काठमाडौँ । सरकारले २०४८ सालमा स्थानीय समुदायलाई संरक्षणको जिम्मा लगाएको कास्कीको फुर्केटारी सामुदायिक वन पनि हो । यो सामुदायिक वन कास्की जिल्लाको पुरानो सामुदायिक वन मध्यको एक हो ।
२०४६ सालको राजनीतिक परिर्वतन पछि आएको कानूनी व्यवस्था अनुसार नेपालका केही हस्तान्तरित सामुदायिक वनसँगै यो वनलाई पनि समुदायको जिम्मा लगाइएको थियो ।
सानो तर सुन्दर वनजंगलको पहिचान बनाएको छ, फुर्केटारीले । जम्मा २८ हेक्टर क्षेत्रफलको वन क्षेत्रको उपभोग गर्ने उपभोक्ता पनि ६० वटा चिटिक्क परेका घरमा सीमित छन् । यो वन पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जा क्षेत्रमा रहेको छ ।
जातीय हिसाबले यो वन संरक्षण गर्ने काममा बाहुन, दलित र जनजातिको मिलनबिन्दु यो सामुदायिक वन । प्राकृतिक वन कटुस, उत्तिस, चिलाउने लगायतको घना बाक्लो जंगलभित्र प्रशस्त पानीका मूलहरु छन् ।
सामुदायिक वन उपभोक्ता समितिका सचिव रमा त्रिपाठीका अनुसार प्राकृतिक वनसँगै उपभोक्ताहरुले लप्सी, अम्रिसो, तेजपात लगायतका बोटबिरुवा पनि रोपेका छन् ।
उत्तरतिर फर्केका पानीका मूलहरु, पारिलो घामले तताउने भएकाले हो कि क्या हो यहाँका पानी पोखरा भरिको मिठो मानिन्छ, सचिव त्रिपाठीले भनिन् । सामुदायिक वनभित्रका मिठो पानीलाई यहाँका उपभोक्ताहरुले नगदमा रुपान्तरण गर्ने प्रयास गरेका छन् । खेर गइरहेको पानीलाई अधिकतम् सदुपयोग गर्ने उद्धेश्यले यहाँ मिनरल वाटर उत्पादन गर्ने उद्योग सञ्चालन गरिएको छ ।
सचिव त्रिपाठीका अनुसार ‘फुर्केटारी एक्वफेयर’ नाम गरेको मिनरल वाटर उत्पादन सुरु गरिएको छ । पोहोर साल पानी उत्पादनले बजारमा ठाउँ लिनै थाल्दा कोरोनाले सबैलाई थला पार्यो । देशभरी लकडाउन भयो । पानीको खपत हुने पोखराका सयौँ होटलहरु बन्द भए । अपेक्षा अनुसारको व्यापार हुन सकेन । तर पनि पानीको माग बजारमा कहिल्यै घटेन बरु दिनप्रतिदिन बढ्दै गयो ।
सचिव त्रिपाठीले भनिन्, हाम्रो यहाँको पानी पोखराभरीमा मिठो मानिन्छ । प्रयोगशालामा गुणस्तर जाँच्दा पनि निकै राम्रो भनेको थियो । पानीको मूल माथि बस्ती पनि छैन । जुन पानी निकै कञ्चन र फ्रेस छ ।
सामुदायिक वन भित्र सुशासन कायम राख्ने गरेको यो वनलाई यो वर्षको गणेशमान सिँह सामुदायिक वन राष्ट्रिय पुरस्कार समेत वन तथा भूसंरक्षण विभागले प्रदान गरेको छ ।
उत्पादन गरेको छोटो समयमा पोखराभरी बजार फिजाउन सफल भएको यहाँको पानी कोरोनाको समस्या उस्तै रहेको अहिलेको अवस्थामा दैनिक पाँच गाडी पानी खपत भइरहेको छ ।
सचिव त्रिपाठीले भनिन्, समितिसँग धेरै लगानी गर्ने स्थिति छैन । थोरै उपभोक्ता छौँ । प्रत्येक उपभोक्ताले २५ हजार देखि पाँच लाख रुपियाँ सम्म रकम उठाएका छौँ । दुई करोड रुपियाँ भन्दा बढी लगानी भइसक्यो । अझै पानीको बोटल बनाउन मेसिन खरिद गर्न सकेका छैनौँ ।
राम्रो कामको थालनी गरेपनि थप लगानी कसरी जुटाउने भन्नेमा समुदाय अहिले चिन्तित छ । पानीको बोटल बनाउने मेसिन ल्याउनु पर्नेछ, कम क्षमताको जेनेरेटर छ, अलि ठूलो जेनेरेटर नभइ भाको छैन । बजारमा पानीको माग बिस्तारै बढ्दै गइरहेको छ, सचिव त्रिपाठीले भनिन् ।
वनजंगलमा मृग प्रशस्तै छन् । पछिल्लो समयमा हेम्जामा बाहिरिया मानिसको बसाई सराई बढेसँग चोरी शिकारीका घटना बढ्न थालेका छन् । त्रिपाठीका अनुसार पोखराको मूख्य क्षेत्रभन्दा सस्तो जग्गा मिल्ने भएकाले हेम्जा क्षेत्रमा बसाई सर्नेको चाप वृद्धि भइरहेको छ । पछि बसाई सरेको व्यक्तिसँग वन जंगलको खासै माया छैन ।
यो पटकको लकडाउनका बेला समेत यसरी बसाई सरेर आउने मानिसहरुले जंगलभित्र पसेर राती शिकार गरेको घटना स्थानीयले समातेका छन् । सचिव त्रिपाठीले भनिन्, हामीले हुर्काएको हुनाले होला, यहाँका हरेक रुख, पातको पनि माया छ । अहिले पछि आउनेहरुलाई त्यो माया छैन र राती शिकार गरेको समेत भेटियो । धेरै वर्षपछि हामीले राती राती गस्ती गर्न फेरी सुरु गरेका छौँ ।
तारबार गर्न सके यसरी रातभरी गस्तीमा हिड्नु पर्दैनथ्यो कि भन्ने छलफल भइरहेको छ । यसका लागि सहयोग कतैबाट भएर राम्रो हुन्थ्यो, सचिव त्रिपाठीले भनिन् ।
यो सामुदायिक वनलाई विगतमा फेकोफन, हरियो वन जस्ता संस्थाले सहयोग गरेका थिए । आगामी दिनमा पनि सहयोगको अपेक्षा यो सामुदायिक वनले राखेको छ ।
एक वन एक उद्यमको सरकारी नारालाई साकार पार्न कस्सिएको यो वनले आफ्ना उपभोक्ताको आर्थिक अवस्था हेरेर बिभिन्न खालका सहयोगी कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ । तरकारी खेती, कुखुरापालन, किराना पसल लगायतका जीविकोपार्जनसँग उपभोक्तालाई जोड्ने काममा सामुदायिक वन सहयोगी सिद्ध हुँदै गएको छ ।