कस्तो हुनुपर्छ निकुञ्जको डिजि ?

काठमाडौँ । तत्कालिन अवस्थामा कृषि मन्त्रालयमा झण्डै पाँच दर्जन वरिष्ठ अधिकारी विद्यावारिधि उपाधि भिरेका थिए । बायोडाटा पल्टाउने हो भने माछा, भ्यागुत्ता, तोरी, सिस्नु, उखु, धान, खेसरी, गहुँ, हलेदो, आलु, खुर्सानी, हलुवाबेद, केरा, मसुरो लगायतमा विद्यावारिधि गर्नेको लस्करमा एक जना युवकध्वज जिसि पनि थिए । उनै डा. जिसी वन तथा वातावरण मन्त्रालयको सचिवमा कृषि मन्त्रालयबाट सरुवा भएर आए । सरुवा भएर आएको हप्तादिन भित्रै उनले मन्त्रालयमा स्टेशनरी र पानीको जार सप्लाई गर्ने पान नम्वरका मात्र दर्तावाल ‘मसिना ठेकेदार’ लाई बोलाउन लगाए । ती ठेकेदार आएर मन्त्रालयका सचिवसँग करिब एक, एक घण्टा बिताए । सचिवलाई भेट्न बाहिर बसेका मन्त्रालयका अधिकारीलाई लाग्यो कि अब कि पानी, कलम र कागजको गुणस्तर राम्रो हुने भयो कि ठेकेदार परिवर्तन हुने भए । तर सचिव जिसिको कार्यकाल भरी न पानीको गुणस्तर परिवर्तन भयो त ठेकेदार नै परिवर्तन भए । पानी उहि फोहोर जारमा आउन थाल्यो कलम उही गुणस्तरको भित्रिइ रह्यो । किन सचिवले ठेकेदारलाई बोलाए ? बोलाएर के छलफल भयो ? छलफलको निष्कर्ष के निस्कियो ? त्यो गर्भमै रहेको छ ।

केपी ओलीको सरकार बनि नसकेको र शेरबहादुर देउवाको चुनावी सरकारले राजीनामा दिएको अवस्थामा मन्त्रालय मन्त्री विहिन थियो । यही मौका छोपेर सचिव जिसिले केही वन अधिकृतहरुलाई काजमा जिल्ला दौडाए । कांग्रेस सरकारमा हुँदा ‘राज’ चलाएर बसेका एकथरीका व्यक्तिहरु कम्यूनिष्ट सरकार आएपछि पेलिने डरले मन्त्री नआउँदै काज सरुवा गइराख्ने ध्याउन्नमा थिए भने अर्काथरी कतिपय वैज्ञानिक वन व्यवस्थापनका ‘स्वनामधारी वैज्ञानिक’ कमाइ हुने जिल्लामा ठाउँ ओगटी राख्ने सपनामा थिए । दुबै थरीका अवसरबादीहरुको सचिव जिसिले कल्याण गरिदिए । केपी ओलीको सरकार बन्यो, डोल्पा ससुराली भएका जाजरकोटका शक्तिबहादुर बस्नेत वन तथा वातावरण मन्त्री नियुक्त भए ।

मन्त्री नियुक्त भएको तीन दिनपछि बस्नेतले केही सञ्चारकर्मीलाई मन्त्री क्वाटरमै बोलाएर आफु वन क्षेत्रका लागि नयाँ भएको र सिक्दै काम गर्ने, बिगारी नहाल्ने प्रतिवद्धताबाट आफ्नो भनाईको सुरुवात गरे । उनले राज्यको चौथो अंग पत्रकार महोदयहरुको सल्लाह आवश्यक रहेको कालो कफि गफमा आग्रह गरे । पत्रकार पनि कति छुच्चा ? गफको विषय तिनै सचिव डा. जिसि बने । पहिलो भेटमै पत्रकारहरुले मन्त्रीसँग पानीको जारदेखि लिएर काज सरुवाको फायल खुलाइ दिए ।

हाँस्ने बहाना खासै नचाहिने र प्रसङ्ग पनि नचाहिने मन्त्री बस्नेतले पत्रकारका ‘गम्भीर कुरा’ मा पनि हाँसेर सुने, हाँसो लाग्ने कुरामा ‘गम्भीर भएर’ प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुसँग उठ्नु अघि मन्त्री बस्नेतले भनेका थिए, अहिलेको सचिव खासै ठिक छैन भन्ने कुरा आइरहेको छ । तपाईहरुले पनि गम्भीर रुपमा कुरा उठाउनुभयोे, अब सोच्नुपर्र्नै भयो ।

