काठमाडौँ । बागमती सभ्यतासँग जोडिएको काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदीको जलीय जैविक विविधताको अध्ययन सुरु गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागको आयोजनामा सुरु गरिएको अध्ययन चोभारको सिस्नेरी देखि रौतहटको नेपाल भारत सीमासम्मको क्षेत्र समेटिने छ । अध्ययनमा नौ जनाको विज्ञ समुह रहेको छ । १२ दिन लगाएर अध्ययन टोलीले बागमती नदीको स्थलगत अध्ययन गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपनारायण साहको नेतृत्वमा रहेको सो अध्ययन टोलीले उपत्यकामा भएको नदी फोहोरको प्रभाव के कति र कुन हदसम्म जैविक विविधता र स्थानीय बासिन्दामा प्रभाव परेको छ भन्ने कुरालाई विश्लेषण गर्ने बताइएको छ ।
बागमती नदीमा प्लाष्टिकका मसिना कणहरुको घुलनको अवस्था, जलचरको उपस्थिति, पानीको अक्सिजनको अवस्था, नदीमा जलचरको प्रतिकुल हुने फोहोर वस्तुको थेग्रिएको स्थिति लगायतका विषयमा अध्ययन गरिने अध्ययन टोली नेतृत्व गर्नु भएका डा. साहले नेपालकथालाई जानकारी दिए ।

डा. साहले भने, हामीले बागमती नदीमा जलचरको अवस्थालाई मात्र हेर्दैनौँ । आँखाले नदेखिने मसिना प्लाष्टिकका टुक्राहरुको अवस्था के कति मात्रामा रहेका छन् ? तिनको अध्ययन गर्दैँछौँ । ती प्लाष्टिकका कणहरु लेऊमा टाँसिएका हुने हुँदा किरा फट्याङ्ग्रा लगायतका कतिपय जलचरले खाने पनि गर्छन् । त्यसका असर जलचरमा कति र कसरी परिरहेका छ ? जलचरको उपस्थिति कति छ भन्ने कुराको पनि हामीले अध्ययन गर्ने योजना बनाएका छौँ ।
उनका अनुसार यस पटकको अध्ययनमा स्थानीय बासिन्दाले हिजोका दिनमा बागमती नदीबाट लिने सेवा र अहिले प्रदुषित भइसकेपछिको सेवामा परेको प्रभावको विषयमा पनि अन्तक्रिया र छलफल गरिने छ ।

यस अघि सन् २०१५,२०१७,२०२१,२०२३ मा पनि अध्ययन गरिएको थियो । यसअघिका अध्ययनमा स्थानीय बासिन्दाले बागमतीको पानी पिउन छाडेका र कतिपय स्थानमा सिँचाई गर्दा समेत खेतीपाती बिग्रन थालेपछि बागमतीबाट डोरयाइएका सिँचाई कुलाहरु समेत बञ्जिएका अध्ययनले देखाएको थियो ।
अघिल्ला अध्ययनहरुमा पनि सहभागी हुँदै आएका डा. साहले भने, अघिल्ला वर्षमा बागमती नदीको जैविक विविधताको अवस्था निकै गम्भीर देखिएको थियो । पानी पिउने कुरा त परै जाओस्, कतिपय स्थानमा सिँचाई समेत किसानले गर्न छाडेको देखियो ।

डा. साहका अनुसार गुहेश्वरीदेखि ६० किलोमिटर तलसम्मको बागमती नदीमा काठमाडौँ उपत्यकामा भएको नदी प्रदुषणको असर परेको देखिन्छ । जसका कारण यो क्षेत्रमा माछाको कुनै पनि प्रजाति पाइदैन । उनले भने, लामखुट्टे, शुक्ष्म गड्यौला लगायतका क्यारोनोमिड्स टाइपका केही जीव मात्र भेटिन्छन् । जुन फोहोरमा पनि बाँच्न सक्छन् । यो क्षेत्रमा बग्ने कालो पानीमा अक्सिजनको मात्रा निकै न्यून हुने भएकाले जैविक विविधता त निकै ध्वस्त भइसकेको छ ।