दमौली । वि.सं २०७२ को भूकम्पले क्षति पुगेको निजी आवास निर्माणका लागि तनहुँमा करीब रु दुई अर्ब निकासा भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार चैत दोस्रो सातासम्म आवास निर्माणका लागि रु एक अर्ब ९७ करोड ७६ लाख ५० हजार निकासा भएको छ ।
भूकम्पबाट घर क्षति भएका पूर्ण र आंशिक गरी १४ हजार २८७ लाभग्राहीमध्ये पूर्ण क्षति भएका १२ हजार ८५६ र आंशिक क्षति भएका २३९ लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् । कार्यालयका नासु रामहरि खनालका अनुसार छ हजार ८१६ ले दोस्रो किस्ता र तीन हजार ५०० ले तेस्रो किस्तावापतको रकम बुझेका छन् ।
उहाँका अनुसार व्यास नगरपालिकाका लाभग्राहीलाई रु ३४ करोड १९ लाख, भानु नगरपालिकाका लाभग्राहीलाई रु ५९ करोड ४१ लाख ५० हजार, बन्दीपुर गाउँपालिकाका लाभग्राहीलाई रु १७ करोड २ लाख, आबुखैरेनी गाउँपालिकाका लाभग्राहीलाई रु १३ करोड ६८ लाख ५० हजार, देवघाट गाउँपालिकाका लाभग्राहीलाई रु सात करोड ४४ लाख, घिरिङ गाउँपालिकाका लाभग्राहीलाई रु ३ करोड ६० लाख ५० हजार, भिमाद नगरपालिकाका लाभग्राहीलाई रु १२ करोड २९ लाख ५० हजार, म्याग्दे गाउँपालिकाका लाभग्राहीलाई रु १७ करोड ३ लाख, शुक्लागण्डकी नगरपालिकाका लाभग्राहीलाई रु २५ करोड ५४ लाख, रिसिङ गाउँपालिकाका लाभग्राहीलाई रु सात करोड ५४ लाख ५० हजार निकासा गरिएको छ ।
व्यास नगरपालिकामा दुई हजार ६४९, भानु नगरपालिकामा चार हजार २९४, बन्दीपुर गाउँपालिकामा ६४२, आबुखैरेनी गाउँपालिकामा ७३१, देवघाट गाउँपालिका ७५७, घिरिङ गाउँपालिका २५४, भिमाद नगरपालिका एक हजार ३३, म्याग्दे गाउँपालिका एक हजार ३३०, शुक्लागण्डकी नगरपालिका एक हजार ८८३ र रिसिङ गाउँपालिका ७१४ लाभग्राही अनुदान पाउने सूचीमा छन् ।
कार्यालयका नासु खनालले भूकम्पबाट क्षति भएको मध्ये दुई हजार ९४१ घर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा ७३९, भानु नगरपालिकामा ७२०, बन्दीपुर गाउँपालिकामा २४१, आबुखैरेनी गाउँपालिकामा ३३१, देवघाट गाउँपालिकामा ४२, घिरिङ गाउँपालिकामा ५८, भिमाद नगरपालिकामा ११२, म्याग्दे गाउँपालिकामा २६०, शुक्लागण्डकी नगरपालिकामा ३३४ र रिसिङ गाउँपालिकामा १०४ घर निर्माण सम्पन्न भएको छ ।






