वर्तमान वन मन्त्री बस्नेतका धेरै अवगुण छन् । गृह मन्त्री बनिसकेका बस्नेतलाई गृहका अधिकारीले पनि खासै रुचीपूर्वक चिन्न चाहादैनन् । वनमा पनि उहाँले ‘गतिलो छाप’ छाड्न सकेका छैनन् । असल काम गर्नेलाई धेरै समय चाहिदैन । तीन महिना शिक्षामन्त्रीको कुर्शीमा बसेका लक्ष्मीप्रसाद देवकोटाले त्रिभुवन विश्वविद्यालय खोले, आज दुनियाँका छोराछोरीको आँखा खुलेका छन् । प्रधानमन्त्री पद्म शम्शेरले १०० दिनमा देशभर १०० वटा विद्यालय खोले, गाउँ गाउँमा शिक्षाको बत्ती बलेको छ ।

बस्नेत वन मन्त्रालयमा पदासिन भएको दर्जनौँ महिना बिते तर उनले गरेको काम रुचीपूर्वक सुन्न लायक, देख्न र हेर्न लायक खासै भएको देखिदैन । तर पनि उनमा एउटा गुण छ, त्यो हो, मानिस चिनेर व्यवहार गर्ने । जिसि सचिव हुँदा वन मन्त्रालयमा बस्नेतले जहिले पनि शंका गरे, तुरुन्तै फायल सदर भन्दा थन्काउने अनि सोधखोज गर्न थाले । जब उनी गए, अहिलेका सचिव डा. विश्वनाथ ओली आए, अहिले खासै दुई पात्रबीच ‘खसखस’ र ‘ठसठस’ भएको सुनिदैन । सुरुका दिनमा बस्नेतले सचिव ओलीलाई पनि पेल्ने खोजेको थिए तर ओलीको ‘स्वार्थरहितको जागिर’ को धारणा बुझे, अनि बस्नेत र ओलीको हिमचिम राम्रो हुन थालेको हो । अहिले ओलीको भाषा बस्नेतले बुझ्छन्, बस्नेतको भाषा ओलीले बुझ्ने गरेका छन् ।

सन्दर्भ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक नियुक्तिको हो । अघिल्ला महानिर्देशक गोपालप्रकाश भट्टराई यही वैशाख १६ गते सेवा निवृत भएका हुन् । एक हप्ता भन्दा बढी समय भइसक्दा पनि महानिर्देशकमा पठाउने निर्णय हुन सकेको छैन । वडाध्यक्ष देखि लिएर राष्ट्राध्यक्षसम्मको ‘पावर एक्ससाइज’ भइरहेका बेला मन्त्री बस्नेतले किन निर्णय गर्न नसकेका होलान् ? के कारणले रोकिएको होला ? महानिर्देशक पठाउने टिप्पणी फायल किन मन्त्रालयको सामान्य प्रशासन महाशाखाले उठाउन नसकेको होला ? नेपालको संरक्षण अभियानमा धेरेथारै चाँसो राख्नेका लागि जिज्ञासाको विषय बनिरहेको छ ।

वन विभागको काम प्रदेशतिर धकेलिएपछि अहिले वन मन्त्रालयभित्रको आकर्षणको विभाग निकुञ्ज बनेको छ । हिजोको दिनमा मन्त्रालयभित्र ‘जफ’को पेलानमा परेको यो विभाग आज साँच्चै विभागको रुपमा देखिएको छ । रुख काटे पैसा आउन्छ, पैसाले सबै चिज हुन्छ भन्ने रविबहादुर विष्ट, इन्द्रसिँह कार्कीका चेलाहरुको अझ पनि कमी छैन । जुन अहिले प्रदेशमा धमाका मच्चाइरहेका छन् । कतिपय सिनियर भएर निर्देशनालयमा बस्नु पर्यो भन्ने बिलौना गर्दैछन्, डिजिभन पाएन भनेर । कतिपय कार्की अनुयायीहरु राम्रो डिजिभन नपाएको सुर्ताले दक्षिणा लिने शक्तिशाली मानिसको खोजीमा भौतारिरहेका छन् ।

