शिकारी पक्रिन सजिलो, म्याद थप्न गाह्रो

काठमाडौँ । मंगलबार बन्दुक पड्काउन तयारीमा रहेका शिकारीलाई ज्यानको बाजी थापेर नियन्त्रणमा लियो, डिभिजन वन कार्यालय दाङले । बुधवार म्याद थपका लागि अदालतमा उपस्थित गराउन खोज्दा कोरोना परीक्षण विना अदालतमा उपस्थित नगर्न भनियो । दाङको बिजौरीस्थित अस्पतालमा कोरोना परीक्षणका लागि लगियो, ज्वरो नआएको व्यक्तिको कोरोना परीक्षण गर्न नमिल्ने भनियो । अब के गर्ने ?

मोटरसाइकिलमा भरुवा बन्दुक पछाडी भिरेर फिल्मी स्टायलमा हिडेको शिकारी समुह सामुदायिक वन भित्र पसेको सूचना डिभिजन वन कार्यालय दाङमा कसैले गरिदिएपछि तत्काल शसक्त टोली सहित जंगलतिर पठाए, डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले ।

दिपक ज्ञवाली, डिभिजनल वन अधिकृत, दाङ

दाङ जिल्लाको हापुरे नजिकैको शान्तिनगर गाउँपालिका स्थितको बाक्लो हात्तीखाल सामुदायिक वनभित्र शिकारीलाई चारैतिर घेरा हालेर पक्राउ गरियो । चार वटा मोटरसाइकिल जंगलको बीचमा राखेर वन्यजन्तुलाई ताकि राखेको बेला चौतर्फी घेरा हाल्न सफल वन कार्यालयको टोलीले समेत नसक्ने भएपछि नजिकैको प्रहरीको समेत सहयोग मागेको र पक्राउ गरेको कुरा स्वयम् प्रहरीलाई नै थाहा छ ।

तर पनि बुधबार शिकारीको म्याद थप हुने वा नहुने कुनै टुंगो छैन । म्याद थप्ने प्रक्रियाका लागि आफू लागिरहेको डिभिजनल वन अधिकृत ज्ञवालीले बुधबार नेपालकथालाई बताए । उनले भने, फायर खोल्ने आँटेको शिकारीलाई घेरा हालेर नजिकैको प्रहरीको थप सहयोगमा पक्रन सफल हुँदा समेत म्याद थपका बिभिन्न बहानाबाजी भइरहेका छन् । हेरौँ आज नभएपनि भोलीसम्म लागेर म्याद थप्नै पर्यो नि ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन ।

शिकारी सहित सामुदायिक वनभित्र पक्राउ परेको मोटरसाइकिल

उनीहरुले शिकार गर्नका लागि जंगलसम्म प्रयोग गरेका बा ६२ प ६४२९, रा ५ प १४६१, रा ३ प ४२९१ र रा ४ प ४४३७ नम्वरको चारवटा मोटरसाईकल बरामद भएका छन् । बडो अचम्मको कुरो त के छ भने शिकारीले प्रयोग गरेको रा ३ प ४२९१ नम्वरको मोटरसाईकलमा प्रेस लेखेको कागज अगाडि टाँसिएको थियो ।

वन अधिकृत ज्ञवालीले भने, काठ चोरलाई समात्न सजिलो छ, शिकारीलाई समात्न आफ्नो ज्यान पनि हत्केलामा राखेर काम गर्नुपर्छ । यस्तो विषम परिस्थितिमा पनि हाम्रा स्टाफहरुले मिहिनेत गरेर काम गर्छन् तर अन्य निकायले सहयोग नगर्दा साह्रै खिन्न मन हुन्छ ।

अब के गर्नुहुन्छ त ? नेपालकथाको प्रश्नमा ज्ञवालीले भने, हेरौँ आज म्याद थप्न सकिएन भने भोली भए नि कारवाही प्रक्रिया अगाडि बढाउनै पर्छ ।

बिडम्बनाको कुरो के छ भने पक्राउ पर्ने बित्तिकै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा रहेको सबैले शिकारीहरु निर्दोष व्यक्ति भएको भन्दै छुटाउन दवाव दिइरहेका छन् । कुनै सरकार पनि बाँकी रहेको छैन, बन्दुकधारी शिकारीलाई निर्दाेष हुन भन्नलाई ।

गाउँबस्ती र हिडडुल गर्ने बाटोभन्दा छ किलोमिटर जति भित्र जंगलमा मोटरसाइकिल लिएर भरुवा नाल बन्दुक र गोली सहित भेटिएका मान्छे निर्दाेष हुन भन्ने राजनीतिक नेतृत्वले कसरी संरक्षणका लागि रातदिन खट्ने कर्मचारीको चित्त बुझिएला ?

डिभिजन वन कार्यालय दाङका एक कर्मचारीले सुनाए, प्रदेश सरकारमा रहेका एक जना महानुभावले त ती व्यक्ति गर्मी भएर चिसो हावा खान जंगलतिर गएकाले मोटरसाइकिलसम्म छोडि दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here