सालक पार्कको सपना साकार पार्दै चुच्चेखोला

काठमाडौँ । हेटौडा बजारदेखि नजिकै रहेको चुच्चेखोला क्षेत्र प्राकृतिक जंगल राम्रो भएको ठाउँ हो । यो ठाउँमा पञ्चायत कालमा केही वन फडानी भयो, पछि टिम्वर कर्पोरेसनले पनि वन कटान गर्यो । सालको जंगल राम्रो भएकाले सबैका आँखा परिराख्ने मध्यको यो पनि एक जंगल हो ।

यहाँको वन संरक्षणको अभियान २०४० सालतिरबाट भएको हो । त्यतिबेला संरक्षित वन मात्र थियो र पछि २०४६ सालको राजनीतिक परिवर्तन पछि सरकारले २०७४ साल चैत १२ गते चुच्चेखोला वन क्षेत्रलाई सामुदायिक वनको रुपमा समुदायलाई हस्तान्तरण गरेको हो ।

२०४० सालतिर वन संरक्षण, सम्वद्र्धन तथा ग्रामीण वन उपभोक्ता समितिका नाउँबाट संरक्षण हुँदै आएको यहाँको वनजंगललाई पछि सरकारले चुच्चेखोला सामुदायिक वन उपभोक्ता समिति गठन गरी संरक्षणका कार्य हुँदै आएको छ ।

यो क्षेत्रमा वनजंगलका हिसावले सालको जंगल निकै बढी रहेको छ । २३८ हेक्टर वन क्षेत्र ओगटेको यो सामुदायिक वनमा संकटापन्न अवस्थामा रहेको सालक पाइन्छ । अन्य वन्यजन्तुहरुका लागि पनि यो वनजंगल उपयुक्त बासस्थान मानिन्छ ।

वनजंगलभित्र बाँस, बेत, फलफूलका बिरुवा तथा जडिबुटी खेती पनि प्रशस्त गरिएको छ । जडिबुटी उत्पादन गर्न सकिने खालको माटो र पानीको पर्याप्तता भएकाले सामुदायिक वनले बिभिन्न प्रजातिको जडिबुटी खेती बिस्तार गर्ने योजनालाई अघि बढाइरहेको छ ।
खोल्सा खोल्सीमा माटोको रोकथामका लागि बाँस रोपणलाई विशेष अभियानमा रुपमा सञ्चालन गरिएको जानकारी समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालले दिए ।

अध्यक्ष दाहालले भने, सामुदायिक वनभित्रका केही सुख्खा क्षेत्रमा बेलको बिरुवा रोपण गरेका छौँ । जसले गर्दा भविष्यमा बेलको जुसबाट आम्दानी पनि लिन सकिने र पहिरो रोकथाम पनि हुने स्थिति पैदा भएको छ ।


सालक संरक्षण विशेष अभियान

यो सामुदायिक वनमा सालकको संख्या निकै धेरै रहेको अनुमान गरिएको छ । जेडएसएल नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा यहाँ सालक संरक्षण कार्यक्रम लागु भइरहेको छ । सालकको अनुगमन गर्नका लागि १० वटा क्यामरा राख्दा ८ वटा क्यामरामा सालक कैद भएको समितिका अध्यक्ष दाहालले जानकारी दिए ।

सालकको संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धनका लागि सालक पार्क निर्माण गर्ने महत्वकांक्षी योजनालाई पनि यस सामुदायिक वनले अघि बढाइरहेको छ ।

पार्क निर्माणका लागि विस्तृत गुरुयोजना निर्माण भइसकेको छ । समितिले काठ, दाउराबाट हुने आम्दानीको केही अंश यो पार्कमा लगाउने योजना बनाएको छ ।

बेला बेला समितिले उपभोक्ताहरुसँग वन संरक्षण, पर्यापर्यटन विकास तथा जडिबुटी खेती बिस्तारका लागि अन्तक्रिया, छलफल गरी सामुहिक निर्णय लिने परिपाटीको विकास गरेको छ ।

अध्यक्ष दाहालले भने, हामी आफैले त यति सालक पार्क निर्माणको महत्वाकांक्षी योजना सम्पन्न गर्न सक्दैनौँ होला तर पनि प्रदेश सरकार, संरक्षण सहयोगी संस्थाहरुको सहयोग भयो भने चाँडै सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरिसकेका छौँ ।

नेपालमा पछिल्ला दिनमा सबैभन्दा बढी चोरी शिकार र वन्यजन्तुको अवैध ओसारपसारमा सालकको छाला पक्राउ पर्ने गरेको छ । सामुदायिक वनले यही कुरालाई ध्यान दिँदै सालकको बासस्थानको संरक्षण, सालक बारे उपभोक्ता तथा विद्यालयस्तरमा सचेतना अभियान सञ्चालन गर्दै आएको छ ।

मनसुन सुरु हुँदै गर्दाका बखत सालकको बासस्थानमा पानी छिर्ने भएकाले सालक जताततै देखिने र त्यति बेला बढी जोखिममा पर्ने भएकाले यो समयमा सामुदायिक वनका उपभोक्ताहरुले विशेष निगरानी राख्ने गरेको कुरा अध्यक्ष दाहालले बताए ।

हरेक बर्खाका समयमा घाइते, जोखिममा रहेका सालकको उद्धार गर्ने कार्य यहाँको समितिले गरिरहेको छ । सालक पार्क निर्माणपछि यसको संरक्षणमा थप टेवा पुग्ने विश्वास अध्यक्ष दाहालको छ ।

सालक पार्कलाई बहुउद्धेश्यीय बनाउने योजना अनुरुप हाल काम भइरहेका छन् । पार्कभित्र व्यवस्थित पिकनिक स्थल, खेल मैदान, पौडी पोखरी, वनस्पति उद्यान, भ्यू टावर, बुद्ध शान्ति स्थल, मन्दिर, सभा हल जस्ता संरचना निर्माण गरिने भएको छ ।

यहाँको समितिले वनजंगलबाट उत्पादन भएका काठ, दाउरालाई पहिलो प्राथमिकतामा उपभोक्तालाई राखेर सेवा दिने गर्ने गरेको छ । अध्यक्ष दाहालले भने, उपभोक्तालाई आपूर्ति गरिसकेपछि बढी भएको बिक्री गर्ने गरिएको छ र सो आम्दानीलाई संरक्षण, विपन्न वर्गको जीविकोपार्जनमा लगाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here