सफल डिजी भएर निस्के मनबहादुर

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालिन प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा वन मन्त्री भएका शंकर भण्डारीले लोकसेवाको निर्देशनलाई समेत छलेर फरक समुहका सहसचिव मनबहादुर खड्कालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक बनाएका थिए । खड्कालाई सो पदमा ल्याउनु एक हप्ताअघि मन्त्री भण्डारीले मन्त्रालयमा अकस्मात पत्रकार सम्मेलनको आयोजना गरे, पत्रकारलाई बोलाउनु पर्ने अरु केही कारण थिएन, ताप्लेजुङमा हत्या गरिएका दैलेखका एक जना फरेष्टरको घरमा राहत पुर्याउन मन्त्री भण्डारी हेलिकोप्टर चढेर गएका थिए । सधैँ नकारात्मक सोचका एक जना कलमजीबिले ‘मन्त्रीको हेलिकोप्टरमा चढ्ने रहर’ शिर्षकमा समाचार लेखेको थिए । त्यही कुरालाई स्पष्ट पार्न उनले पत्रकार सम्मेलन गर्नु परेको थियो ।

मन्त्रीले स्पष्ट पार्न खोजेको कुरा बोल्नु अघि नै उपस्थित सञ्चारकर्मीले निकुञ्ज विभागको इतिहास मेटाउने काम नगर्न र पार्क समुह बाहेकको अरु व्यक्तिलाई महानिर्देशकमा नल्याउन सुझाव पनि दिएको थियो । त्यति बेला गोपालप्रकाश भट्टराईले निमित्त महानिर्देशक भएर काम गरिरहेका थिए, भट्टराई सोही कार्यक्रममा निमित्त महानिर्देशकको हैसियतमा उपस्थित थिए ।

पत्रकार सम्मेलन भएको एक हप्तापछि (२०७३ साल मंसिर ६ गते) महानिर्देशकमा पूर्वाञ्चलको क्षेत्रीय निर्देशकबाट ‘जफ समुह’का मनबहादुर खड्कालाई ल्याइयो । २०४४ साल माघ महिनामा सहायक संरक्षण अधिकृतबाट जफ समुहमा बाहिरिएका खड्का निकुञ्ज विभागभित्र छिर्न २०७३ साल पर्खिनु पर्यो । खड्कालाई डिजी बनाइएपछि सिँहदरबार वरपर निकै हुईयाँ फैलियो । विभागको प्रकृति अनुसार खड्काले काम गर्न सक्दैन होला.. वन विभाग र निकुञ्ज विभागको कामको प्रकृति फरक छ .. मन्त्री भण्डारीले इतिहास मेटेर जफ समुहका व्यक्तिलाई ल्याए । यस्तै यस्तै टिप्पणीले करिब छ महिनाजति समय खायो । त्यो समयसम्म विभागका चिठ्ठीपत्रमा महानिर्देशकको नाममा मनबहादुरको ठाउँमा ‘मानबहादुर खड्का’ लेखेर कतिपय उपसचिव तहका व्यक्ति समेत महानिर्देशकको कोठामा पुगे । म मानबहादुर होइन, मनबहादुर हो, यतिका समयसम्म पनि डिजीको नाम स्पष्ट लेख्न नआउने यहाँहरु … मलाई नटेरेको हो कि ? जिस्काएको हो ? साँच्चै नाम थाहा नभएको हो ? त्यसो भने मेरो कोठाको बाहिर नाम हेरेर जानुहोस् अनि चिठ्ठीपत्र टाइप गर्नुहोस् भन्ने सम्मको निर्देशन दिनुपर्ने अवस्था पनि आयो त्यो समयमा ।

