उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने

मुस्ताङ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महीना नियमित यातायातका साधन चल्ने भएको छ ।

उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महीना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो ।

निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको हो । पुलको संरचना निर्माण भएपछि तीन वटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् । पक्की पुल बनेकाले अब बाह्रै महीना निर्वाध सवारीसाधन उपल्लो मुस्ताङ जानसक्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।

अध्यक्ष तुलाचनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणाधीन २५ मिटर लामो पुल निर्माणमा भने ढिलाइ भएको छ । मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिले २०७१ सालमा शुरु गरेको हो । रु चार करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here