डब्लुडब्लुएफ र इसिमोडबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ( इसिमोड) बीच नेपालको भूपरिधि तहमा जैविक बिबिधताको संरक्षण, जलवायु परिवर्तन अनुकुलन, प्राकृतिक विपद् व्यवस्थापन, वायु प्रदुषणको नियन्त्रण लगायतका विषयमा अध्ययन अनुसन्धान गर्दै समुदायस्तरसम्म काम गर्नका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
डब्लुडब्लुएफका तर्फबाट राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ र इसिमोडका महाप्रबन्धक डा. पेमा ग्याम्सोले यस्तो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

विश्वव्यापी रुपमा अध्ययन अनुसन्धान र स्थानीय समुदायसँगको लामो अनुभव रहेको संस्था डब्लुडब्लुएफ र विशेष गरी नेपाल लगायत हिन्दकुश हिमालय क्षेत्रमा अध्ययन अनुसन्धानमा काम गरेको अन्तराष्ट्रिय संस्था इसिमोडबीच भएको यो सहमतिले नेपालले क्षेत्रीय र विश्वव्यापी सञ्जालमा जोडिएर थप काम गर्न सक्ने विश्वास गरिएको छ ।

आगामी दिनमा नेपालको उच्च हिमाली क्षेत्रको जैविक विविधताका संरक्षण हुनुको साथै पर्यापर्यटनको विकास, स्थानीय समुदायको जीविकोपार्जन, पर्यटकीय क्षेत्रको विश्वव्यापी तथा क्षेत्रीय स्तरमा प्रचार प्रसार लगायतका काम गरिने कोषका राष्ट्रिय प्रतिनिधि डा. गुरुङले जानकारी दिए ।

डा. गुरुङले भने, हामीसँग विश्वव्यापी अनुभव छ भने इसिमोडसँग नेपाल लगायतका उच्च हिमालय रहेको राष्ट्रहरुमा काम गरेको लामो अनुभव छ । विश्वव्यापी अनुभव र क्षेत्रीय अनुभवलाई समेटेर नेपालमा केही असल काम गर्न सकिन्छ भनेर दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

पछिल्ला दिनमा नेपालमा बाढी, पहिरो, हिमताल फुट्ने जस्ता जोखिम बढीरहेका बेला यी दुई संस्थाले स्थानीय समुदाय, स्थानीय सरकार र संघीय सरकारसँग मिलेर काम गर्ने योजना बनाएका छन् ।

पर्यटकीय विकासका गतिविधि, शहरीकरणमा जोड दिँदै गरिवी निवारण गर्ने कामका लागि क्षेत्रीय सहयोग तथा समन्वयका कामलाई प्रवद्र्धन गर्ने योजनाका लागि पनि सहमति पत्रमा हस्ताक्षर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here