खड्काले विभागको कामका बिस्तारै ‘पिक अफ’ लिँदै गए । भारतीय आर्मीमा जागिर खाएका बुबाको आदेशमा हुर्केका खड्काको स्वभाव पनि कडा खालको भएकाले विभाग र फिल्डस्तरका कर्मचारीमा एक किसिमका अनुशासन शैलीको आपसेआप विकास भयो । खड्काले प्रयोग गर्ने केही शब्दावली थिए, डिजीले त्यसै बोल्दैन, डिजीको निर्देशन हो, आजको काम आजै हुनुपर्छ, विभागको निर्देशन भनेको झारो टार्नलाई होइन, काम गर्नलाई हो, निर्देशन पालना नगर्नेलाई मैले त्यसै छाड्दिन…..। खड्काले हरेक सम्बादमा प्रयोग गर्ने यी शब्दावलीले विभाग भित्र काम गर्नुपर्छ भन्ने मान्यताको विकास गराउन सफलता मिल्यो ।

डिजीको पदमा रहँदाको अन्तिम पटक लिइएको तस्विर

२०४४ साल जेठ महिनामा सहायक संरक्षण अधिकृत भएर निकुञ्ज विभागमा छिरेका खड्काले विभाग अन्तर्गत पुस महिनासम्म मात्र काम गरे । २०४४ सालको माघ देखि बैतडीको जिल्ला वन कार्यालमा एट्याच अफिसर भएर ‘जफ समुह’ तिर छिरेका खड्काले थर्ड क्लास अफिसर भएर पनि सधैँ कायममुकायका रुपमा सेकेण्ड क्लासको कुर्शिमा बस्न सफल भए ।

जागिरे जीवनमा १३ वटा जिल्लाको जिल्ला वन अधिकृत हुँदै सहसचिव भएपछि पूर्वाञ्चलको क्षेत्रीय निर्देशक, रेड कार्यान्वयन केन्द्र प्रमुख र मन्त्रालयमा बस्दा वन उद्यम महाशाखा प्रमुख भएर जिम्मेवारी सम्हाले । खड्काका लागि कैलाली निकै सम्झन लायक ठाउँ बन्यो । हकी स्वभावका खड्कालाई राजनीतिक दाऊमा पेल्न खोज्ने एक झुण्डका बिरुद्ध उनी ढठेर लडे र आखिर त्यो झुण्डलाई नङ्ग्याउन सफल पनि भए । हुन सक्छ पहिलो पटक जागिर खान बैतडी जाँदा पनि उनका लागि उत्तिकै चुनौतीपूर्ण जिल्ला भएको थियो होला तर मधेश आन्दोलन चलिरहेको बेला मधेशमूलका वन अधिकृतले रजाई गरेर छोडको बारा जिल्लालाई ‘ट्रयाक’मा ल्याउन पनि निकै संघर्ष गर्नु पर्यो । दैनिकजसो मन्त्रीको कार्यकक्षमा बारामा डिएफओले काम गर्न दिएन, तत्काल सरुवा गर्नु पर्ने माग राखेका डेलिगेसन आएका देखिन्थे । तर खड्का बारामा जमेर बसे ।

निकुञ्ज विभागमा दुई वर्ष १० महिना बसेका खड्काले के गरे त भन्ने चाँसो सर्वत्र छ । डिजीको कुर्शिमा बसेर उनले कडा शब्द बोले मात्र कि काम पनि गरे । तल्ला कर्मचारीलाई मात्र हप्काए कि मन्त्री र सचिवका अगाडि पनि सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने कुरा खुट्याउन सके ? तल्ला तहका अगाडि बाघ हुने र माथिल्लो तहमा पुगेपछि कतै बिरालो त भएर आफ्नो अवधि लम्ब्याए ? यस्ता जिज्ञासाले संरक्षण क्षेत्रको नजिक रहेका र बाहिरबाट संरक्षण क्षेत्रलाई नियाली रहेका व्यक्तिलाई छोइरहेको छ ।

