काठमाडौँबाट माउण्टेन उडान सेवा प्रभावित हुने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको कार्य सुरु भएकाले राती १० बजेदेखि बिहाना ८ बजेसम्म विमानस्थल बन्द रहने भएको छ । मर्मत सम्भारको कार्य हुने यो समयमा हवाई उडान नहुने भएका छन् । विशेष गरेर रात्रीकालिन अन्तराष्ट्रिय उडान र सबेरै हुने माउण्टेन उडान सेवा प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

रातिदेखि ‘रनवे रिह्याब‘ स्तरोन्नतिको काम शुरु गरिएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दिएको छ । क्यानका अनुसार बिहानै हुने माउण्टेन उडान सेवा प्रभावित हुँदा नेपालका पर्यटन क्षेत्र प्रभावित हुने भएको छ भने रात्रीकालिन अन्तराष्ट्रिय उडान पनि प्रभावित हुने हुँदा पर्यटक आवागमनमा पनि प्रभाव पर्ने छ । विमानस्थलको निर्माणको जिम्मा लिएको चिनियाँ र कोरियन कम्पनीले लिएका छन् ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक कालो पत्रे परिवर्तन गर्न लागिएको क्यानले जनाएको छ । स्तरोन्नतिको काम थालिएकाले यही चैत १८ देखि तीन महिनासम्म दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलले जनाएको छ । यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो । मर्मत अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन हुनेछ ।

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक÷पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार धावनमार्ग जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त विग्रिएको अवस्थामा छ । भूकम्पपछि धावनमार्गमा बढी समस्या आएको हो । धावनमार्गको कालोपत्र उप्कदा जहाज आकाशमानै ‘होल्ड’ गराएर मर्मत गर्नुपरेको छ । पछिल्लो समय अति विशिष्ठ व्यक्तिसमेत आकाशमा होल्डमा बस्नुपरेको छ ।

धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ । धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखको लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।

अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने विमानस्थलको धावनमार्ग मर्मतको काम निकै चुनौतिपूर्ण र कठिनकार्य भएको क्यान अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनको समय आंशिक रुपमा छो्याएर रातको समयमा काम गर्न लागिएको उल्लेख गर्नुभयो ।

विमानस्थलका निमित्त महाप्रबन्धक सुरेशमान सिंहले धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती हुने जानकारी दिनुभयो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहजता आउनका साथै विमान होल्ड हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here