बिजुलीको नाङ्गो तार हटाउन थालियो

तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले नाङ्गो तार हटाउन शुरु गरेको छ । करेन्ट लागेर ज्यान जाने, आगलागी हुने जस्ता जोखिम र विद्युत चुहावट न्युनिकरणको लागि नाङ्गो तार विस्थापित गर्न थालिएको केन्द्रले जनाएको छ । नाङ्गो तार हटाउन थालेपछि स्थानीय वासिन्दा खुसी भएका छन् ।

वितरण लाइन सुदृढीकरण कार्यक्रम अन्तर्गत नाङ्गो तार फेर्ने कार्य भइरहेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिवनाराएण गोशलीले दिनु भयो । केन्द्र प्रमुख गोशलीका अनुसार व्यास नगरपालिकाको वडा नं. १, २, ३, र बन्दिपुर गाउँपालिकाको वडा नं. २ र ४ को कुकुर्दी, तिनधारा लगायतका क्षेत्रमा नाङ्गो तार विस्थापित गर्ने कार्य भइरहेको छ । नाङ्गो तार हटाउँदा जीउ धनको सुरक्षा हुने , सौन्र्दयता देखिने , घाँस , पातले छोएर हुने विद्युत चुहावट कम हुने केन्द्र प्रमुख गोशलीले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि ३ करोड रुपैयाँ खर्च हुने जानकारी प्रमुख गोशलीले दिनु भयो । वाइवा इन्फ्रायाटिस कन्स्ट्रक्सन प्रालिले तार फेर्ने ठेक्का लिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नाङ्गो तार झिकेर तार छोपिने केविसी (कालो) तार राखिएको छ । उक्त तार २० देखि २५ वर्षसम्म टिकाउ हुने केन्द्रले जनाएको छ । विद्युत सेवालाई भरपर्दो बनाउन आवश्यक भएका ठाउँमा ट्रान्सफर्मर थप गर्ने कार्य समेत यसै वर्ष गरिने केन्द्र प्रमुख गोशलीले जानकारी दिनु भयो । गोशेलीका अनुसार म्याग्दे गाउँपालिकाको मनपाङ, थर्पु, मुलाबारी, रिसिङ गाउँपालिकाको झापुटारमा ट्रान्सफरमर थप गर्ने कार्य भईरहेको छ । टेलिभिजन, इन्टरनेट, केबलको तारले गर्दा विद्युत लाइन पड्किने, बढी भोल्टेज देखा पर्ने जस्ता समस्या आउने गरेको विद्युत कार्यालयका प्राविधिकहरु बताउँछन् । जिल्लाका विभिन्न ठाउँका १२ किलोमिटरमा पुरानो नाङ्गो तार हटाएर नयाँ कालो तार फेर्ने काम भइरहेको छ । नेपाल रेडक्रस सोसाईटी बन्दीपुर उपशाखाका निबर्तमान सभापति तथा बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँ नाङ्गो तार विस्थापित गरिनु जरुरी भएको बताउनुहुन्छ । नाङ्गो तारले गर्दा बन्दीपुर क्षेत्रमा दुई वर्ष वर्षको अवधिमा सात जनाले करेन्ट लागेर ज्यान गुमाउनु परेको स्मरण गर्दै बानियाले मानिसको जीवन सबैभन्दा अनमोल भएकोले सबै ठाउँको नाङ्गो तार हटाईनु पर्ने बताउनुहुन्छ । नाङ्गो तारले गर्दा अकालमै धेरैको ज्यान जाने गरेकोे बन्दीपुरको मात्रै नभई सबै ठाउँको नाङ्गो तार हटाउनु पर्छ भनेर माग राखि पटक÷पटक डेलिकेशन जाने , ज्ञापनपत्र बुझाउने गरिएको बानियाले जानकारी दिनु भयो । नाङ्गो तारले गर्दा करेन्ट लागेकै कारण शनिबार दिउँसो व्यास नगरपालिका–१ करङकाठका ३९ वर्षीय देउबहादुर श्रेष्ठको मृत्यु भएको थियो । जिल्लाका ८० करोड रुपैयाँको लागतमा नयाँ विद्युतीकरण शुरु गरिने लागिएको र नयाँ विद्युतिकरणमा नाङ्गो तार नराखिने कन्द्र प्रमुख गोशेलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here