विभागमा गएपछि सुरुका दिनमा खड्कालाई मन पराउने मान्छेको विभागमा कमी थियो । सधैँ रिसाउन्छ रे, झोक्किन्छ छ रे भन्ने म्यासेज ड्राइभर र क्यान्टिन सञ्चालन गरेका श्यामसम्म पुगेको थियो । खड्काले काम सुरु गर्नु अघि नै एउटा अवधारणा बनिसकेको थियो विभागमा । त्यो अवधारणालाई चिर्नु उनका लागि पहिलो चुनौती थियो । व्यवहारमा सफा, मनका कोमल खड्काको बोलीसँग ठोक्किने र तौलिनेहरु बिस्तारै पुरानो अवधारणालाई परिवर्तन गर्दै गए । एक पटक विभागको कार्यालय सहयोगीले आफ्नो डिजीका बारेमा गरेको टिप्पणीले मन्त्रालयसम्म प्रवेश पाएको थियो । ती कार्यालय सहयोगीको टिप्पणी थियो, अन्दर भि सफा बाहार भी सफा रहेछ, हाम्रो डिजी साफ ।

बिदाईको बेला सबैलाई धन्यबाद दिँदै महानिर्देशक खड्का

खड्काका कार्यकालमा नीतिगत, संरचनागतमा निकै सुधार भए । उनका पालामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको पाँचौ संशोधन भयो । यार्सागुम्बा संकलन तथा व्यवस्थापन तथा ओसारपसार निर्देशिका निर्माण भयो । जसले गर्दा संरक्षित क्षेत्रभित्र यार्सागुम्बाको संकलन विधि र प्रक्रिया किटान भयो । अर्काेतिर राजस्व वृद्धि हुनुको साथै यार्सागुम्बा संकलन र ओसारपसारको प्रक्रियालाई व्यवस्थित गर्ने र दीगो व्यवस्थापन गर्नमा सहजता भयो ।
उनकै कार्यकालमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार ऐन (साइटिस) २०७३ बन्यो । यो अवधिमा खड्का पाँच वटा स्थानमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना गराउन खड्का सफल भएका छन् ।

संरक्षणका लागि बजेट ल्याउन सक्ने डिजीका रुपमा डा. केपी आचार्यलाई सम्झने विभागले पछिल्लो पटक खड्कालाई पनि सम्झने अवस्था आएको छ । अघिल्लो वर्ष भन्दा चालु आर्थिक वर्षमा झण्डै २७ प्रतिशतले विभागमा बजेट ल्याउने काममा पनि खड्कालाई स्वावास दिन सकिन्छ । अघिल्लो वर्ष विभागमा दुई अर्ब २ करोडको बजेट थियो भने चालु आर्थिक वर्षमा दुई अर्ब ५७ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

उनका कार्यकालमा संरक्षण साझेदार संस्थासँगको सम्बन्धले पनि बलियो गाँठो बुन्यो । बाघको संख्या बढाउने र गणनाको कार्य खड्काकै नेतृत्वमा विभागले सफल रुपमा सञ्चालन गर्यो । निकुञ्जभित्रका घाँसे मैदानका लागि उनले अर्थ मन्त्रालयसँग लडेरै बजेट ल्याउन सफल भए । उनले एक कार्यक्रममा तीतो अनुभव सुनाएका थिए, घाँसे मैदान व्यवस्थापनका लागि फायल लिएर जाँदा अर्थ मन्त्रालयको एक उपसचिवले घाँसे मैदान व्यवस्थापनका लागि करोड रुपियाँ माग्ने, हाम्रा गाउँघरतिर त आइमाई मान्छेले काटेर सक्छन् । यो खाने कामका लागि बजेट दिनु हुँदैन भनेका थिए रे । त्यसलाई समेत चिरेर खड्का २२ हजार हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न सफल भएका छन् । जसमा संरक्षण साझेदार संस्थाको महत्वपूर्ण सहयोग लिन सफल भए खड्का ।

