काठमाडौँको विकासमा प्रदेश सरकार अग्रसर

काठमाडौँ । प्रदेश ३ सरकारले काठमाडौँ महानगरभित्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको विकासमा तर्फबाट गरिने सहकार्यसम्बन्धी काठमाडौँ महानगरपालिका र प्रदेश सरकारबीच भएको अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले कामपाको सफाइका लागि प्रदेश सरकारले ब्रुमर तथा आपत्कालीन अवस्थाका लागि दमकल, एम्बुलेन्सलगायत उपलब्ध गराउने आश्वासन दिएको प्रदेशसभा सदस्य दीपक निरौलाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौँका प्रतिनिधिसभा सदस्य कृष्ण राई, महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगरभित्रका प्रदेशसभा सदस्यको समेत उपस्थितिमा यहाँ मङ्गलबार भएको अन्तक्र्रियामा देशकै राजधानी काठमाडौँलाई सफा र सुन्दर बनाउने, वाग्मती– विष्णुमतीलाई स्वच्छ नदीका रुपमा विकास गर्ने, काठमाडौँको साना विकासका परियोजना महानगर आफँैले र ठूला एवं मेगा प्रोजेक्टमा प्रदेश सरकारले सहयोग गर्नेसम्बन्धी छलफल भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा विद्युतीय बस सञ्चालन गर्नेसम्बन्धी भएको सम्झौतानुसार शेयर खरीदमा भएको ढिलाइको सम्बन्धमा जिज्ञासा राखेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

“मुख्यमन्त्री साना तथा टुक्रे योजनाले देश परिवर्तन गर्न नसकिने कुरामा विश्वस्त हुनुहुन्छ, त्यसैले ठूला र मेगा प्रोजेक्टमार्फत काठमाडौँलाई व्यवस्थित र सुन्दर शहर बनाउने उहाँको योजना छ”, निरौलाले भन्नुभयो, “आगामी आर्थिक वर्षमा प्रदेश सरकारले काठमाडौँमा आधुनिक तथा व्यवस्थित शहर निर्माणका लागि योजना निर्माण गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here