निकुञ्ज विभागमा डिजि बन्ने सक्ने हैसियत भएका अधिकांश पात्रहरु भविष्यमा सचिव पदोन्नतीको आशमा प्रदेश हिडेपछि प्रतिष्पर्धा निकै कम व्यक्तिका बीच भइरहेको छ । थोरै हुँदा कम छनौट सुविधाको सीमा छ अहिले मन्त्री बस्नेतसँग । धेरै पात्र नहुँदा राम्रा हुन कि नराम्रा हुन भन्ने धेरै विकल्प विहिन अवस्थामा निकुञ्जको डिजि छान्नुपर्ने छ ।

कस्तो हुनुपर्छ डिजि ?

निकुञ्ज विभागसँग राज्यको इज्जत, सम्मान र प्रतिष्ठा जोडिएको छ । विश्वका दुर्लभ वन्यजन्तु, वनस्पति लगायतको जैविक विविधता मात्र नभई सम्पूर्ण सामरिक महत्वका प्राकृतिक सम्पदा जोगाउने जिम्मा विभागको छ । त्यस्तो विभागको डिजि भनेको सबैले पत्याउन सक्ने खालको हुनुपर्छ । बोल्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर बोल्ने भन्दा पनि राज्यलाई के उचित हुन्छ भन्ने कुराको अन्दाज गरेर बोल्ने व्यक्ति चाहिन्छ ।

बबरमहलमा बोलेर मात्र सगरमाथाका कस्तुरीमृग बचाउन सकिदैन, न त बर्दिया र चितवनका गैँडा बचाउन सकिन्छ । मिठो पाराले विदेशका हाइटेक गफ गरेर शुक्लाफाँटाको बाघ बाँच्न सक्दैन । त्यसैले कोशी टप्पुको अर्ना चर्ने ठाउँमा त्यहाँका भैँसी हटाउन सक्ने हिम्मत र छातीमा रौँ भएको बहादुर डिजि अहिलेको आवश्यकता हो ।

निकुञ्जको कार्यक्षेत्र तराईदेखि हिमालसम्म रहेको छ । फिल्डको अनुभव नभएको व्यक्तिले निकुञ्जको पीडा, बेदना र मर्म बुझ्न सक्दैन । त्यसैले ध्रुबेलाई धपाउने हिड्ने गेमस्काउट र रेञ्जरको पीडा बुझ्न सक्ने व्यक्ति डिजिको कुर्शीमा बस्ने लायक हुन्छ । फिल्डको कुरा नबुझि टेलिफोनमा तर्साउने प्रवृतिका व्यक्ति डिजिको लागि उपयुक्त पात्र मान्न सकिदैन । डिजि त्यो व्यक्ति हुन सक्छ, जसले माउतेको खुट्टा किन फुट्यो भनेर खुट्टामा नजर लगाउन सकोस्, जसले मकालु बरुणमा हिउँमा गस्ती गर्ने रेञ्जरको शरिरमा बाक्लो ज्याकेट किन भएन भन्ने पीडा बुझ्न आँट गर्न सकोस् । तस्करलाई पक्रेर चिसो कोठामा हाल्न सफल चिफ वार्डेनको पक्षमा बोल्न सकोस् । त्यो व्यक्ति डिजि हुन लायक मानिन्छ । दुई जिब्रे प्रवृतिलाई अँगालेर जीवन चलाएका र आफुलाई जे सजिलो हुन्छ, त्यही बोलिदिने प्रवृतिका मानिस डिजि हुन सक्दैनन् ।

नेपालका संरक्षण इतिहासमा संरक्षण साझेदार संस्थाको ठूलो भूमिका छ । डिजिको नियुक्ति जति लम्बिदै गएको छ, संरक्षण साझेदार संस्थाहरु पनि चिन्तित हुन थालेका छन् । झ्यालबाट चियाउँदा थर्काउने व्यक्ति ढोका खोलेर आए भने के गर्लान् ? भन्ने ‘चिसो चिन्ता’ संरक्षण साझेदार संस्थामा पसेको छ । हो, डिजि त्यस्तो व्यक्ति चयन हुनुपर्छ, जुन व्यक्ति आउँदा संरक्षण साझेदार संस्थाले पनि स्वतन्त्रपूर्वक काम गर्न पाउन । लठ्ठी नपाउँदा त पिट्न आउने व्यक्तिले बन्दुक भिरे के होला ? भन्ने जुन त्रास अहिले संरक्षण साझेदार संस्थाहरुमा फैलिइरहेको छ । यसलाई वनमन्त्रीले चिर्न सक्नुपर्छ । त्यस्ता व्यक्तिका भाषा, शैली, व्यवहार र प्रवृतिको शुक्ष्म अध्ययन गर्न सक्नुपर्छ वन मन्त्रीले ।