संरक्षण क्षेत्र भित्र पोखरी निर्माण, अर्ना तथा बाह्रसिँगा बस्ती बिस्तारको नयाँ सुरुवात र गैँडा स्थानान्तरणलाई निरन्तरता दिने काममा उनले गरे । गिद्ध प्रजनन तथा घडियाल प्रजनन केन्द्रलाई सुविधा सम्पन्न बनाउन उनले निकै प्रयास गरे, जसका लागि संरक्षण साझेदार संस्थालाई पनि मनाए । राहत निर्देशिका निर्माण र वन्यजन्तुबाट मृत्यु भएकालाई राहत दिने यस अघिको पाँच लाख रुपियाँको व्यवस्थालाई १० लाख रुपियाँ पुर्याउन खड्का रातोदिन लागे र सफलता पनि प्राप्त भयो ।

गत वर्ष विभागसँग बजेट नहुँदा गैँडा गणना कार्य रोकिएको थियो । यो वर्ष विभागले यथेष्ट बजेट पाएको छ, अब आगामी चैत महिनाबाट गैँडा गणना हुने कार्यलाई विभागले प्राथमिकतामा राखेको छ । मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीको साथ पाएर अर्थले गैँडा गणनाका लागि बजेट छुट्याएको छ ।

नेपालको संरक्षणको इतिहास जोडिएको चितवन निकुञ्ज भित्रबाट रेल मार्ग, हुलाकी सडक लगायतका भौतिक संरचना निर्माण गर्ने कार्यलाई रोकाउन खड्काले कुस्ति नै खेल्नु पर्यो । कति दिन त पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको दैलोमा समेत उनले हाजिर लगाएर यूनेस्को र चितवनको पाठ पढाए ।

दुई जोडी गैँडालाई नेपालले चीनलाई उपहार दियो, त्यसको व्यवस्थापनका जिम्मा खड्काले सहजताका साथ पुरा गरे । गत वर्ष नारायणीको बाढीले बगाएका एक दर्जन गैँडालाई तत्काल उद्धार गरी नेपाल फिर्ता ल्याउनमा उनले ठूलै आँट गरे । महानिर्देशकको हैसियत भन्दा पनि माथिल्लो ओहोदाले गर्ने सम्पर्क र सम्बन्धलाई यो कामका लागि उनले सदुपयोग गरे ।

जब उनले विभाग सम्हाले, विभागले सधैँ मनाउने वैशाखको वन्यजन्तु सप्ताहमा संरक्षण क्षेत्रमा काम गर्नेलाई सम्झने परम्पराको थालनी गरे । संरक्षणमा लाग्ने व्यक्ति, संस्थालाई उनले पुरस्कृत गर्ने योजना विभागको नियमित कार्यसूचीमा दर्ज गरे । राष्ट्रिय संरक्षण पुरस्कार र वन्यजन्तु संरक्षण पुरस्कार स्थापना गर्दा संरक्षणकर्मीले तालि बजाए । कैलालीका भोजराज श्रेष्ठले पुरस्कार पाएपछि रुँदै भने, मैले के गरे, के गरेन, कति गरे, कति गर्न सकेन हुँला तर सरकारले मलाई सम्झियो, यो मेरा लागि सबैभन्दा उच्चतम सन्तुष्टिको दिन हो ।

घुमिफिरी विभागलाई दोहन गर्ने र संरक्षण साझेदारलाई गाली गरेर मात्र पद ओगट्ने, कार्यक्रमका अघिल्ला दिर्घामा कुर्शि खोज्दै हिड्ने ‘स्वघोषित स्वाँठ’ का अगाडि खड्काले सुरुवात गरेको यो कामले भोजराज जस्ता संरक्षणकर्मी खुसीले रोए, हर्षको आशु बगाए । यो आशु बगाउने अवसर दिने ‘जस’ तिनै खड्काले पोल्टाभरी थामे ।

