्द्रपारी रहेका कति नेपालीको ज्यान गुमाइसकेका छन् भने जीउँदा हुनेहरुको रोजगारी गुमेको छ । अर्काका मुलुकमा हात पाखुरा चले खान पाइने, नचले रोगले होइन, भोकले मर्नुपर्ने अवस्थाका नजिक नजिक पुग्न थालेका कुरा बिभिन्न सञ्चारमाध्याम मार्फत सुनिन थालेका छन् ।

एउटा सुखद कुरो के हो भने हाल वन तथा वातावरण मन्त्रालयका सचिव देखि राष्ट्रिय निकुञ्ज बिभागका महानिर्देशकसम्म रेञ्जर पृष्ठभूमिबाट नै आएको व्यक्तित्व हुनुहुन्छ ।

मानव सभ्यताको इतिहासमा अहिले देखिएको यो महामारी बिरुद्धको लडाईमा सबै मुलुक, मुलुक भित्रका नागरिकले आआफ्नो तरिकाले डटेर सामना गर्नु परिरहेको छ । विशेष गरी डाक्टर, नर्स, सुरक्षाकर्मी, सफाईकर्मी, औषधि व्यवसायी, सञ्चारकर्मीहरु अग्रमोर्चामा अहोरात्र खटेर आआफ्नो पेशागत योगदान गरिरहेका छन् । कतिपय सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीहरु घरमा नै बसेर आफ्नो जिम्मेवारी बहन गरिरहेका छन् । यी सबै भन्दा पृथक एउटा यस्तो जनशक्ति छ, जो आफ्नो जीवनलाई जोखिममा राखेर वन, वन्यजन्तु र प्रकृति संरक्षणको काममा अहोरात्र खटिरहेको छ ।

नेपालमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणमा काम गर्ने संरक्षणकर्मीहरु अहिले चोरीशिकारी र वन तस्कर विरुद्धको लडाईमा अहोरात्र फिल्डमा खटिएर काम गरिरहेका छन् । देशमा लकडाउन शुरु भए यता सज्जन नागरिक आ आफ्नो घरभित्र बसेर महामारी नियन्त्रणमा राज्यलाई सहयोग गरिरहेका छन् भने तर यो बिषम परिस्थितिमा फाइदा उठाउने प्रवृतिका व्यक्तिहरु वन्यजन्तु मार्ने र काठ तस्करी गर्ने कुकर्मका पछाडी दगुरिरहेका छन् ।

देशमा लकडाउन शुरु भए यता कतिपय ठाउँमा तस्करहरुले वन सखाप पार्ने वन्यजन्तुको शिकार गर्ने जस्ता अपराध मात्रै नभएर संरक्षणकर्मी माथि गोली प्रहार गर्ने सम्मका हर्कत गरेका छन् । यो अबधिमा संरक्षणकर्मीहरुले ठूलो संख्यामा चोरीशिकारी र वनतस्करलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएका छन् । देशभर संकट घोषणा भइरहेका बेला नेपालका संरक्षणकर्मीहरुले देखाएको इमान्दारीताको कदर गर्नै पर्ने बेला भएको छ ।

यो महामारीबाट बच्न अरुको नजिक नजाने ( सोसियल डिस्ट्यान्सिङमा बस्ने), पटक पटक साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क र पञ्जा प्रयोग गर्ने आदी इत्यादी भनिएको छ । तर फिल्डमा रहेर दिनरात जंगलमा गस्ती अनि गाउँ वस्ती घरभित्र गएर खानतलासी गर्ने संरक्षणकर्मीले कसरी महामारीबाट जीवन सुरक्षित राख्ने ? एउटा ठूलो चुनौती खडा भएको छ ।

जीवन त सबैका लागि उत्तिकै प्यारो हुन्छ नै । जंगलमा फेला परेका अपराधी पक्राउ गर्नै प¥यो, शिकारीले मारेका वन्यजन्तु प्रयोग गरेका हतियार, सवारी साधन र बन्दोबस्तीका सामान बरामद गर्नै प¥यो, पक्राउ परेका अपराधलाई थुनामा राख्नै प¥यो । यस्तो अवस्थामा फिल्डमा खटिने संरक्षणकर्मी संक्रमणबाट सुरक्षित रहन सक्छन त ? यसको सहज जवाफ छ, सुरक्षित हुन सक्दैनन्, कर्मचारी सुरक्षित छैनन् ।

अशुरक्षित हुने डरले संरक्षणकर्मीले पनि मैदान खाली गरिदिने हो भने नेपालको संरक्षणको अवस्था कहाँ पुग्छ ? वनजंगलमा त्यति बेला कस्को राज हुन्छ ? यही कुरालाई मनन गरेर आज नेपालका संरक्षणकर्मीहरुले आफ्नो धर्म छाडेका छैनन् । आफ्नो कार्यक्षेत्रमा गद्धार गरेका छैनन् र त एकै दिनमा दर्जनौँ अपराधीहरुको हातमा नेल लाग्न थालेका छन् र न्यायिक हिराशतमा जाने गरेका छन् ।

