आहा ! बर्दियाका गैँडा

बर्दिया । मौसम त्यत्ति गर्मी छैन । छेउमै बग्ने कर्णालीको चिसो बतासले शितलता प्रदान गरिरहेको छ । प्रि मनसुन सुरु हुन लागेकाले होला, केही दिन देखि आकाशमा बादलले घेरा छोडेको छैन । जसले गर्दा धर्तिमा बस्ने सबै चराचरका लागि धुपले पसिना बगाउन सकेको छैन ।

पानीका छिटा साँझ बिहान बिराएर आकाशबाट झर्न थालेका छन् । जंगलभित्र बोटबिरुवाले पालुवाको मुना हालिसकेको छ । अस्ति माघ, फागुनतिर जिरिङ देखिएका रुख बिरुवा बिस्तारै काँचुली फेरिरहेका छन् ।

रुखका हाँगाबिगामा चराको आवाज र भूईमा बाघ, हात्ती र गैँडाको हिडाईमा कहिले बाँदर कराउन्छन् त कहिले चित्तलका बथान ज्यान बचाउने दौड प्रतियोगितामा व्यस्त देखिन्छन् । अलि पर …जंगलभित्र रुखबाट पात खसेको पनि आवाज पनि सुनिन्छ । कर्णालीको भँगालो मोडिदा पानी सुसाएको टाढै थाहा लाग्छ । गस्तीमा गइरहेका बेला… ऊ बाँदर करायो, सर ..यतै कतै बाघ छ कि क्या हो ? गाडी गुरुजीले बात मार्छन्, जता हेर्यो, उतै फुत्त फुत्त साना साना वन्यजन्तुको हुल बगाल त, कति हुन कति ।

बेला लकडाउनको छ । निकुञ्जका बीच भएर सुतेको पूर्व पश्चिम राजमार्गमा गाडी घोडा ठप्प जस्तै छन् । यही समयलाई सदुपयोग गर्न बर्दिया राष्ट्रिय निकुञ्जले ठूला वन्यजन्तुको आन्तरिक अनुगमनका कार्यलाई अगाडि बढाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बिहीवार नेपालकथासँग भने, लकडाउनका बेला गस्ती नि हुने, वन्यजन्तुको अनुगमन पनि हुने भएकाले यी दुबै काम एकसाथ गरिरहेका छौँ ।

उनका अनुसार जंगलभित्र मानिसहरुको आवत जावत नभएर हो कि ? वन्यजन्तु बिना डरत्रास आनन्द लिइरहेका देखिन्छन् । विगतमा निकुञ्जमा पर्यटकका आवतजावतले अलि हतासमा देखिन वन्यजन्तु यो बेला निस्फ्रिकी गस्तीलाई हेर्छन् । सायद चिन्छन् होला अनि आफ्नै धुनमा पो हुन्छन्, जंगल गस्तीको अुनभव यसरी सुनाउन्छन् प्रमुख संरक्षण अधिकृत बराल ।

वन्यजन्तु अनुगमनका क्रममा एकै दिन तीन पटक फरक फरक बाघ देखेका बरालले नेपालकथासँग भने, हात्ती, बाघ र गैँडा ठाउँ ठाउँमा देखिन थालेका छन् । पछिल्लो समयमा ठूला वन्यजन्तुको चोरीशिकार बर्दियामा भएको छैन । उनले भने, साना वन्यजन्तु चित्तल, बँदेलको फाट्टफुट्ट भएको छ । साना वन्यजन्तु कहिलेकाँही बस्तीतिर जाँदा समेत कुकुर तथा मानिसले लखेटेर मार्ने गरेका छन् । निकुञ्जभित्र पसेर मारेका घटना त छैनन् ।

अघिल्लो गणनामा बर्दियामा २९ वटा गैँडा रेकर्ड गरिएका हुन् । पछिल्लो पटक आठ वटा गैँडा चितवनबाट थपिएका छन् । यो पटक गैँडा गणना हुन सकेन, लकडाउनका कारणले । बरालले भने, गैँडाको संख्या बढेको हुनुपर्ने हो । बच्चा जन्मेका पनि छन् । कति त बाघले खाएका पनि देखियो कति कालगतिले पनि मर्छन् ।

हुन त चितवनको जस्तो संख्या बर्दियामा छैन । उनले भने, यहाँ संख्या कम छ । भाले एक ठाउँमा हुँदा पोथी अर्काे ठाउँ पुगेको हुन्छ । पोथी वारी हुँदा भाले पारी हुन्छ । त्यसैले पनि बच्चा जन्मिने दर बर्दियामा अलि कम छ ।

पछिल्लो पटक विश्वमै दुर्लभ मानिएको एक सिँगे गैँडा सबैभन्दा बढी गुमाउने निकुञ्ज यही हो । गैँडाको लागि बासस्थानको प्रशस्त सम्भावना भएकोले नै पुनः यो निकुञ्जमा गैँडाको संख्या बढाउने नीति अनुरुप चितवनबाट गैँडाको स्थानान्तरण हुँदै आएको छ ।

(हेरौँ निकुञ्जले लकडाउनका अवधिमा गरेको अनुगमनमा कैद गरिएका सुन्दर गैँडाहरुको ताजा तस्विर)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here