पोशाक भत्ता खड्काका पालामा मात्र आएको होइन, विभागमा । बारामा डिएफओ हुँदा भुडी हल्लाउन नसक्ने आफ्ना बन्दुकेहरुलाई ३ घण्टा दगुराएर सलामी खाने खड्काले निकुञ्ज विभागमा आएपछि विभागको पोशाकको मानमर्दन भएको महसुस गरे । अनि आफैले सिलाए विभागको बर्दी र भने अब सबैले यो बर्दी लगाउनु पर्छ । निकुञ्ज प्रशासनमा पोशाकको महत्व बुझ्ने र बुझाउने काम हुनलाई पनि खड्का नै महानिर्देशक हुनु पर्यो ।

खड्काले के काम गर्न सक्ला भन्ने मानिसको कमी नभएका बेला उनकै पालामा पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणा भए । जसले जे भनोस्, संरक्षण अभियानमा लाग्ने मानिसका लागि यो भन्दा गतिलो काम केही हुनै सक्दैन ।

मायाको चिनो दिँदै नवनियुक्त महानिर्देशक भट्टराई र उपमहानिर्देशक कँडेल

अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिस्तार हुने भयो, हजारौँ रुख काटिने भए । खड्काले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीसँग छलफल गरे, त्यो वापतको पर्सा राष्ट्रिय निकुञ्जले के पाउने ? डा.ओली खड्काको प्रश्तावमा सहमत भए । त्यसका लागि आफुले पनि पहल गर्ने र खड्कालाई पनि आफ्नो तर्फबाट लाग्न निर्देशन दिए । डा. ओलीले सचिवको हैसियतले उद्योग मन्त्री र उद्योग सचिवको सातो खाए । डिजीले प्रतिनिधित्व गर्नुपर्ने बैठक र विभागबाट लेखिने पत्राचारमा आफ्नो हस्ताक्षर गर्दै खड्काले ‘रुख काटिए वापत निकुञ्जलाई के ?’ शब्दावलीको वहस गर्दै लगे । अन्ततोगत्वा पर्साको लागि आठ करोड रुपियाँ नेपाल आयल निगमले दिनु पर्ने स्थिति बन्यो ।

गैँडाको चोरी शिकार शून्य बनाउने कुरामा खड्काको मोवाइल र टेलिफोन घण्टीले निकै काम गर्यो । नेपाली सेना र आफु मातहतका निकायमा निरन्तर सम्पर्कमा बस्ने खड्का गैँडा चोरी शिकार नियन्त्रणका विषयमा ‘क्लिन चिट’ लिने एक सफल डिजी भए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले शिवपुरी नागार्जुन क्षेत्रका पानी सित्तैमा दोहन गरिरहेको अवस्थामा पनि खड्काको आँखा गयो । उनले त्यहाँका नियमावली निर्माण गरेर शिवपुरीबाट पानी ल्याए वापत प्रति लिटर रोयल्टी लिएर पानीको मूल संरक्षणका लागि छुट्याउने व्यवस्था गरे । हाल केयुकेएलले मात्र बार्षिक रुपमा छ करोड रुपियाँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई तिर्छ । यसले शिवपुरीको संरक्षणमा थप टेवा पुग्ने भएको छ ।

कञ्चनजंगाका तत्कालिन संरक्षण अधिकृत हेमराज आचार्यले खड्काका अगाडि एउटा योजना सुनाए । आचार्यको योजना डायरीमा टिपेर मन्त्रालय पुगेका खड्काले आफ्नो तालुकबाला मन्त्रालय र अर्थ मन्त्रालयलाई सहमत गराएर हिउँ चितुवालाई लक्षित गरी हिमालयन रिसर्च सेन्टर ताप्लेजुङको उपल्लो क्षेत्रमा स्थापनाका लागि काम भइरहेको छ ।

झण्डै २० वर्षसम्म बिभिन्न ठाउँमा कुहिएर, मक्किएर राखिएका वन्यजन्तुको आखेटापहारलाई जलाएर विश्व समुदायलाई नेपालको संरक्षणको नौलो सन्देश दिने काम पनि खड्काकै पालामा भयो ।