यो बिकराल अवस्थामा पनि फिल्डमा खटिएका संरक्षणकर्मीहरुले आफ्नो दायित्व र कर्तब्य निर्वाह गर्न कहिंकतै चुकेका छैनन् । फिल्डमा खटिने कर्मचारीको समर्पण र योगदानको फलस्वरुप बाघ, गैंडा, हात्ती जस्ता ठूला वन्यजन्तुको चोरीशिकार हुन पाएको छैन । मृग, बदेल, जरायो, खरायोको शिकार गर्ने र काठ तस्करी गर्ने अपराधीहरु पनि पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सफलता मिलेको छ । फिल्डमा अहोरात्र ज्यानको जोखिम मोलेर काम गर्ने संरक्षणकर्मीका लागि नेपाल सरकारको तालुक निकायबाट मानवीय हिसाबले गम्भिरतापूर्वक सोच्नुपर्छ, हेर्नुपर्छ, कर्मचारीको पीडामा मलम लगाउन सक्नुपर्छ । यद्धपी त्यो कुरा अहिलेसम्म कहिकतै भएको देखिदैन । यो गम्भीर विषय हो, दुःखद विषय हो ।

यस्तो महामारीमा जोखिम मोलेर फिल्डमा खटिने संरक्षणकर्मीका लागि आवश्यकता अनुसार पिपिइ, मास्क, पञ्जा र स्यानिटाइजर उपलब्ध गराउन आवश्यक छ । हाल नेपालका प्रायः सबै संरक्षित क्षेत्रहरुमा रेञ्जर पदबाट जागिर खाएका, खारिएका र अनुभवी प्रमुख संरक्षण अधिकृतहरु हुनुहुन्छ । सायद त्यही भएर नै होला, माथिल्लो निकायले खासै सहयोग नगरेपनि जसोतसो हिसाबले प्रभावकारी व्यवस्थापन गरि रहनुभएको छ ।

एउटा सुखद कुरो के हो भने हाल वन तथा वातावरण मन्त्रालयका सचिव देखि राष्ट्रिय निकुञ्ज बिभागका महानिर्देशकसम्म रेञ्जर पृष्ठभूमिबाट नै आएको व्यक्तित्व हुनुहुन्छ । जसले मन्त्रालय र विभागको नेतृत्व समाल्नुभएको छ । उहाँहरुले फिल्डका समस्या, चुनौती र यथार्थतसँग चिरपरिचित हुनुहुन्छ । यस्तो जटिल अवस्थामा समय फिल्डमा खटिएका संरक्षणकर्मीको जोश, जाँगर र हौशला अभिवृद्धि हुने खालका योजना तथा कार्यक्रम लागु गर्ने अत्यन्त अनुकुल समय हो । यसका लागि उहाँहरुको ध्यान जाओस भन्ने कामना पनि छ । नेपाल प्रहरी, स्वास्थ्यकर्मीका लागि सरकारले विशेष व्यवस्था लागु गरेको छ । यस्तो बेला संरक्षणकर्मी पनि अहोरात्र खटेको छन् भने किन विभेद गर्ने ? विषम परिस्थितिमा पनि राज्यले दिएको जिम्मेवारी सहज रुपमा निर्वाह गर्ने कर्मचारीको मनोवल बढाउनु नै असल राज्य संयन्त्रको प्रमुख कार्यभार पनि हो ।

यो अवस्थामा पनि फिल्डमा खटिने संरक्षणकर्मीको मनोबल उच्च बनाउनु जरुरी छ । त्यसका लागि मुखले सान्तवना दिएर होइन, व्यवहारमा ती योजनाहरु तत्काल लागु हुनु पर्छ । आज औद्योगिक प्रतिष्ठान धरासायी भइसकेका छन्, व्यापार व्यवसाय ठप्प छन् तर पनि नेपालको संरक्षण अभियान जारी नै रहेको छ । यो अभियान जारी राख्नका लागि संरक्षणकर्मी लक्षित कार्यक्रम आउन सकेन भने यो संरक्षणकर्मीहरुका मात्र होइन, समग्र नेपालका संरक्षण क्षेत्रको विकास लागि नै दुर्भाग्य हुनेछ ।

संरक्षणको काममा समर्पित सबै तह र तप्काका कर्मचारीको मनोबल बढाउन सकेनौँ भने भोलीका दिनमा पछुताए अहिले भएको नोक्सानीको क्षतिपूर्ति फिर्ता गर्न नसकिने कुरा प्रति पनि जिम्मेवार निकाय र पदाधिकारी सम्वेदनशिल हुनु जरुरी छ । फिल्डमा खटिने संरक्षणकर्मीको मनोबल बढाउन भन्ने विषयमा यी कुराहरु तत्काल गर्न आवश्यक देखिएका छन् ।

१. फिल्डमा काम गर्ने कर्मचारीका लागि अत्यावाश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री पीपीई, मास्क, स्यानिटाइजर तथा पञ्जाको व्यवस्था गर्नुपर्छ ।

२. लकडाउन वबधिभर काम गर्ने संरक्षणकर्मीका लागि बिशेष भत्ताको व्यवस्था गर्नुपर्छ ।

३. कोरोना भाइरसका कारण संरक्षणकर्मीको मृत्यु भएका रु.२५ लाख राहत उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ ।

४. गस्तीमा ड्रोनको व्यापक प्रयोग गर्ने र ड्रोन नभएका ठाउमा ड्रोन र आवश्यक उपकरण उपलब्ध गराउनुपर्छ ।

(रमेश कुमार थापा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व चिफ वार्डेन हुन् )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here