काठमाडौँ । सोमवार नेपाल बन्दको घोषणा गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समुहका कार्यकर्ता बम सहित पक्राउ परेका छन् । ती कार्यकर्तालाई नसमातिएको भए सोमवारको बन्द झन हिंसात्मक हुन सक्ने अनुमान प्रहरीले गरेको छ । तर उपत्यकालाई केन्द्रीत बनाएर बम तयारी अवस्थामा रहेका कार्यकर्तालाई पक्राउ गरेपछि हुन सक्ने सम्भावित घटना टरेको प्रहरीको दावी छ ।
दिउँसो बम बिष्फोटन पछि उपत्यका लगायत देशका प्रमुख स्थानको सुरक्षा सतर्कता अपनाइएको गृह मन्त्रालयले जनाएको छ । उपत्यकाका बिभिन्न स्थानबाट सात जना कार्यकर्ता पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ छन् ।
पक्राउ पर्नेमा ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेकाको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाएको छ ।
आइतवार दिउँसो राजधानीको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।
सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सो घटनामा परेको व्यक्तिको शरिर क्षतविक्षत अवस्थामा फेला परेको थियो । सो घटनामा परेका व्यक्तिको राती १० बजेसम्म सनाखत भइ नसकेको प्रहरीले जनाएको छ । यसैबीच ललितपुरको लगनखेलमा प्रेसर कुकर बम फेला परेको छ ।
लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । सो क्षेत्रलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घेरा हालिसकेको छ । बमलाई विष्फोटन गराउने कोशिस भइरहेको बताइएको छ ।
बम डिष्फोजल टोली सहितको फोटो फिचर