देश संघीयताको कार्यान्वायनमा गइरहेको छ । प्रदेश र स्थानीय तहले वनलाई खाईसकेका छन् । अब खान बाँकी संरक्षित क्षेत्रभित्रको सम्पदा हो । त्यसका लागि बेला बेला निकुञ्ज भित्रका ढुङ्गा, गिट्टी, बालुवालाई निकालेर अर्बाै रुपियाँ कमाउने सपनाको खेती पनि हुने गरेको छ । अब आउने डिजि त्यस्तो व्यक्ति हुनुपर्छ, दुई हात मिच्दै, मुसक्क मुस्कुराउँदै हजुरले भने पछी भइहाल्छ नि हजुर भन्ने भन्दा यो राज्यको सम्पत्ती पूर्खाले बचाएर आए, यसलाई जोगाउने हाम्रो पनि कर्तब्य हो भन्ने आँट भएको हुनुपर्छ । डिजि हुन पिएचडी चाहिदैन । बिदेशी विश्वविद्यालयको सर्टिफिकेट चाहिदैन । टिकाराम अधिकारी पिएचडीधारी होइनन् । संक्रमणकालिन मुलुकी अवस्थामा निकुञ्जको इतिहासमा सबैभन्दा बढी नीतिगत काम भएको कार्यकाल अधिकारीको कार्यकाल मानिन्छ ।

अर्काे समुहका व्यक्ति मनबहादुर खड्कालाई निकुञ्जमा ल्याउनुहुन्न भनेर लबिङ गर्ने गोपालप्रकाश भट्टराईले ‘घकेलगाडी’ गरेर विभाग चलाएर घर गए । तर ल्याउनुहुन्न भनेका व्यक्ति खड्काले निकुञ्जलाई एक छिन भएपनि नयाँ जीवन दिएर बाहिरिए । डिजि नियुक्त हुनु अघि बरु खड्काले विभागलाई सुधार्ने सपना बाँडेका थिएनन् तर आफु डिजि भएपछि विभागलाई उलटपुलट पार्ने गुलिया सपना बाँडेका भट्टराईले घर जाने बेला मन्त्री बस्नेतलाई सगरमाथामा सात वटा कस्तुरीमृग मारेको कालो उपहार दिएर हिँडे । उनी डिजिको तस्विर झुण्डिएको लहरमा आफ्नो तस्विर राख्न सफल भए । अहिले संरक्षण साझेदार वृतमा वहस चल्न थालेको छ, सायद खड्का डिजि भइरहेको भए, सगरमाथामा त्यस्तो घटना हुदैन थियो कि ?

विभागको इतिहास केलाउँदा कतिपय नेतृत्व विभागमा कागताली परेर आएका छन् । जसले विभागको भूईतलाको ठूलो सभाहलमा तस्विर टाँसेर हिँडेको उदाहरण छ । अब आउने डिजि त्यस्तो व्यक्ति नहोस् जुन व्यक्ति केबल भूइतलामा तस्विर टाँसेर बिदा होस् र संरक्षण साझेदार संस्थालाई थर्काइ थर्काइ विदेश सयर मात्र गरोस् ।

