कालीगण्डकीमा गोहीको बासस्थानको अध्ययन

काठमाडौँ । सरकारले लोपोन्मुख वन्यजन्तु घडीयाल गोहीको नयाँ बासस्थानको पहिचान र अध्ययन गर्न सुरु गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा अन्य संरक्षण सहयोगी संस्थाको सहयोगमा नेपालका कालीगण्डकी नदी क्षेत्रमा गोहीको बासस्थान बारे अध्ययन सुरु भएको छ ।
विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको संयोजकत्वमा गठन गरिएको अध्ययन टोलीले कालीगण्डकी नदी क्षेत्रमा गोहीको सम्भावित बासस्थानका बारेमा केही दिन अघि स्थलगत अध्ययन गरेको छ । अध्ययन प्रतिवेदन आउन भने अझै केही दिन लाग्ने भएको छ ।
अध्ययन टोलीले कालीगण्डकी जलविद्युतको बाँध स्थल, बाँध स्थल भन्दा माथिल्लो भाग र बाँध स्थलभन्दा तल्लो भेगमा सम्भावित बासस्थान, आहारको अवस्था तथा मानवीय क्रियाकलाप बारे अध्ययन गरेको छ ।

नेपालको चितवन कसराको प्रजनन केन्द्रमा हुर्काइएका घडीयाल गोही कालान्तरमा भारतका सम्पत्ती हुन थालेपछि नेपालका गोहीलाई नेपालमै राख्ने योजना बनाउनु जरुरी देखिएको बेला विभागले गरेको यो प्रयासलाई सकारात्मक मान्नु पर्छ र सम्बन्धित निकायले विभागको यो कार्यमा यथेष्ट सहयोग पुग्ने गरी काम गर्नु जरुरी छ ।

काली गण्डकीको किनारमा बासस्थान त हुन सक्छ तर नजिकैको यो सडकले कति असर पार्ला ?

करिब ५० वर्ष अघिको अवस्थामा काली गण्डकी नदीमा घडीयाल गोहीको अण्डा संकलन गरिएको ऐतिहासिक तथ्यका आधारमा पुनः यो क्षेत्रमा घडीयाल गोहीको संरक्षण गर्न सकिन्छ कि भनेर विभाग अग्रसर भएको हो ।
गोहीका लागि आहारा माछा, स्वच्छ पानी र अण्डा लुकाउने तथा कारेल्नका लागि बालुवा अत्यावश्यक कुरा भएकोले प्रारम्भिक चरणमा यिनै कुराको उपलब्धता भए, नभएको विषय र मानवीय क्रियाकलापका बारेमा अध्ययन गरिएको बताइएको छ ।
अध्ययन टोलीमा एक सहभागीका अनुसार बाँध स्थलभन्दा माथि बालुवाको मात्रा नभएपनि बाँधस्थल भन्दा तल्लो सतहमा मानवीय क्रियाकलापहरु बाहेक अन्य कुराहरु गोहीको संरक्षणका लागि सुहाउँदो देखिएका छन् ।

बासस्थानका लागि उपयुक्त मानिएको रिडी र निसी खोलाको दोभान क्षेत्र ।

हाल चितनव कसरा स्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई राप्ती र नारायणी नदीमा छोडिने गरिएको छ । ती गोही बर्खाका बेला बगेर गण्डकी बाँध भन्दा तल जाने र फेरी माथि फर्किन नसक्ने भएकाले हाल नेपालले गोहीका बच्चा नदीमा छोड्दै जाने र ती सबै भारतमा पुग्ने अवस्था रहेको छ । कालीगण्डकीमा पाल्न सकिने अवस्था भएमा ती सबै गोहीलाई नेपालमै राख्न सकिने तर्क प्राविधिकहरुको रहेको छ । हालको अध्ययनमा विभागलाई विश्व वन्यजन्तु कोष, जेडएसएल र राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोग गरिरहेको छ ।
टोलीमा विभागका उपमहानिर्देशक भट्टराई, इकोलोजिष्ट हरिभद्र आचार्य, कोषका डा.शान्तराज ज्ञवाली, डा. कञ्चन थापा, चितवन कसरास्थित घडीयाल गोही प्रजनन केन्द्रका बेदबहादुर खड्का लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here