यी र यस्तै दर्जनौँ सफल र उदाहरणीय काम गर्न सफल खड्काको विभागसँग अर्काे विेशषता जोडिएको छ । त्यो हो, गुड कमाण्डर । कमाण्डरसँग जोडिएको विषय अनुशासन हो । विभागभित्र र विभाग मातहतका कर्मचारीमा अनुशासन कायम गराउने कुरामा खड्का सफल पात्र हुन । ‘काम गर्नेलाई हदैसम्मको संरक्षण र काम चोरलाई टेलिफोनमै झटारो’ खड्काको दैनिक प्रशासनको सिद्धान्त हो ।

खड्काका अधुरा योजना
सात वटै प्रदेशमा वन्यजन्तु उद्धार केन्द्र स्थापना उनको योजनामा थियो तर पाँच वटा स्थानमा मात्र केन्द्र स्थापना गर्नका लागि उनी सफल भए । काठमाडौँ, कोशीटप्पु, चितवन, पोखरा र बर्दियामा ती केन्द्र स्थापनाका काम भइरहेको छ । संरक्षणको काममा २४ सै घण्टा खटिनुपर्ने भएको निकुञ्जका कर्मचारीले कार्य प्रकृतिका आधारमा इन्सेन्टिभ पाउनुपर्ने माग उनले राख्दै आएका थिए । त्यो काम अर्थमा थन्किएको छ ।

संरक्षण क्षेत्रमा हुने पर्यटकीय गतिविधिलाई नियन्त्रण गर्न कार्यविधि बनाउने कुरामा उनले निकै कसरत गरेका थिए, त्यो क्याबिनेटमा थन्किएको छ । विश्व बैँकको ऋणमा प्राकृतिक स्रोतमा आधारित पर्यटीय आयोजनालाई विभाग अन्तर्गत राख्नका लागि उनको पहल जारी थियो, त्यसका लागि धेरै पटक मन्त्री शक्तिबहादुर बस्नेत र योजना महाशाखा प्रमुख सिन्धुप्रसाद ढुंगानासँग ‘सकारात्मक बिबाद’ मा समेत खड्का उत्रिसकेको थिए । तर त्यसले मूर्त रुप लिन सकेको छैन । मन्त्री बस्नेत त्यो प्रोजेक्टलाई विभागभन्दा अरु निकायबाट सञ्चालन गर्न चाहन्छन् र आफ्नो भने बमोजिमको काम गर्न चाहन्छन् । मन्त्री बस्नेतले प्रोजेक्ट चलाउन सक्ने क्षमता भएको म्यानपावर निकुञ्ज विभागसँग छैन भन्ने तर्क अगाडि सार्दै आएका छन् ।

विभाग भित्र नियमित गरिने सुधार र सकारात्मक दर्जनौँ कुराहरु खड्काले सम्पादन गरेका हुन सक्छन्, जुन बाहिर नोटिसमा नआएका पनि पनि हुन सक्छन् । नयाँ बानेश्वर बस्ने खड्काका लागि बबरमहलको विभाग टाढा त होइन तर बिहान ७ बजेदेखि साँझको १० बजेसम्म पनि खटिँदा धेरै छाक भात विभागको क्यान्टिनको श्यामले बनाएको खाएर उनले यो सफलता लिएका हुन् ।

बिदाईका दिन खड्काले सबैभन्दा बढी धन्यबाद गोपालप्रकाश भट्टराईलाई दिए र आफुलाई विभागमा सफल बनाउन सधैँ निकट रहेर सहयोगी भूमिका खेलेको भन्दै भावुक मुद्रामा भट्टराईसँग हात मिलाए । खड्काले बिदाई लिएपछि गोपालप्रकाश भट्टराईले सोमबार मात्रै महानिर्देशकको पदवहाली गर्ने भएका छन् ।

2 COMMENTS

  1. …प्रेरणादायक अनुभवहरू…
    सवैको मँगल होस्…
    #नागरिकअडिट #नागरिकAudit #KNOWLEDGEdemocracy #मेरो२पैसो

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here