निकुञ्ज महासागर हो । महासागरमा जहाज चलाउने व्यक्ति कुवामा हुर्केको हुनु हुदैन । कुवामै हुर्केर कुवालाई नै संसार ठान्ने र अरुको अस्तित्वलाई सहजै स्वीकार गर्न नसक्ने प्रवृतिका मान्छेलाई मन्त्रालयले नियुक्त गरेपनि व्यवहारमा त्यस्ता व्यक्ति सफल हुन मुश्किलै पर्छ । अनि व्यक्ति असफल मात्र हुने होइन, नेपालको सम्पूर्ण संरक्षणका योजना असफल हुने हुन्छ । विभागको नेतृत्वले तालुकवाला मन्त्रालय, अर्थ मन्त्रालय मात्र होइन, सरोकारावाला ऊर्जा, सिँचाई, भौतिक योजना, उद्योग, स्वास्थ्य, शहरी विकास लगायतका मन्त्रालयलाई समेत प्रभावित पार्न सक्ने हुन्छ । अर्काे कुरा विभागको नेतृत्वले संरक्षणको दिशा पहिल्याउने भएकाले संरक्षण साझेदार संस्थाका गतिविधि कति संकुचन गर्ने र कति फराकिलो पार्ने भन्ने कुरालाई पनि निर्देशित गर्ने भएकाले वन मन्त्रीले डिजि छनौट गर्दा विशेष ध्यान दिन जरुरी छ ।

शक्ति बस्नेत मन्त्री भएपछि दुई जना सचिव परिवर्तन भए । उनले कति व्यक्तिलाई टिका लगाएर सेवा निवृतको उपहार दिए । कतिलाई प्रदेश सरुवा गरेका छन् कतिलाई प्रदेशबाट मन्त्रालयमा तानेका छन् । रातारात काठ तस्करसँग मिलेर ‘मोटो पोको’ कुम्ल्याउने दाउमा रहेका सफेदा ओड्ने बरिष्ठ अधिकारीलाई मन्त्रीले ज्यान मार्ने धम्की दिएपछि उनको ज्यानै बचाउन सामान्य प्रशासन मन्त्रालयमा सरुवाको लबिङ गरेको अनुभव मन्त्री बस्नेतसँग छ । उनले गरेका निर्णय कति ठिक भए, कति बेठिक भए । मन्त्री बस्नेतले निर्णय गर्नु अघि सचिव डा. ओलीलाई साक्षी राख्ने चलनको विकास गरेका छन् । यसकारण ठिक बेठिकको भागेदार सचिव ओली पनि उत्तिकै छन् । जस र अपजसको हिस्सेदारी दुबैले लिने भएकाले नै होला, निकुञ्जको डिजि तोक्ने निर्णय मन्थन मै छ, छलफल मै छ, अर्थात् भ्रुण मै छ ।

मन्त्री बस्नेतसँग हालसम्म देखिएको एउटा राम्रो गुण छ, उनले अवसरबादी र मर्यादित व्यक्तिको पहिचान गर्न सक्छन् । अवसरबादीले दर्जन पटक भन्दा पनि कुरा सुने नसुने झैँ गर्छन् । काम गर्ने व्यक्तिलाई बोलाएर जिम्मेवारी दिने उनको बानी छ । वन मन्त्रालय रहँदा हालसम्म मन्त्री बस्नेतले बिभिन्न कोणबाट नजिक हुन खोज्ने अवसरबादीलाई कहिल्यै लिफ्ट दिएको देखिदैन । सचिवलाई बाइपास गरेर मन्त्री क्वाटर र मन्त्रालयका गोप्य बैठकसम्म कुरा लगाउन जाने प्रवृतिका मान्छेलाई ‘उचित दुरी’ मा बस्न कयौँ पटक भनिसकेका छन् । उनले काम गर्नेलाई कहिल्यै टाढा राखेका पनि देखिदैन । यस अर्थमा उनको यो ‘पैतृक गुण’ले निकुञ्जको डिजी नियुक्तिमा पनि काम गर्ने छ ।

अर्काे कुरा उनका निकट सहयोगी डा. ओली कम बोल्छन्, कुरा धेरै बुझ्छन् । पेशागत मान्छेलाई माया गर्छन्, अवसरबादीको कुरा एक कानले सुन्छन्, अर्काे कानबाट उडाउन्छन् । त्यसैले भन्न सकिन्छ, निकुञ्जलाई नै चाहिएको डिजी आजभोली नै नियुुक्ति हुन्छ, यो हप्ताभित्रै निर्णयमा पुग्छ । कसैलाई निकुञ्जको डिजि पद चाहिएको भएर डिजि बनाउने होइन । नेपालको संरक्षणको जिम्मा बोकेको संस्था कसैलाई जागिर दिनलाई खडा गरिएको पनि होइन । निकुञ्जलाई डिजि चाहिएको हो, त्यसैले ‘अच्छा डिजि’ ‘काबिल डिजि’ बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here