काठमाडौँ । दश वर्षको अवधिमा बाघको संख्या दोब्बर गर्ने मुलुकको रुपमा दर्ज भइसकेको नेपालमा पछिल्ला दिनका अधिकांश मानव वन्यजन्तु द्वन्द्वका घटनामा बाघ देखिने गरेको छ । शुक्लाफाँटा, बर्दिया, चितवन, पर्सा र बाँके राष्ट्रिय निकुञ्ज वरीपरीका बासिन्दा बाघबाट बढी पीडित भइरहेका छन् । यही १० वर्षको अवधिमा बिभिन्न वन्यजन्तुबाट २७७ जनाको मृत्यु भइसकेको छ । बाघ, गैँडा र हात्तीबाट बढीजसो घटना हुने गरेका छन् ।
नेपालका हाल बाघको संख्या ३५५ पुगेको छ । दश वर्षको अवधिमा बाघको आक्रमणमा परी मर्नेको संख्या ५८ जना पुगेको छ । सबैभन्दा बढी हात्तीको आक्रमणबाट मर्नेको संख्या रहेको छ भने गैँडाको आक्रमणबाट मर्नेको संख्या पनि उत्तिकै रहेको छ ।
बाघको संख्या दोब्बर भएपछि स्वभाविक रुपमा घटनामा वृद्धि आएको छ तथापी बाघ विज्ञ डा. कञ्चन थापाका भनाईमा पहिले पनि यस्ता मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेका थिए । केही छिटपुट घटना बाहेक बाघले निकुञ्जको कोर एरियामा मात्र मानिसलाई आक्रमण गरेको छ । विशेष गरी निउरो टिप्ने, घाँस दाउरा खोज्न जाने, माछा मार्न जंगल क्षेत्रभित्र जाने व्यक्ति बाघको आक्रमणमा परेका छन् ।
डा. थापाले भने, हामीले बाघको आनीबानी परिवर्तन गर्न सक्दैनौँ तर हामी त परिवर्तन हुन सक्छौँ नि । अबको अभियान स्थानीय समुदायको बानी परिवर्तनसँग सम्बन्धित हुनुपर्छ । निउरोका लागि किन वनजंगलभित्र छिर्ने ? त्यसको विकल्प वनजंगल बाहिर हामीले सिर्जना गर्न सक्नुपर्छ ।
उनका भनाईमा नेपालले ३५५ बाघ बनाउन जति मिहिनेत र लगानी गर्नुपरेको थियो अब यसको व्यवस्थापन गर्न त्यो भन्दा बढी लगानी र मिहिनेत आवश्यक हुन्छ । बाघको संख्या बढ्नु आफैमा समस्या नभएपनि सानो सानो निकुञ्ज वरीपरीको घनावस्ती र जथाभावी वनजंगल प्रवेशले समस्यामाथि थप समस्या सिर्जना भइरहेको प्रति सबै सरोरकारवाला निकाय सचेत हुनु जरुरी छ ।
यस अघि बासस्थान सुधारका लागि सबै ध्यान केन्द्रित गरेको थियौँ, बाघ विज्ञ थापाले नेपालकथासँग भने, अबको ध्यान बासस्थान सुधारका साथै व्यवस्थापन कसरी गर्ने भन्नेमा जानु पर्छ । उनका भनाईमा भौतिक पूर्वाधार निर्माणले वन्यजन्तुको बासस्थान प्रभावित हुने भएकाले आगामी दिनमा थप चुनौती थपिने निश्चित देखिन्छ ।
ग्लोबल टाइगर फोरमले विश्वभरी पाँच हजार ५७४ बाघ रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । सन् २०१० मा बाघको संख्या संसारभरी तीन हजार दुई सयको हाराहारीमा थियो । दोस्रो ग्लोबल टाइगर फोरमले पनि पहिलो टाइगर फोरमझैँ बाघको संख्या बढाउने प्रश्ताव पारित गर्दै बाघको संख्या बढाउन लाग्ने बाघ पाइने मुलुकसँग आग्रह गरेको छ । फोरमले ग्लोबल टाइगर रिकोभरी प्रोग्राम २.० पारित गरेको छ । सन् २०१० को संख्यामा ७४ प्रतिशतले संख्या वृद्धि भएको मानिएको छ ।
यो अवधिमा नेपाल, भारत, भूटानमा बाघको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ भने रुसमा पनि राम्रै स्थिति देखा परेको छ । नेपाल, भारतले दोब्बर बनाउन सफल भयो भने भूटानले पनि करिब करिब दोब्बर पुगाउने गरी संख्या वृद्धि गरेको छ । तर लाओस, कम्बोडिया र भियतनाममा भने यो अवधिमा बाघ नदेखिएको बताइएको छ ।
सबै मुलुकले भूपरिधिको आधारमा बाघ संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् तर ती तीन वटा मुलुकमा अरु मुलुकको जस्ता प्रगति हुन सकिरहेको देखिदैन । विश्व वन्यजन्तु कोषले बाघ पाइने १३ वटा मुलुकका २२ वटा भूपरिधिमा बाघ संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
नेपालले १० वर्षे टाइगर एक्सन प्लान २०२३ देखि २०३२ सम्मको निर्माण गरिसकेको छ । जसमा बासस्थान सुधारका साथै थप व्यवस्थापनका क्रियाकलापहरु समेटिएका छन् । हाल भइरहेको बासस्थानलाई थप व्यवस्थित बनाउँदै संरक्षित क्षेत्र बाहिरको वनजंगललाई पनि केन्द्रित गरेर संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना सरकारले गरेको छ ।
बाघको स्थानान्तरण
विगतमा बाघ पाइने मुलुक काजिकिस्तान र कम्बोडियामा बाघ स्थानान्तरणको चर्चा चलेको छ । दोस्रो ग्लोबल टाइगर फोरममा कम्बोडियामा बाघ स्थानान्तरण गर्ने विषयमा गहन छलफल भएपछि काजिकिस्तानले पनि इच्छा व्यक्त गरेको बताइएको छ । कम्बोडियामा भारतबाट र काजिकिस्तानमा रुसबाट बाघ लैजाने सम्भावना बढी रहेको छ ।