म्याग्दी । बाह्य समाजले म्याग्दीका हरेक गाउँलाई लाहुरेको गाउँ भनेर चिन्ने गरिन्छ । तर म्याग्दीका सबै गाउँका मानिस लाहुर जाँदैनन् । आफ्नो गाउँ ठाउँमा केही गर्ने किसान पनि यहाँ रहेका छन् । ती किसानले आफ्नो किसानी पेशालाई अझै पनि छाडेका छैनन् ।
वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ ।
खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम गर्ने मान्छे छैनन् । खेताला पाइन छाडे । खेती लगाएर लगानी पनि नउठ्ने भएकाले बाझै छोड्ने सोच बनाएको खेतमा केरा लगाएकी थिएँ’, घिमिरेले भन्नुभयो, “अन्नबालीको वर्षभरीको आम्दानी केराले दुई महीनामै उठायो ।”
अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको कृषक क्षेत्री बताउँनुुहुन्छ । घिमिरे र क्षेत्री जस्तै डेढसय घरधुरीको बसोवास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् ।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगँैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक सोवित शर्माले बताउनुभयो ।

करीब ५० जनाले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश÷पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । मानबहादुर थापा, हीरा कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा भित्र्याउनु भएको थियो । ‘‘परीक्षण सफल भएपछि केराखेतीले विस्तारै तीव्रता पाएको हो’’, कुँवरले भन्नुभयो, “यसअघि घरायसी उपभोगका लागि बाइसे, मुङ्ग्रे, धुर्से जातको लगाउने गरेपनि बिक्री गर्ने चलन थिएन ।”
केरा बेचेर मासिक रु ३० हजार आम्दानी हुने कुँवरले बताउनुभयो । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी श्रीलाल सापकोटाले बताउनुभयो । खबराको केरा बेनीमा खपत हुन्छ ।
दैनिक पाँच भारिका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषक रुपा सापकोटाले बताउनुभयो ।
बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित खबराको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । खबरामा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारी श्रीकृष्ण सुवेदीले बताउनुभयो ।
बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु तीन लाख विनियोजन भएको छ ।