काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज आजबाट ५० वर्षमा पाइला टेकेको छ ।
२०३० साल असोज ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी चितवन राष्ट्रिय निकुञ्जको औपचारिक स्थापना भएको हो । निकुञ्जले आफ्नो उमेर ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवको आयोजना गर्न थालेको छ ।
गैँडा संरक्षण गर्न बीसको दशकमा गैँडा गस्ती सुरुवात भएसँगै गैँडा, बाघ र हात्ती संरक्षण गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो ।
विशेष गरी गैँडाको चोरी शिकार बढेपछि पूर्व शैनिक तथा प्रहरीलाई गैँडा गस्ती अभियानमा लगाइएको थियो । सो अभियानले पनि गैँडा संरक्षणमा प्रभावकारीता नदेखिएपछि निकुञ्ज स्थापनाको आवश्यकता महसुस भएको थियो ।
महेन्द्र मृग कुञ्जको स्थापना, महेन्द्र प्रकृति संरक्षण कोषको स्थापना, टाइगर इकोलोजी प्रोजेक्ट लगायतका महत्वपूर्ण घटना चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । नेपालको संरक्षण इतिहासमा चिवतन राष्ट्रिय निकुञ्जको योगदान र गरिएका प्रयास नेपालको लागि मात्र नभई विश्व संरक्षणका लागि उदाहरणीय बन्दै आएका छन् ।
स्वर्ण महोत्सवका अवसरमा चितवनमा विशेष कार्यक्रमको आयोजना गरिने जानकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले दिए ।
उनका अनुसार वन तथा वातावरण मन्त्रालय, निकुञ्ज विभाग, संरक्षण साझेदार संस्था तथा स्थानीय समुदायको सहभागिता रहने सो कार्यक्रममा हाल चिवतनमा देखिएका समस्या तथा चुनौतीलाई भावी दिनमा कसरी चिर्न सकिन्छ भन्ने विषयमा मन्थन हुने छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राष्ट्रिय संरक्षण दिवसका अवसर पारेर यही असोज ७ गते विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।
सो अवसरमा चिवतनमा स्वर्णमहोत्सव स्तम्भको उद्घाटन र चितवन संरक्षण स्मारिका लोकार्पण गरिने कार्यक्रम रहेको छ ।
स्वर्ण महोत्सवका अवसरमा निकुञ्जले वर्षभरी संरक्षण सम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको आचार्यले बताए ।